२०८३ बैशाख १३

दलको नेता हटेपछि कुर्सीमा बस्नु नैतिकता हैन, राजीनामा नदिए प्रक्रियाले हटाउँछ

काठमाडौँ, १४ साउन। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिन आग्रह गरेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा विजयी भएपछि बानियाँले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्री तामाङलाई भनेका हुन् । मुख्यमन्त्री तामाङले राजीनामा दिएर मार्ग प्रशस्त नगरे विधि र प्रक्रियाअनुसार उनलाई विदाइ गरिने नेता बानियाँको भनाइ छ । नेता बानियाँले तामाङ कांग्रेस संसदीय दलको नेता भएकै कारण मुख्यमन्त्री बनेको र आज सो पदमा नरहँदा उनले राजीनामा दिनुपर्ने बताए ।

‘बहादुरसिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले दुई पार्टीको बीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री भएको हो । अहिले उहाँको दलको नेताको हैसियत गुमेको अवस्था छ । त्यही दलको विधानबमोजिम उहाँ भएको हो । त्यसकारण नैतिकता, राजनीतिमा इमानदारिता, लोकतान्त्रिक परम्परा, परिपाटी, जनताको कुरा र साथीहरुको कुरालाई उहाँले मान्नुभएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो । त्यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन । उहाँले मार्ग प्रशस्त गर्दिए तुरुन्तै हुन्छ । नत्रभने लोकतन्त्रको अभ्यास छ । उहाँले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले हामी उहाँलाई सहज रुपमा विदाइ गर्छौं,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज निर्वाचन भएको थियो । कूल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसदहरु छन् । कांग्रेसका ३७ सांसदमध्ये बानियाँको पक्षमा २२ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री तामाङले भने १४ मत पाए । एक मत बदर भएको थियो ।