काठमाडौं । जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले लोकतन्त्रमा निषेध हुन नहुने बताएकी छिन् ।
उनले दलका नेताहरुलाई सोही दलका साथीहरुले प्रश्न गरेर सुधारेर ल्याउनुपर्नेमा जोड दिईन् । उनले भ्रष्टाचार गर्ने हरेक नेताहरुलाई कारबाही हुनुपर्ने बताईन् ।
शुक्रबार प्राइम टेलिभिजनसँग कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास, वाइडबडी लगायतका काण्डमा आवद्ध भएकाहरुलाई कारबाही हुनुपर्ने माग गरिन् । जेन-जी आन्दोलनको क्रममा आफ्ना साथीहरुलाई टाउकोमा ताकी ताकी गोली हानी हत्या गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो कारबाही हुनुपर्ने उनको माग छ ।
उनले आफूलाई ओलीप्रति त्यस दिनको घट्नाको कारण आक्रोश रहेको सुनाईन् । उनले अब ओलीलाई कुनैपनि नेतृत्वमा आफुहरुले देख्न नचाहेको पनि टिप्पणी गरिन् । उनले भनिन्,”उहाँलाई अब हाम्रो शासकका रुपमा त झनै देख्न चाहँदैनौं । शासक आँफैमा एउटा निरंकुश शब्द हो ।”
उनले पाका नेताहरुले अब नेतृत्व छाड्नुपर्ने माग गरिन् । देशका पाका नेताहरुले कालो सिसावाला गाडीमा सवार गर्ने गरेको भएपनि सडकमा जनताको आक्रोशको तह कुन हदसम्म बढेको थियो भन्ने थाहा नै नपाएको पनि उनको भनाई छ ।




