काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको बालुवाटार प्यालेस बैंक्वेटमा सम्पन्न भएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा गत वर्षका उपलब्धि, सामना गरिएका चुनौती र आगामी योजनाबारे विस्तृत छलफल भएको थियो ।
कार्यकारी प्रमुखले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीको प्रगतिलाई अर्को महत्वपूर्ण कोसेढुङ्गा भनेर व्याख्या गरे । उनले निकट भविष्यमा पनि शेयरधनी मूल्य अभिवृद्धि गर्ने प्रतिबद्धता दोहोर्याए ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी प्रस्तावहरू पारित गरिएका छन् ।
संस्थापक समूहको तर्फबाट शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे पुनः सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । सभाले चुक्ता पूँजीको ५ प्रतिशत अर्थात् एक करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
समापन मन्तव्यमा अध्यक्ष न्यौपानेले शेयरधनी, माछापुच्छ्रे बैंक, नियामक निकाय, लेखापरीक्षक, साझेदार संस्था, सञ्चारकर्मी र कर्मचारीहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले सबैको सहकार्य र मार्गदर्शनसहित कम्पनी अझ मजबुत र सक्षम रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।




