एजेन्सी, ३१ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार सहयोग दिने घोषणा गरेका छन् भने रूसविरुद्ध ५० दिनभित्र युद्धविराम नभए “गम्भीर कर” लगाउने धम्की दिएका छन्।
ओभल अफिसमा सोमबार नाटो महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले संयुक्त राज्य अमेरिका र नाटोबीच युक्रेनलाई हतियार सहयोगसम्बन्धी नयाँ सम्झौता भएको जानकारी दिए। ट्रम्पले भने, “हामी युक्रेनीहरूलाई हतियार पठाउनेछौं र उनीहरूले त्यसको लागि भुक्तानी गर्नेछन्, संयुक्त राज्य अमेरिकाले ती हतियारहरू उत्पादन गर्नेछ।”
ट्रम्पले प्याट्रियट वायु रक्षा प्रणाली सहितका केही सैन्य उपकरणहरू चाँडै युक्रेनमा पुग्ने जानकारी पनि दिए। साथै, केही युरोपेली देशहरू पनि आफ्ना प्याट्रियट प्रणालीहरू युक्रेनमा स्थानान्तरण गर्न राजी भएको उनको भनाइ थियो।
युद्ध अन्त्यका लागि ५० दिनको समयसीमा तोक्दै ट्रम्पले चेतावनी दिए, “यदि हामीसँग ५० दिन भित्र सम्झौता भएन भने हामी दोस्रो कर लगाउनेछौं । यो धेरै सरल छ, र उनीहरू (रूस) १०० प्रतिशतमा हुनेछन्।”
ट्रम्पको यो वक्तव्यले अमेरिकी विदेश नीति, नाटोको भूमिका, युक्रेनको रक्षा तथा रूससँगको सम्बन्धमा नयाँ उकालो ल्याउने संकेत गरेको छ। आगामी दिनमा अमेरिका–रूस सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने संकेत यसबाट देखिएको छ।




