२०८३ बैशाख १३

पेट्रोलको मूल्य घट्दा डिजल र मट्टितेलको बढ्यो, हवाई इन्धनमा पनि मूल्यवृद्धि

काठमाडौँ, १६ साउन। नेपाल आयल निगमले सोमबार साँझ एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १ ले घटाइएको छ भने डिजल र मट्टितेलमा प्रतिलिटर रु २ ले वृद्धि गरिएको छ।

समायोजनपश्चात पेट्रोलको मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको छ भने डिजल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर रु १५० तोकिएको छ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु ३ ले बढाएर प्रतिलिटर रु १२८ कायम गरिएको छ। अन्तरराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गर्दै नयाँ मूल्य डलर १.०७७ प्रति किलो लिटर निर्धारण गरिएको छ।

नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा समायोजन गर्दा अझै प्रतिलिटर रु १०.०५ घाटा रहेको छ भने डिजल र मट्टितेलमा थोरै नाफा देखिएको निगमले जनाएको छ। निगमले आगामी मूल्य समायोजनको आधारका लागि औसत खरिद मूल्य, भन्सार मूल्य, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार दरलाई मूल्य निर्धारणको आधार बनाएको समेत जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।