काठमाडौँ, १६ साउन। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) पूर्णरुपमा असफल भएको बताएका छन् ।
आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका नेताहरुले एमाले विभाजन गरेर नयाँ पार्टी बनाउनु गलत थियो भनेर सार्वजनिक रुपमा भन्न थालेको बताए ।
उनले एकथरी नेताहरुले एमाले विभाजन गर्न भूमिका खेलेकोमा पश्चताप गरिरहेको र अर्काथरी नेताहरुले एक्लै पार्टी चलाउन सकिँदैन भनेर माओवादीसँग एकताको छलफल चलाइरहेको बताए ।
‘एमाले विभाजन गरी अलग पार्टी बनाउँछौं र विकल्प खडा गर्छौं भन्ने जुन नेताहरुले ठान्नुभएको थियो, आज उहाँहरुमा एक प्रकारको निराशा, हतासा पनि देखिन्छ । एकथरी नेताहरु पार्टी विभाजन गर्नु गलत थियो भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिन थाल्नुभएको छ । अर्कोथरी नेताहरुले अब अलग पार्टी चलाउन सकिँदैन । माओवादीसँग एकता गर्नुपर्छ भनेर छलफल प्रक्रियामा हुनुहुन्छ । उहाँहरु पूर्णरुपमा असफल हुनुभएको छ,’– उनले भने ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गलत गरेको अभिव्यक्ति समेत दिएका थिए ।




