२०८३ बैशाख १३

गगन र विश्वप्रकाशलाई काउन्टर दिने तयारीमा संस्थापन पक्ष

काठमाडौं । नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई अगाडी बढाएपछि त्यसलाई काउन्टर दिन पुस २७ र २८ गते नै कार्यक्रम गर्ने भएको छ ।

सभापति देउवा निवासमा भएको संस्थापन पक्षका नेताको छलफलमा पुस २७ गते तरुण दलले युवा भेला बोलाउने भएको छ भने पुस २८ गते जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ ।

महामन्त्रीद्वय थापा र शर्माको सहयोगमा विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने घोषणा गरेर महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्तालाई सहभागिताको लागि आव्हान गरिरहेका छन् ।

यसैबीच विहिबार बिहान नेता डा. शेखर कोइरालाले सभापति देउवासँग भेटवार्ता गरेका छन् । सो भेटमा कोइरालाले पार्टीलाई विभाजन हुनबाट रोक्न र विशेष महाधिवेशनलाई संकल्प सभाको रुपमा परिणत गर्न सभापति देउवालाई आग्रह गरेका थिए ।

आजै काँग्रेसमा देखिएको ध्रुविकरणका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक ४ बजे बस्दै छ ।

Read More

भेनेजुएलाले अमेरिकामा उत्पादित समान मात्र किन्छ- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्ने बताएका छन् ।

ट्रम्पले भेनेजुएलाले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाले अमेरिकामा उत्पादित समान मात्र किन्ने बताएका हुन् । उनले भनेका छन्- ‘मैले जानकारी प्राप्त गरेको छु, भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसा प्रयोग गरेर संयुक्त राज्य अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्नेछ । यी खरिदहरूमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरू सुधार गर्न अमेरिकी कृषि उत्पादनहरू, औषधिहरू, चिकित्सा उपकरणहरू र मेसिनरीहरू समावेश हुनेछन् ।’

ट्रम्पले भेनेजुएला अब अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध रहेको बताउदै यो एक बुद्धिमानी निर्णय भएको र भेनेजुएला र अमेरिका दुवैका जनताका लागि धेरै राम्रो कुरा भएको बताएका छन् ।

यसअघि, शनिबार, अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती, सिलिया फ्लोरेसलाई राजधानी कराकसबाट पक्राउ गरेको थियो । यसपछि, डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । यसअघि उनी देशको उपराष्ट्रपति थिइन् ।

Read More

आयुषाको नेपाली सिरिज ‘घर एक सपना’ भोलिबाट डिसहोममा

काठमाडौं । डिसहोम गो ओटिटि DishHomeGO OTT एपले शुक्रबारदेखि नेपाली सिरिज ‘घर… एक सपना’ स्ट्रिमिङमा ल्याउने भएको छ।

कलाकारहरु सरोज खनाल, लक्ष्मी गिरी र विश्व बस्नेतलगायतको अभिनय रहेको यस सिरिज अब दर्शकले यस एपमार्फत हेर्न पाउने छन् ।

आयुषा पोखरेलको प्रस्तुति रहेको ‘घर… एक सपना’ ले एक नेपाली परिवारभित्र बिस्तारै चर्किँदै जाने सम्बन्ध, जिम्मेवारीको भार, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक र यथार्थपरक ढंगले चित्रण गरेको छ। कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडहरू हुँदै घर, परिवार र सम्बन्धको वास्तविक अर्थ बुझ्ने भावनात्मक यात्रामा अघि बढाउँछ।

लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिजमा अनुभवी र लोकप्रिय कलाकारहरूको अभिनयले कथालाई अझ जीवन्त बनाएको छ। सिरिजमा विश्व बस्नेतसँगै सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको समेत अभिनय देख्न पाइनेछ।

पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र नेपाली समाजको यथार्थलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको ‘घर… एक सपना’ दर्शकका लागि आत्मीय अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

यो एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित छ, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, सिरिज, खेलकुद, मनोरञ्जनात्मक सामग्री र लाइभ टेलिभिजन सहज रूपमा उपलब्ध छन्। डिसहोमले गुणस्तरीय, नयाँ र मौलिक नेपाली कन्टेन्टमार्फत डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ।

Read More

धार्मिक क्षेत्रको शान्ति सुरक्षामा गृहमन्त्री आर्यालको ध्यानाकर्षण

काठमाडौँ । विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा गृहमन्त्री ओमप्रकाश आर्याललाई  ध्यानाकर्षण गराएका छन् ।

मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ‌अर्यालले बहुसांस्कृतिक  र बहुजातिय  देशमा धार्मिक अशान्ति फैलिने  खालका कुनै पनि गतिविधि  गर्न  नहुने र कसैले गरेमा  त्यसलाइ  कानुन बमोजिम  कारवाहीको दायारमा ल्याइने कुरा बताएका छन् । 

भेटका क्रममा अर्यालले  देशमा शान्ति तथा अमन  चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाइ स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताए ।  

छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर  समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका छन् ।

Read More

ट्रम्प र कोलम्बियाली राष्ट्रपति पेट्रोबीच भेटवार्ता हुदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेट्ने बताएका छन् ।

भेनेजुएलामा भएको कारबाहीको केही घण्टापछि ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई ‘आफ्नो ज्यान जोगाउन भाग्न’ चेतावनी दिएको केही दिनपछि उनलाई भेट्ने बताएका हुन् ।

यसअघि अमेरिकाले शनिबार राति भेनेजुएलाको राजधानी काराकसमा आक्रमण गरेको थियो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर अमेरिका लागेको थियो ।

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो कुएलोले कारबाहीमा मारिएकाहरूको संख्या पहिले रिपोर्ट गरिएको भन्दा बढी छ र अब १०० भन्दा बढी रहेको छ ।

स्थानीय मिडिया रिपोर्टहरूले पहिले अमेरिकी सेनाले मादुरोको परिसरमा आक्रमण गर्दा २३ भेनेजुएली र ३२ क्युबाली सैनिक मारिएको बताएका थिए ।

ट्रम्पले कुराकानीको क्रममा पेट्रोले ‘लागुऔषधको अवस्था र अन्य विवादका विषय उठाएका थिए । 

Read More

भेनेजुएला घटना बारे नेपालले भन्यो- देशको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान होस्

काठमाडौँ । सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ । परराष्ट्रले भनेको छ- ‘नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ ।’

नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारी मार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिने उल्लेख गरेको छ ।

अमेरिकाले जनवरी ३ मा भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क पुर्याएको चारदिन पछि नेपाल सरकारको औपचारिक धारणा आएको हो ।

Read More

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले आजै बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपराहन्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । 

काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आव्हान गरेको अवस्थामा बैठक बोलाइएको छ ।

Read More

काठमाडौँको जयबागेश्वरी क्षेत्रका ७५ भवनलाई मौलिक स्वरुपमा रुपान्तरण गरिदै

काठमाडौँ । काठमाडौँ महानगर-८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरुलाई मौलिक स्वरुपमा रुपान्तरण गर्न लागिएको छ ।

यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपियाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपियाँ थियो । यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका घरहरुको सडकतर्फको मोहडालाई रुपान्तरण गरेर मल्लकालीन वा राणाकालीन शैलीको स्वरुप प्रदान गरिनेछ ।

स्वामित्वका हिसाबले व्यक्ति वा संस्था जसको भए पनि इतिहासको निश्चित समयावधिमा काठमाडौँ उपत्यकाभित्र विकास भएका वास्तु शैलीलाई परम्परागत मानिएको छ । यसमा  मल्लकालदेखि राणा कालसम्मका संरचना पर्छन् । वडा ८ का अध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्- ‘मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग महत्वपूर्ण हुन्छन् । घरको गारोमा प्रयोग गरिएका इटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मल्लकालीन घरको डिजाइन हो । आधुनिक बनेको संरचनालाई हामीले यही शैली फिर्ता गर्न लागेका हौँ ।’ 

यस सडकसँग करिब २५० घर परिवार जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घरको अगाडिको भागको स्वरुप परिवर्तन गर्न लागिएको संगतको भनाइ छ । 

यी घरहरुसँग यही सडक खण्डभित्र सेतो ढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डवली फल्चा, मूर्ति सहितको गम्ती महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनारसहित धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचनाहरु छन् । वुद्ध चैत्य, ग्वलःदे फल्चा, ग्वलःदे डवली, स्थान गणेश, नास द्यः छेँ, लुक महाद्यः, कुमारी द्यः दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, व्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदूर्गा फल्चा, नवदूर्गा डवली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत स्थानीय जनजीवन, आस्था र श्रद्धासँग जोडिएका मूर्त सम्पदा छन् । 

मचातिं जात्रा (त्रिशुल जात्रा) निकाल्ने फल्चा, धन्वन्तरी मन्दिर, उमामहेश्वर मन्दिर, श्रीकृष्ण मन्दिर, सूर्यनारायण मन्दिर, इन्द्रेश्वर महादेव, यही परिसरमा परम्परागत इनार, तलेजु भवानी मन्दिर, अष्टमातृका मन्दिर, नित्यनाथ मन्दिर, तुपेक भैरव र गणेश, निर्माणेश्वर महादेव मन्दिर यस क्षेत्रका मानिसहरुको जीवन पद्धतिसँग सम्बन्ध राख्ने सम्पदा हुन् । 

नवदूर्गा नाच, १२ बर्षे हरिसिद्धि नाच, त्रिशुल जात्रा, बच्छलेश्वरी जात्रा, श्रीकृष्ण जात्रा, गाईजात्रा, खड्गजात्रा, रोपाइँजात्रा, यलाँ पर्व, गुंला पर्व यही ठाउँबाट सञ्चालन हुन्छ । देशोद्वार पूजा, कुमाःमचा (कुमार र कुमारी पूजा), बालाचतुर्दशीमा सतवीज छर्ने कामको प्रारम्भ यहीँबाट हुन्छ । पाशुपत क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु यस स्थानमा ल्याउने चलन छ । यस क्षेत्रमा बसोबार गर्ने संगत र महर्जनहरु बसाइँ सरेर अन्यत्र जहाँ पुगेपछि ब्रतबन्धका लागि स्थान गणेशमा अनिवार्य आउनु पर्ने परम्परा रहेको वडाध्यक्ष संगतले जानकारी दिए । 

ग्वल देः कान्तिपुरको छुट्टै देश थियो । यसको विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो । ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । यस क्षेत्रको प्राचीनतालाई निरन्तरता दिनका लागि ९ वटा परम्परागत सि गुठि खल छन् । यी गुठिहरुले परम्परागत बाजा बजाउन सिकाउने, संस्कार चलाउने र युवाहरुलाई संस्कारका विधि सिकाउने गर्छन् । यस्तै डवली तथा फल्चामा दाफा भजन गाउने गर्छन् । 

यो लिच्छवीकालीन सहर हो । यही प्राचीनतालाई कायम राखेर मौलिक स्वरुप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य हो । यस क्रममा वडाले करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु (मनपर्ने पोखरी) पुनःनिर्माण गर्दैछ । 

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको स्वरूपलाई कायम राख्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

Read More

राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी संस्थाबाट अमेरिका फिर्ता हुने ट्रम्प निर्णय

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूबाट अमेरिकालाई फिर्ता लिने निर्णय गरेका छन् ।

ट्रम्पले अमेरिकी हित विपरीत अन्तर्राष्ट्रिय संस्थाहरू, सन्धिहरू र सम्झौताहरूबाट फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकाले यी संस्थाहरू या त ‘अनावश्यक’ वा अमेरिकीहित विरुद्ध काम गरिरहेको बताएको छ।

ह्वाइट हाउसद्वारा जारी गरिएको फ्याक्ट सिट अनुसार, यसमा ३१ संयुक्त राष्ट्र संघ-सम्बद्ध संस्थाहरू र ३५ गैर-संयुक्त राष्ट्र संघ संस्थाहरू समावेश छन् जसले अमेरिकी राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि वा सार्वभौमिकता विरुद्ध काम गर्छन् ।

ट्रम्पले सबै सरकारी विभागहरू र एजेन्सीहरूलाई ‘सकेसम्म चाँडो’ यी संस्थाहरूबाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लिने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

यी संस्थाहरूको सूचीमा ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन’ पनि समावेश छ, जुन जलवायु परिवर्तनलाई सम्बोधन गर्न भारत र फ्रान्सको संयुक्त पहल हो ।

Read More

विशेष महाधिवेशनको पक्षमा खुले ललितपुर र कास्की काँग्रेसका सभापति

काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरु विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम शुरु भएको छ ।

दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा विशेष महाधिवेशनको आव्हान गरेपछि ललितपुर र कास्की जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् ।

कास्की सभापति किशोर दत्त बरालले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा उपस्थित हुन र सफल बनाउन जिल्लाका सबै महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

यसअघि बुधबार ललितपुर काँग्रेसका सभापति जितेन्द्र कुमार श्रेष्ठले विशेष महाधिवेशनको समर्थन गर्दै ललितपुरबाट सक्रिय सहभागिता हुने जानकारी गराएका थिए । उनले महाधिवेशन स्थल भृकुटीमण्डपसम्म ललितपुरबाट बाजागाज र झाकीसहित जुलुस लिएर जाने समेत उल्लेख गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी तिब्र पारेपछि संस्थापन पक्षले भने नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन अपिल गरेको छ ।     

Read More