२०८३ बैशाख १३

पर्खाल भत्किए, छाना भासिए: बाढीले बालबालिका सँगै भविष्य बगायो

एजेन्सी, १४ असार। पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन्।

पञ्जाबको पूर्वी प्रान्तमा बुधबारदेखि अहिलेसम्म कम्तिमा १३ जनाको मृत्यु भएको पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ।

भारी वर्षाका कारण कम्पाउण्डका पर्खाल, घर तथा छाना भत्किँदा कम्तीमा आठ जना बालबालिकाको मृत्यु भएको छ।

खैबर पख्तुनख्वाका अधिकारीहरूले पछिल्लो २४ घण्टामा आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको बताएका छन्।

मृत्यु हुनेमा चार बालबालिका र तीन महिला रहेका छन् भने अन्य ६ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले शुक्रबार अबेर जनाएको छ।

उक्त निकायका अनुसार मृत्यु हुनेमा १० जना उत्तरपश्चिमी स्वात उपत्यकाका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा अचानक आएको बाढीले नदी किनारमा रहेका घर र त्यहाँ बसोबास गर्ने परिवारलाई बगाएको थियो।

खैबर पख्तुनख्वामा आएको बाढीले ५६ घरमा क्षति पुर्‍याएको छ जसमध्ये ६ वटा घर पूर्णरूपमा भत्किएका छन्।

राष्ट्रिय मौसम विज्ञान सेवाले मङ्गलबारसम्म भारी वर्षा र आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ।

गत महिना पाकिस्तानमा आएको भीषण आँधीबेहरी, असिनासहित विभिन्न चरम मौसमी घटनाहरूमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको थियो।