काठमाडौँ, १ भदौ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी योजना ‘आरबिबि फोकस ४०’ को इकाई निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ १८ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई बिक्री खुला गर्न लागेको हो, जसको कुल मूल्य रु १ अर्ब बराबर हुनेछ।
यस योजनामा राष्ट्रिय वाणिज्य बैंकलाई न्यूनतम १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि न्यूनतम १ प्रतिशत अर्थात् १० लाख इकाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला रहनेछन्। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
निष्काशन अवधि छिटोमा भदौ २२ गतेसम्म रहनेछ भने सम्पूर्ण इकाई बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ। १२ वर्ष अवधिको यस योजनामा आवेदन सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी गर्न सकिनेछ।
यस सामूहिक लगानी योजनाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको धितोपत्रको आन्तरिक मूल्याङ्कन गरी सम्भावित उच्च प्रतिफल दिने ४० कम्पनीलाई प्राथमिकतामा राखेर लगानी गर्ने लक्ष्य लिएको छ। तर समयानुकूल आवश्यक ठहरिए ४० भन्दा बढी कम्पनीमा पनि लगानी गर्न सक्ने लचिलो व्यवस्था गरिएको छ।
इकाई निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई CARE NP A+ Issuer Rating प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले ICRA NP AMC Quality 3 रेटिङ दिएको छ।
यसले लगानीकर्तालाई मध्यम जोखिमसहित दीर्घकालीन लाभ दिने अपेक्षा गरिएको आरबिबि मर्चेन्ट बैंकिङ्गले जनाएको छ।




