२०८३ बैशाख १३

जेनजी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरू दण्डित हुनेछन्: आइजिपी खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले जेन–जी आन्दोलनको क्रममा आपराधिक गतिविधि गर्नेहरूलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आइजिपी खापुङले आन्दोलनको आवरणमा केही व्यक्तिहरूले आपराधिक कार्य गरेका स्पष्ट संकेत देखिएको बताए। उनले प्रहरी संगठनले त्यस्ता क्रियाकलापलाई कुनै हालतमा सहन नहुने उल्लेख गर्दै भने, “जेनजी आन्दोलनको बहानामा समाजलाई धमिल्याउने प्रवृत्ति गलत र आपराधिक हो। यस्ता गतिविधिमा संलग्नहरूलाई कानुन बमोजिम दण्डित गरिनेछ।”

आइजिपी खापुङका अनुसार आन्दोलनपछि प्रहरी संगठनको मनोबल खस्किएको भन्ने धारणा असत्य हो। उनले जनताको सहयोगमा देशभरका प्रहरी चौकीहरू पुनःस्थापित भइसकेको बताउँदै भने, “प्रहरीको मनोबल घटेको छैन, बरु जनताको साथले अझ मजबुत बनेको छ।”

उनले समाजमा शान्ति, सुरक्षा र कानूनको शासन कायम राख्ने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दोहोर्‍याए। “नेपाल प्रहरी जनताको अपेक्षाअनुसार शान्ति र सुरक्षा सुनिश्चित गर्न निरन्तर सक्रिय छ,” आइजिपी खापुङले थपे।

उनले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक वा आपराधिक गतिविधिहरूको अनुसन्धान तीव्र गतिमा भइरहेको र प्रमाणका आधारमा दोषीहरूलाई कानुनको दायरामा ल्याइने पनि स्पष्ट पारे।