२०८३ बैशाख १३

संयुक्त राष्ट्रसंघको उच्च पदमा नेपाल निर्वाचित, विश्वमञ्चमा कूटनीतिक सफलता

काठमाडौँ, १६ साउन। नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको प्रतिष्ठित संस्था ECOSOC (आर्थिक तथा सामाजिक परिषद्) को अध्यक्षमा निर्वाचित भएको छ। बिहीबार सम्पन्न निर्वाचनमार्फत नेपालले आगामी कार्यकालका लागि अध्यक्षता ग्रहण गरेको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

राजदूत थापाले यो उपलब्धिलाई नेपालको बहुपक्षीय कूटनीतिप्रति अटल प्रतिबद्धताको संकेत भनेका छन्। उनले दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न सशक्त अन्तर्राष्ट्रिय सहकार्य, सामाजिक न्याय, र समान अवसरको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको नेतृत्वमा परिषद्ले समावेशी विकास, सामाजिक न्याय र बहुपक्षीयताको पुनर्जागरणमा काम गर्ने अपेक्षा गरिएको छ। साथै, उपाध्यक्षमा अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया निर्वाचित भएका छन्।

ECOSOC विश्वको प्रमुख नीतिनिर्माण संस्था हो, जसले आर्थिक, सामाजिक र वातावरणीय विषयमा महत्वपूर्ण निर्णयहरू गर्छ।