काठमाडौं, २९ असार। नेपाल लाइफ इन्स्योरेन्सले बाल स्वास्थ्यमा सक्रिय काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस सहयोगसम्बन्धी समझदारी पत्रमा डा. भगवान कोइराला (किओच) र प्रवीण रमण पराजुली (नेपाल लाइफ) ले हस्ताक्षर गरे।
बुढानीलकण्ठमा निर्माणाधीन बहुविशिष्टिकृत ‘हब’ बाल अस्पताल अन्तिम चरणमा पुगेको छ भने क्लिनिकल रिसर्च भवनबाट सेवा सुरु भइसकेको छ।
कम्पनी संचालक कमलेशकुमार अग्रवालले परियोजना बाल स्वास्थ्य सुधारमा अतुलनीय योगदान दिने विश्वास व्यक्त गरे। डा. कोइरालाले सहयोगप्रति कृतज्ञता प्रकट गर्दै परियोजना अझ तीव्र गतिमा अघि बढ्ने बताए।




