काठमाडौँ, २६ साउन। मनसुनको मौसममा चिस्यान र पानीका कारण बिग्रिने सम्भावना बढी हुने स्मार्टफोनको चार्जिङ पोर्ट मर्मतका लागि सामसङ नेपालले ‘सामसङ मनसुन क्याम्प’ सञ्चालनमा ल्याएको छ। यो ग्राहक सेवा अभियान अगस्ट २४, २०२५ सम्म सञ्चालन हुनेछ।
अभियान अन्तर्गत सामसङ प्रयोगकर्ताले वारन्टी भएको वा नभएको फरक नपारी, अधिकृत सामसङ सेवा सेन्टरमा गएर बिग्रिएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क भए पनि लेबर शुल्क र आवश्यक थप पार्ट्सको लागत भने ग्राहकले आफैं व्यहोर्नु पर्नेछ। यो सुविधा केवल अधिकृत सामसङ सेवा सेन्टरहरूमा मात्र उपलब्ध हुनेछ।
सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा कस्टमर सेवा प्रमुख राजन भट्टराईका अनुसार, वर्षायाममा चार्जिङ पोर्टमा चिस्यान र पानीको असर बढ्ने भएकाले समयमै मर्मत सेवा उपलब्ध गराउन यो पहल गरिएको हो। “हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन चाहन्छौं। मनसुन क्याम्पमार्फत प्रयोगकर्ताले आफ्नो फोनलाई अबाधित प्रयोग गर्न सक्नेछन्,” उनले बताए।
सामसङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सुविधा लिन आग्रह गर्दै, थप जानकारी र नजिकको सेवा सेन्टर पत्ता लगाउन सामसङ कस्टमर केयरमा सम्पर्क गर्न सुझाव दिएको छ।
यो पहललाई ग्राहकमैत्री कदमका रूपमा लिइएको छ, जसले वर्षायाममा स्मार्टफोन प्रयोगकर्ताको सुरक्षालाई थप सहज र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।




