२०८३ बैशाख १३

बौद्धमा भगवान् बुद्धको अस्तुधातु दर्शन गर्नेको भीड

काठमाडौं, वैशाख २९। पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको अमूल्य अस्तुधातु दर्शन गर्न भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराएको छ । श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराउने व्यवस्था मिलाएको हो ।

यस अवसरमा आजै अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्तिसहित शोभायात्रा पनि गराइने तयारी भएको छ । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले राससलाई जानकारी दिनुभयो । भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको असीमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुर्याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ ।