२०८३ बैशाख १३

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह, नगरे जोखिम बढ्छ

काठमाडौँ, २६ साउन। एनआईसी एशिया बैंकले आफ्नो लाखौं ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्नुपर्ने आवश्यकता परेको छ।

ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको “प्यान अद्यावधिक” विकल्पमा ट्याब गरेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, ग्राहकहरूले प्यान अद्यावधिक गर्नका लागि बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि आवेदन दिन सक्ने प्रबन्ध मिलाइएको छ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई “भुक्तानी रेकर्ड”मा जनाउनको लागि प्यान आवश्यक रहेको छ। प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिनेछ र आयकर प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्नेछ। यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउनेछ र बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ।

प्यान अद्यावधिक नगरेको खण्डमा “भुक्तानी रेकर्ड”मा ब्याजकर दाखिला नभएको अवस्था आउन सक्छ र त्यस पछि ब्याज करमा थप समायोजन गर्नु पर्नेछ, जसको जिम्मेवारी बैंकले नलिने जानकारी बैंकले सम्पूर्ण ग्राहक महानुभावहरूलाई दिएको छ।