काठमाडौँ, २० असार। अपेक्षित रूपमा कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा ८ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकहरूको कर्जा–निक्षेप अनुपात (CD Ratio) ७८.०५ प्रतिशतमा सीमित छ, जुन ९० प्रतिशतसम्म पुर्याउन सकिन्छ । यसका आधारमा बैंकहरूले अझै ११.९५ प्रतिशत अर्थात् ८ खर्बभन्दा बढी रकम ऋण दिन सक्ने अवस्था छ ।
बैंकहरूमा ७० खर्ब ४३ अर्ब निक्षेप संकलन भएको छ भने त्यसमध्ये ठूलो हिस्सा कर्जाका रूपमा प्रवाह हुन सकेको छैन । आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरू कर्जा विस्तारभन्दा असुलीमा बढी केन्द्रित हुने प्रवृत्तिका कारण पनि यो अवस्था देखिएको हो । त्यसमाथि सरकारको खर्च उच्च हुँदा निक्षेपमा अझै वृद्धि हुने देखिन्छ ।
वाणिज्य बैंकहरूको औसत सीडी अनुपात ७८.४४ प्रतिशत रहेको छ, तर १२ बैंकको अनुपात ८० प्रतिशतभन्दा माथि छ । सिटिजन्स बैंकको अनुपात ८५.६० प्रतिशत, माछापुच्छ्रे ८४.४५, प्राइम कमर्सियल ८४.३९ र नबिल बैंकको ८३.५९ प्रतिशत रहेको छ । अर्कोतर्फ, राष्ट्रिय वाणिज्य, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र नेपाल बैंकको अनुपात औसतभन्दा तल छ ।
कर्जाको मागमा कमजोरी आएपछि बैंकहरूले राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा (SDF) बढाएर लिएका छन् । हालसम्म कुल १९७ खर्ब ९४ अर्ब रुपैयाँबराबरको एसडिएफ सुविधा लिइएको छ । आइतबारमात्रै बैंकहरूले १ खर्ब ८० अर्ब रुपैयाँ SDF मा राखेका थिए ।
अर्थविद् नरबहादुर थापाका अनुसार, यो अवस्था अर्थतन्त्रमा गतिरोध यथावत् रहेको संकेत हो । “तरलता सुविधा पनि हो, तर लगातार बढ्दा समस्याको संकेत पनि हो,” उनले भने, “सरकार र नियामक गम्भीर हुनु आवश्यक छ ।”




