२०८३ बैशाख १३

कुलिङ पिरियड हेरफेर प्रकरणमा सभामुखको सक्रियता, छानबिन प्रतिवेदन कार्यान्वयनमा जोड

काठमाडौँ, २६ साउन। सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटिको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका छन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका छन् । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरेका छन् । राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवकोरुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे ।

नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए ।

सभामुख घिमिरेले मंगलबार पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।