काठमाडौँ । अग्नि फाउण्डेशनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४००का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ । यो फाउण्डेशन अग्नि समुहको गैरनाफामूलक संस्था हो ।
बुढानीलकण्ठमा आयोजित विशेष समारोहमा फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले अग्नि समूहको यात्रा केवल व्यापारिक विस्तार नभई समुदायसँगको सहयात्रा भएको बताइन्। “३५ वर्षमा हामीले सफलता कमाएका छौँ, तर त्यो सफलताको सार समुदायसँग हातेमालो गरेर अघि बढ्नुमा छ,” उनले भनिन्, “KIOCH जस्तो संस्थालाई सहयोग गर्नु हाम्रो लागि गर्व हो-किनकि त्यहाँ उपचार मात्र होइन, आशा बाँडिन्छ, भविष्य निर्माण हुन्छ।”

उक्त सहयोगले हजारौँ बालबालिकाको स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने विश्वास KIOCH का अध्यक्ष प्रा. डा. भगवान कोइरालाले व्यक्त गरे।
उनका अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमदेखि लिएर जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरणसम्म-यी इलेक्ट्रिक एसयूभीहरूले सेवा वितरणलाई छिटो, सहज र पहुँचयोग्य बनाउने छन्। “यो सहयोग कुनै साधारण सहयोग होइन, समुदायसम्म उपचार पुर्याउने हाम्रो क्षमतामा थपिएको नयाँ पंख हो,” उनले प्रशंसा गर्दै भने।
अग्नि ग्रुपको ‘Rising Together’ दर्शनले व्यवसायिक प्रगति र सामुदायिक विकासलाई एउटै दिशामा अघि बढाउने लक्ष्य बोकेको छ। वातावरणमैत्री यी इलेक्ट्रिक एसयूभीहरूले KIOCH का स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई अझ गतिशील बनाउने अपेक्षा गरिएको छ।
अग्नि फाउण्डेशन यसअघि पनि स्वास्थ्य, शिक्षा, खेलकुद र विपद् व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै आएको छ। त्रिवि शिक्षण अस्पतालको NICU तथा PICU को मर्मत-सम्भार, स्तरोन्नति तथा अभिभावकका लागि ‘अग्नि विङ’ नामक आधुनिक प्रतीक्षालय निर्माणसमेत फाउण्डेशनका उल्लेखनीय काम हुन्।
यता KIOCH को लक्ष्य स्पष्ट छ-देशभरका १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको, किफायती र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने। विशेषतः आर्थिक रूपमा कमजोर र जोखिममा रहेका बालबालिकालाई समान पहुँच दिलाउन संस्था निरन्तर क्रियाशील छ।





