एजेन्सी, १२ असार । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को काउन्ट डाउन शुरु भएको छ ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा टी-२० विश्वकप दोश्रो पटक आयोजना हुन लागेको हो । टी-२० विश्वकप सन् २०२६ को फ्रेबुअरी र मार्च महिनामा सञ्चालन हुने तय भएको छ।
भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा कुल २० राष्ट्रका टोलीहरुको सहभागिता रहनेछ । यी २० राष्ट्रका टोलीलाई चार समुहमा समुहमा विभाजन गरेर खेल खेलाइने छ । प्रत्येक समुहमा ५ टोली रहने भएपनि शीर्ष दुई स्थान हासिल गर्ने टोली सुपर-८ मा प्रवेश गर्नेछन् ।
सुपर-८ मा ४-४ टोलीलाई दुई समुहमा विभाजन गरेर खेलाइने छ । आफ्नो समुहमा शीर्ष दुई स्थान हासिल गर्ने ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। आगामी विश्वकपका लागि अहिलेसम्म १३ टोली छनौट भइसकेका छन् भने ७ टोलीको छनौट हुन बाँकि छ ।
टी-२० विश्वकपमा भारत र श्रीलंका आयोजक राष्ट्रका नाताले सोझै छनौट भएका छन् । त्यस्तै सन् २०२४ को टी २० विश्वकपको सुपर-८ मा पुग्ने ८ टोली सोझै छनौट भएका थिए भने अन्य दुई टोली वरियता क्रमका आधारमा छनौट भएका थिए । १३ औं राष्ट्रको रुपमा गतसाता छनौट चरण पार गरेर क्यानडा छनौट भएको थियो ।




