२०८३ बैशाख १३

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

काठमाडौँ । नेकपा एमालेमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणमा चरम असन्तुष्टि देखिएको छ ।

पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिष्पर्धा गरेका समुहलाई टिकट वितरणमा किनारा गरिएपछि अहिले एमाले भित्रको असन्तुष्टि छताछुल्ल भएको हो ।

शनिबार बसेको सचिवालय बैठकले १६५ सिट मध्ये धेरै सिटमा टिकटको टुंगो लगायो तर अध्यक्ष ओलीले आफुविरुद्ध प्यानलनै बनाएर प्रतिष्पर्धा गरेका लगभग सबै नेताहरुको टिकट ‘होल्ड’ गरे । तर अब होल्ड गरिएका क्षेत्रमा टिकट वितरण लगभग भएको छ र धेरैजसोलाई टिकटबाट बन्चित गरिएको छ । अध्यक्षमा प्रतिष्पर्धा गरेका ईश्वर पोखरेलको काठमाडौँ-५ को टिकट अझै होल्ड छ र यसको निर्णय गर्ने अधिकार ओलीले आफैसँग राखेका छन् ।

त्यस्तै उपमहासचिव योगेश भट्टराईले त टिकट नै पाएनन् । ताप्लेजुङबाट योगेशको स्थानमा युवा संघका अध्यक्ष क्षितिज थेवेलाई टिकट दिएको छ । भट्टराईले टिकट वितरणप्रति असन्तुष्टि जनाउदै केन्द्रीय कार्यालयमा आफ्नो फरक मत समेत दर्ता गराएका छन् ।

त्यस्तै महाधिवेशनमा महासचिवमा प्रतिष्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई त जिल्लाबाट सिफारिस समेत गरिएको थिएन । त्यसैगरी अर्का प्रखर नेता पूर्व मन्त्री गोकुल बास्कोटाको टिकट पनि खोसिएको छ । उनी गत निर्वाचनमा काभ्रे-२ बाट विजयी भएका थिए । काभ्रे-२ मा ओलीले अशोक ब्याञ्जुलाई टिकट दिएका छन् ।

त्यस्तै अग्नि खरेल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, पुरुषोत्तम पौडेल, इन्द्रलाल सापकोटा विन्दा पाण्डे, रचना खड्काले पनि टिकट पाउन सकेनन् ।

त्यस्तै दैलेखमा पार्टीको आन्तरिक निर्वाचनमा सबभन्दा धेरै मत पाएर सिफारिस भएका केन्द्रीय सदस्य विष्णु रिजालले पनि टिकट पाउन सकेनन् । संस्थापनकै नेता मानिने रिजाल सामाजिक सञ्जाल र मिडियामा ओलीको पक्षमा मुखरित हुने नेतामै पर्छन् तर पनि उनलाई टिकट दिइएको छैन ।

महाधिवेशनमा ओलीको विपक्षी प्यानलबाट प्रतिष्पर्धा गरेका उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्ट गुल्मी–२ बाट उम्मेदवार बनेका छन् भने सचिवमा प्रतिस्पर्धा गरेका विनोद ढकाल मोरङ–६ बाट उम्मेदवार बनेका छन् । यी बाहेक ईश्वर पोखरेल पक्षका अन्य नेताले टिकट पाएका छैनन् ।

Read More

इरानमाथि आक्रमण गर्न अमेरिकालाई किन छैन सजिलो 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्ने तयारी गरिरहेका बेला एकाएक यो कदमबाट अमेरिका पछि हटेको बताइएको छ ।

मध्य पूर्वको सबैभन्दा ठूलो अमेरिकी हवाई अड्डा कतारको अल-उदेइद एयर बेसबाट केही सेना फिर्ता बोलाउन आदेश जारी गरिएको थियो भने अमेरिकाले आफ्नो चर्चित आब्रह्म लिंकन युद्ध पोत मध्यपुर्व तर्फ लागेको थियो । ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा कडा कारबाही गर्ने धम्की पनि दिएका थिए तर इरानबाट मृत्युदण्ड स्थगित गरिएको खबर आयो ।

गत बिहीबार साँझसम्ममा, मध्य पूर्वमा बढ्दो तापक्रम कम हुँदै गएको स्पष्ट भयो । अमेरिकाले कतारको आफ्नो अल-उदेइद एयर बेसमा सुरक्षा सतर्कता स्तर घटायो । बुधबार यो सैन्य अड्डाका लागि सुरक्षा सतर्कता जारी गरिएको थियो । बुधबार आधारबाट फिर्ता गरिएका अमेरिकी सैन्य विमानहरू अब बिस्तारै फर्किरहेका छन् । तर अंग्रेजी पत्रिका ‘द टेलिग्राफ’ मा प्रकाशित एक रिपोर्टले सबैलाई स्तब्ध पारेको छ, जसले अमेरिकी सेना आक्रमणको लागि तयार नभएको दाबी गरेको छ । सीमित विकल्प र क्षमताका कारण इरानमाथि आक्रमण गर्न अमेरिकी अधिकारीहरूलाई गोप्य रूपमा चेतावनी दिइएको थियो र देशको सेना सीमित विकल्प र क्षमताका कारण इरानमाथि आक्रमण गर्न तयार नभएको रिपोर्टमा उल्लेख गरिएको छैन ।

ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई शासनविरुद्ध निर्णायक हमलाको ग्यारेन्टी दिन सकेमा मात्र कारबाही गर्न निर्देशन दिएको बताइएको छ । तर अधिकारीहरूले उनीहरूले यस्तो ग्यारेन्टी दिन नसक्ने र सैन्य कारबाहीले हप्तासम्म चल्ने ठूलो द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएको समेत रिपोर्टमा उल्लेख छ । यदि अमेरिकाले इरानमा प्रतीकात्मक आक्रमण सुरु गरेपानी यो यति कमजोर हुनेछ कि यसको कुनै महत्त्व नहुने विश्लेषण गरिएको छ । संकट अहिलेको लागि टार्न सकिएको हुन सक्छ, तर रक्षा विज्ञहरू इरानको भौगोलिक स्थानले कुनै पनि सैन्य कारबाहीलाई निवारण प्रदान गर्ने बताएका छन् ।

अर्कोतर्फ, इरानले विगत केही महिनामा आफ्नो रक्षा प्रणालीमा आमूल परिवर्तनहरू पनि गरेको छ । इरानी सेनाका कमाण्डर इन चीफ मेजर जनरल अमिर हतामीले धेरै पटक इरानले पछिल्लो द्वन्द्व पछि आफूलाई कति बलियो बनाएको भन्ने बताउदै आएका छन् । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, अमिर हतामीले इरानी सशस्त्र सेनाहरू जुन २०२५ मा भएको १२ दिने युद्धको समयमा भन्दा धेरै तयार रहेको बताएका छन् । त्यो युद्ध इरानी सेनाको लागि एक अनौठो अनुभव थियो, जसले हाम्रो शक्ति बढायो, सैनिकहरूको तालिमको स्तर बढायो र विभिन्न एकाइहरू बीचको समन्वयमा सुधार ल्याएको उनको दाबी छ । इरानले कुनै पनि सम्भावित आक्रमणलाई रोक्न र इरानको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न आफ्नो सशस्त्र सेनाको क्षमतालाई बलियो बनाएको छ ।

अंग्रेजी पत्रिका द गार्जियनको रिपोर्ट अनुसार, भेनेजुएलाका नेता निकोलस मादुरोलाई ‘कब्जा’ गरेपछि, ट्रम्पले उत्साहपूर्वक इरानविरुद्ध कडा अडान लिने कुरा गरेका थिए । तर वास्तविकतामा, अमेरिकाले कुनै सैन्य तयारी गरेको छैन । वास्तवमा, पछिल्ला केही महिनाहरूमा इरान वरिपरि अमेरिकी सेना घटाइएको छ, जसले विकल्पहरू सीमित गर्दछ । अक्टोबर २०२५ देखि मध्य पूर्वमा कुनै पनि अमेरिकी विमान वाहक तैनाथ गरिएको छैन । यसको अर्थ अमेरिकाले इरानी सरकारी निशानाहरू वा इरानी नेता अयातुल्लाह अली खामेनीमाथि आफैंले आक्रमण गर्न सक्दैन । यसका लागि, अमेरिकाले मध्य पूर्वी देशहरूमा हवाई अड्डाहरू प्रयोग गर्नुपर्नेछ । यद्यपि, इरानले पहिले नै उनीहरूलाई यसबारे चेतावनी दिइसकेको छ ।

अमेरिकासँग अर्को विकल्प छ, बी-२ बमवर्षक, जुन उसले जुन २०२५ मा तैनाथ गरेको थियो । यद्यपि, इरानले अमेरिका र इजरायलको आक्रमणबाट उसको आणविक सुविधाहरू पूर्ण रूपमा नष्ट नभएको दाबि छ । अमेरिकाले अक्टोबरमा आफ्ना विमान वाहकहरू फिर्ता लिएको थियो, जसले इरानलाई केही राहत दियो । तर अब अमेरिकाले फेरि आफ्ना विमान वाहकहरू मध्य पूर्वमा पठाउँदैछ । आक्रमणको अवस्थामा यी विमान वाहकहरू प्रयोग गर्नु आवश्यक छैन । अमेरिकाले इरानका छिमेकी देशहरूमा रहेका सैन्य हवाई अड्डाहरू पनि प्रयोग गर्न सक्छ ।

युद्धको एटलसका अनुसार, इरान बलियो प्राकृतिक सिमानाले घेरिएको छ जसले शत्रुको लागि महत्त्वपूर्ण अवरोध खडा गर्छ । इरानको चारैतिर प्राकृतिक प्रतिरक्षा छ । उत्तरमा क्यास्पियन सागर, दक्षिणमा फारसी खाडी र ओमानको खाडी, पूर्व र पश्चिममा मरुभूमि र पहाडहरू, पश्चिममा जाग्रोस पर्वतहरू र उत्तरमा एल्बर्ज पर्वतहरू छन् । यी कुनै पनि शत्रु सेनाको लागि महत्त्वपूर्ण चुनौतीहरू खडा गर्छन् । ऐतिहासिक रूपमा, यी पहाडहरूले आक्रमणकारी सेनाहरूलाई बारम्बार रोकेका छन् । १९८० को दशकमा, इरान र इराक बीच युद्ध भयो । सद्दाम हुसेनको सेनाले १९८० मा इरानमा आक्रमण गर्यो । यद्यपि, जाग्रोस पर्वतहरूको कारणले गर्दा, इराकी सेना इरानमा धेरै टाढा अगाडि बढ्न असमर्थ थियो ।

सद्दाम हुसेनको योजना पहिले अहवाज (एक महत्त्वपूर्ण तेल क्षेत्र) कब्जा गर्ने र त्यसपछि पहाडहरू पार गरेर इरानमा अगाडि बढ्ने थियो । यद्यपि, यो योजना पूर्ण रूपमा असफल भयो । प्रकृति एक महत्त्वपूर्ण बाधा साबित भयो, र युद्ध आठ वर्षसम्म चल्यो । अन्ततः, कोही पनि विजयी भएनन्, जसले गर्दा दुई पक्षबीच गतिरोध सिर्जना भयो । त्यसैगरी, यदि कसैले पूर्वबाट इरानमाथि आक्रमण गर्न चाह्यो भने, उनीहरूले दश्त-ए-लुत र दश्त-ए-कविर जस्ता विशाल मरुभूमिहरू पार गर्नुपर्ने हुन्छ । यी मरुभूमिहरूले ठूलो सैन्य कारबाहीको लागि कठिनाइहरू खडा गर्न सक्छन् ।

पहाड र मरुभूमिका साथै, इरान समुद्रसँग पनि जोडिएको छ । फारसी खाडीमा रहेको होर्मुज जलडमरूम धेरै साँघुरो छ र इरानले यसलाई नियन्त्रण गर्दछ । यो विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग हो । विश्वको लगभग २० प्रतिशत तेल यस साँघुरो जलडमरूमबाट जान्छ । त्यसैले, कुनै पनि ठूलो द्वन्द्वमा इरानसँग महत्त्वपूर्ण हतियार छ । होर्मुज जलडमरूमको नियन्त्रणले इरानलाई विश्वको तेल आपूर्ति काट्न अनुमति दिन सक्छ । यो डरले इरानका शत्रुहरूलाई आक्रमण गर्नु अघि दुई पटक सोच्न बाध्य पार्छ ।

ग्लोबल फायरपावरका अनुसार, इरान विश्वव्यापी रूपमा शीर्ष २० सैन्य शक्तिहरू मध्ये एक हो । १४५ सैन्य शक्तिहरू मध्ये इरान १६औं स्थानमा छ । इरानमा ६ लाख १० हजार सक्रिय ड्युटी सेना र ३ लाख ५० हजार रिजर्भ फोर्स कर्मचारीहरू छन्, जसमध्ये जम्माजम्मी ९ लाख ६० हजार छन् । क्रान्तिकारी गार्ड्स कोर्प्स (आइआरजिसी) इरान भित्रको एक छुट्टै इकाई हो, जुन अपरम्परागत युद्धमा विशेषज्ञता प्राप्त छ । इरानसँग ५५१ लडाकु विमानहरू छन् ।

मानवरहित हवाई सवारी साधनहरूको सन्दर्भमा, इरान विश्वका शीर्ष राष्ट्रहरूमा पर्छ । इरानसँग २५ पनडुब्बीहरू सहित १४७ नौसैनिक सम्पत्तिहरू छन् । इरान वाचको रिपोर्ट अनुसार, इरानको मिसाइल हतियार मध्य पूर्वमा सबैभन्दा ठूलो छ । २०२२ मा, इरानसँग ३,००० भन्दा बढी ब्यालिस्टिक मिसाइलहरू थिए भने  यसमा क्रूज मिसाइलहरू समावेश गरिएको छैन ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, २०२४ मा इरानको रक्षा बजेट ७.९ बिलियन डलर थियो, जुन जीडीपीको लगभग २ प्रतिशत हो । २०२३ मा, इरानको सैन्य खर्च लगभग १०.३ बिलियन डलर थियो । सैन्य खर्चमा इरान विश्वमा ३४औं स्थानमा छ । इरानले २०२५ को तथ्याङ्क जारी गरेको छैन, तर यसले आफ्नो रक्षा बजेट २०० प्रतिशतले बढाएर १६.७ अर्ब डलर पुर्‍याउने योजना बनाएको छ ।

यद्यपि संयुक्त राज्य अमेरिका र इरानको सैन्य शक्तिमा उल्लेखनीय अन्तर छ, संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देश हो, ग्लोबल फायरपावर इन्डेक्समा पहिलो स्थानमा छ । संयुक्त राज्य अमेरिकासँग १३ लाख भन्दा बढी सक्रिय ड्युटी सेना र ७ लाख ८८ हजार रिजर्भ सेना छन्, जसले गर्दा यसको कुल सेनाको संख्या लगभग २१ लाख पुगेको छ । २००५ देखि, संयुक्त राज्य अमेरिका ग्लोबल फायरपावर इन्डेक्समा लगातार पहिलो स्थानमा छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट पनि पहिलो स्थानमा छ । यस रिपोर्ट अनुसार, २०२४ मा संयुक्त राज्य अमेरिकाको रक्षा बजेट ९९७ अर्ब डलर थियो । यो संयुक्त राज्य अमेरिकाको जीडीपीको ३.४ प्रतिशत हो । विश्वव्यापी सैन्य खर्चमा संयुक्त राज्य अमेरिकाको हिस्सा ३७ प्रतिशत छ ।

इरान र संयुक्त राज्य अमेरिकाको सैन्य शक्तिमा ठूलो भिन्नता भए पनि, विश्लेषकहरूले इरानमाथि आक्रमण गर्नु त्यति सजिलो नभएको बताउछन् । 

Read More

बार्सिलोना रियल सोसियडाडसँग स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल सोसियडाडसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल सोसियडाडको जितमा मिकेल ओयारजाबाल र गोन्कालो गुएडेजले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए ।

यस खेलमा खेलको ८८औं मिनेटमा कार्लोस सोलेरले रातो कार्ड पाउदा रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियल सोसियडाडको २० खेलमा २४ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाको भने २० खेलमा ४९ अंक भएको छ । यस हारले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दूरी एक मात्र रहेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक रहेको छ ।

Read More

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौँ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा सेनेगलले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सेनेगलको जितमा खेलको ९४औं मिनेटमा पेप ग्वेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सेनेगलले गोल गरेको थियो ।

यो सेनेगलको अफ्रिका कप अफ नेसन्सको दोस्रो उपाधि हो । यसअघि सेनेगलले २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यस्तै २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको थियो भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो

Read More

रास्वपाको जनकपुरधाममा आज ‘परिवर्तन उद्घोष सभा’, रवि र बालेनले सम्बोधन गर्दै

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्न लागेको छ ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सो कार्यक्रममा एक साथ सहभागिता जनाउदैछन् । यसका लागि दुवै जना आइतबार बेलुका नै जनकपुर आइपुगेका छन् ।  

दिउँसो ठीक १ बजेदेखि जनकपुरधामको तिरहुतिया गाछीमा ‘परिवर्तन उद्घोष सभा’ औपचारिक रूपमा प्रारम्भ हुने रास्वपाले जनाएको छ । सभामा लामिछाने र शाहसहित १२ जनाले सम्बोधन गर्ने बताइएको छ ।

यस सभामा पूर्व स्वतन्त्र सांसद अमरेश कुमार सिंहसहित विभिन्न चर्चित राजनीतिक व्यक्तित्वहरू रास्वपामा प्रवेश गर्ने कार्यक्रम समेत रहेको छ ।

तुलनात्मक रुपमा रास्वपाको मधेशमा कमजोर संगठन भएकाले मधेशबाटै परिवर्तनको सन्देश देशभर फैलाउन जनकपुरधाममा यो कार्यक्रम गर्न लागेको बताइएको छ ।

Read More

समानुपातिक बन्दसूचीका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार यसअघि उम्मेदवारी दिएका २११ जनाको उम्मेदवारी काटिएको छ । समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए । पेस गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेस गरेको र उम्मेदवार आफैंले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको हो ।

यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २१३ उम्मेदवारको प्रारम्भिक नामावली कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आयोगले बन्दसूचिमा नाम समावेश भएकाकुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबि विरोध  माघ १० गतेसम्म गर्न सकिने जानकारी दिएको छ ।

बन्दसूचीको नामावली हेर्ने
https://election.gov.np/admin/public//storage/HOR%202082/PR/PreliminaryCandidateListPR.pdf

Read More

न्यूजील्याण्डले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा न्यूजील्याण्डले भारतलाई ४१ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको भारतले ४६ ओभरमा अल आउट हुदै २९६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १२४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नितिश कुमार रेड्डीले ५३ र हर्षित रानाले ५२ रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्डका बलर ज्याक फोउलकेस र क्रिस्टियन क्लार्कले ३-३ र जयडेन लेनोक्सले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले १३७ रन बनाए भने ग्लेन फिलिपले १०६ रनको शतकीय पारी खेलेका थिए ।

योसहित न्यूजील्याण्डले एकदिवसीय २-१ ले जितेको छ । सिरिजको पहिलो खेल हारेको न्यूजील्याण्डले त्यसपछिका लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।

Read More

तामाङ समुदायले आज सोनाम ल्होछार मनाउदै

काठमाडौं  । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भू-भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ । सोनाम ल्होछारको अवसरमा सरकारले आज देशभर बिदा दिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Read More

२०८२ माघ ५ गते सोमबार: आजको राशिफल

आज २०८२ माघ ५ गते सोमबार ईसं २०२६ जनवरी १९ नेपाल सम्बत ११४६ पोहेलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण प्रतिपदा, चन्द्रमा मकर राशिमा, उत्तराषढा नक्षत्र, वज्र योग, किन्स्तुघ्ना करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज तामाङ समुदायको सोनाम ल्होछार परेको छ र आज देशभर सार्बजनिक बिदा रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्‌नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु होला । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँकेरताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्‌द्धा वा परीक्षामा सफल भइने समय हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्‌ने दिन हो । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । पारिवारिक सौहार्‌द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्‌ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । धर्मकर्म वा परोपकारी काममा चित्त जाने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नतिरप्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्‌ने समय आएको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुने समय हो । पेसागत काम नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्ने समय छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ ।

Read More