२०८३ बैशाख १३

जेनजीको ऐक्यबद्धता: सबै क्षेत्र समेट्दै नयाँ संयोजन समिति गठन, केन्द्र संयोजकमा सुदन गुरुङ

काठमाडौं । शुक्रबार जेन-जीको प्रत्यक्ष प्रतिनिधित्वमा नयाँ संयोजन समिति गठन गरिएको छ ।

केन्द्र संयोजकमा सुदन गुरुङ रहेका छन् भने केन्द्र सह-संयोजकमा बब्लु गुप्ता र पुरुषोत्तम कुमार यादव रहेका छन् ।
त्यसैगरी प्रदेश संयोजकहरु तर्फ अर्जुन चाम्लिङ्ग (कोशी), शिव यादव (मधेश), किरण केसी (बागमती), प्रदिप पाण्डे (गण्डकी), आदित्य आचार्य (लुम्बिनी), सुप्रिया शाही (कर्णाली) र खेमराज साउद (सुदुरपश्चिम) रहेका छन् ।

संगठन सुदृढीकरण र कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउन केन्द्रिय संयोजन समिति गठन गरिएको नव गठित संयोजन समितिका केन्द्र सह-संयोजक बब्लु गुप्ताले बताए ।

समितिमा विभिन्न प्रदेश र क्षेत्रबाट प्रतिनिधिहरूलाई समावेश गरिएको छ । जसले आगामी दिनमा संगठनका गतिविधिहरूलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ । “अहिले सात प्रदेश र केन्द्र संयोजक सहितको संरचना भनेको हो, अब बिस्तारै देशब्यापी रुपमा संगठन बिस्तार हुदै जानेछ”- गुप्ताले भने ।

समिति गठनका क्रममा विभिन्न तहका जेन-जीकोहरूको सहभागिता रहेको थियो । बैठकले उपस्थित सबै जेन-जी सदस्य रहनेगरी सबैको सहमतिमा केन्द्र सचिवालय समिति चयन गरेको हो ।

बैठकमा सहभागी जेनजीहरुले नवगठित समितिको सफल कार्यकालको कामना गर्दै संगठनलाई जनमुखी र जनताको हितमा क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।