नवलपरासी, २९ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको कार्यालयले जनाएको छ ।
डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।
यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ ।




