२०८३ बैशाख १३

निर्यात वृद्धि सरकारको ऐजण्डा, उद्योग निरीक्षणमा मन्त्रि भण्डारी (तस्विर सहित)

मोरङ, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विराटनगरस्थित दुई प्रमुख निर्यातमुखी उद्योगको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री भण्डारीले जयश्री पि.यू.-टेक र हाइटेक्स कार्पेट उद्योगको भ्रमण गर्दै उत्पादन, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा यी उद्योगहरूको उल्लेखनीय योगदानको प्रशंसा गरे ।

म्याजिक ब्राण्डमा चप्पल र जुत्ता उत्पादन गरिरहेको जयश्री पि.यू.-टेक उद्योगले कुल उत्पादनको ८० प्रतिशत भारतसहित अन्य मुलुकमा निर्यात गर्दै आएको छ। त्यस्तै, हाइटेक्स कार्पेट उद्योगले आफ्नो उत्पादनमध्ये ७० प्रतिशतभन्दा बढी कार्पेट विश्वका विभिन्न देशहरूमा निर्यात गर्दै आएको छ। यो उद्योग कोशी प्रदेशकै अग्रणी निर्यातकर्ता मानिन्छ ।

दुबै उद्योगको निरीक्षणपछि मन्त्री भण्डारीले भने, “यी उद्योगहरू न केवल आर्थिक समृद्धिको इन्जिन हुन् । यी उद्योगहरुले रोजगार, प्रविधि, र नविनतम उत्पादनमार्फत देशलाई समृद्धितर्फ डोर्याइरहेका छन्।”

मन्त्री भण्डारीले हालको निर्यात तथा व्यापारिक वातावरणमा केही निराशा देखिएको स्वीकार गर्दै नीति, कानुन र प्रक्रियामा आवश्यक सुधार गर्दै निजी क्षेत्रसँग सहकार्यमा आशाको आधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन ।

निरीक्षण पश्चात बोल्दै मन्त्रि भण्डारीले सरकार र निजी क्षेत्रबीचको सहकार्यमा थप प्रगाढता बढ्ने आशा पलाएको बताए । मन्त्री भण्डारीले दोहोरो प्रतिबद्धता ब्यक्त गर्दै भने- “निर्यातमुखी उद्योगलाई प्रवर्द्धन नगरी आर्थिक समृद्धि सम्भव छैन ।”