काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको हो। यसअघि कर्मचारी र सामुदायिक प्रभावित समूहलाई शेयर छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताले मेरो शेयरमार्फत पनि सजिलै आवेदन दिन सक्नेछन्।
यो आईपीओ छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म खुला रहनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ। बन्दिपुर केवलकारले तनहुँको बन्दिपुर क्षेत्रमा पर्यटन र पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित शेयर निष्काशन गरेको जनाएको छ।




