२०८३ बैशाख १३

नयाँ विवादमा फस्यो हार्वर्ड विश्वविद्यालय, चीनका भावी नेताहरूलाई तालिम दिएको आरोप

काठमाडौँ, १९ साउन। अमेरिकाको सबैभन्दा प्रतिष्ठित शैक्षिक संस्था हार्वर्ड विश्वविद्यालय ठूलो विवादमा फसेको छ ।

अमेरिकी कांग्रेसको अनुसन्धानले हार्वर्डले एक दशकभन्दा बढी समयदेखि चीनको कम्युनिष्ट पार्टीसँग सम्बन्धित संस्थाहरूसँग औपचारिक साझेदारी कायम राखेको खुलासा गरेको छ । यी सम्बन्धहरू मार्फत, हार्वर्डलाई चीनका भावी नेताहरूलाई तालिम दिन मद्दत गरेको आरोप लगाइएको छ ।

यस अवस्थामा, अमेरिकी सांसद जोन मोल्नार, टिम वालबर्ग र एलिस स्टेफानिकले एक पत्र मार्फत हार्वर्डले चीनको सत्तारूढ दलको केन्द्रीय संगठन विभागसँग नजिकबाट काम गरेको आरोप लगाउदै यो सी जिनपिङ विचारधाराको प्रवर्द्धन र चिनियाँ नेतृत्वको छनोटमा सहयोगी को भूमिका खेलेको उल्लेख गरेका छन् । विशेष गरी, हार्वर्डको केनेडी स्कूल र चिनियाँ सरकारी संस्था, नेतृत्व एकेडेमी बीच लामो समयदेखि सहकार्य रहेको थियो ।

चिनियाँ सरकारी संस्थाका अधिकारीहरूलाई आधिकारिक प्रशिक्षणको लागि हार्वर्ड पठाइएको थियो । ह्विसलब्लोअरको बयानमा यी कार्यक्रमहरू मार्फत, चीनले अमेरिकामा आफ्ना अधिकारीहरूलाई तालिम दिने अवसर पाएको छ, जुन अमेरिकी नीति र समाजमा विदेशी प्रभावको प्रत्यक्ष खतरा भएको उल्लेख छ ।

यी खुलासाहरू यस्तो समयमा भएका हुन्, जब हार्वर्डले क्याम्पसमा यहूदी-विरोधी घटनाहरू र विवादास्पद विविधता, समानता, समावेशीकरण नीतिहरूको बारेमा अनुसन्धानको सामना गरिरहेको छ । अप्रिलमा, एक रिपोर्टले हार्वर्डले सिनजियाङ उत्पादन र निर्माण कोर्प्सका अधिकारीहरूलाई पनि तालिम दिएको थियो, जसलाई उइघुर मुस्लिमहरूको नरसंहारमा संलग्न भएको आरोप लगाइएको छ ।

कांग्रेस, अर्थात् अमेरिकी संसदले हार्वर्डलाई अगस्ट ७ सम्ममा चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित सबै सम्बन्ध, लेनदेन र साझेदारीको पूर्ण विवरण प्रदान गर्न भनेको छ । सांसदहरूले हार्वर्डले यस विषयमा पूर्ण पारदर्शिता नदेखाएमा यसको कर छुट स्थिति खारेज हुन सक्ने चेतावनी दिएका छन् । यो विषय अब नैतिकता वा कानूनको उल्लङ्घन मात्र होइन, तर राष्ट्रिय सुरक्षासँग सम्बन्धित मुद्दा बनेको छ ।

हार्वर्ड जस्तो शीर्ष अमेरिकी विश्वविद्यालयले जानाजानी चीनको अधिनायकवादी शक्तिको हितमा काम कसरी गरेको छ ? भन्ने प्रश्न उठेको छ ।