२०८३ बैशाख १३

बाढीले बगाएको मितेरी पुलको ठाउँमा चीनले आइतबारदेखि बेलिब्रिज बनाउँदै

काठमाडौँ, १० साउन। रसुवागढी नाकामा बाढीले बगाएको मितेरी पुलको ठाउमा चीनले आइतबारदेखि औपचारिक रूपमा बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ ।

नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् । चीनले आगामी भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने छ ।

सीमा नाकामा अवरुद्ध सडक सम्पर्क शीघ्र सुचारु गर्न अस्थायी रूपमा बेलिब्रिज निर्माणका लागि शनिबार रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निर्माणस्थलको अवलोकन गरेको छ ।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षति भएको थियो। जसले गर्दा सीमा नाकाबाट हुने नेपाल-चीन सडक सम्पर्क टुटेको छ ।

शनिबार नै रसुवा र चीनका स्थानीय अधिकारी बीचमा निर्माणस्थलबाटै भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकका क्रममा विपदको समयमा भएका उपद्वार, राहत एवम् विपदपश्चातको पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रस्तावित बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्नका लागि स्थानीय प्रशासनबाट उपयुक्त वातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त भएको छ ।