२०८३ बैशाख १३

किम जोंग उनले छोरी किम जू ऐलाई उत्तराधिकारी बनाएको दाबी

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोंग उनले आफ्नी १३ वर्षीया छोरी किम जू ऐलाई आफ्नो उत्तराधिकारीका रूपमा चयन गरेको दाबी दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले गरेको छ । बिहीबार सांसदहरूलाई दिइएको ब्रिफिङमा एनआइएसले जू ऐको बढ्दो सार्वजनिक उपस्थितिलाई आधार मानेर यस्तो निष्कर्ष निकालेको जनाएको हो ।

एजेन्सीका अनुसार पछिल्ला महिनाहरूमा किम जू ऐ विभिन्न उच्चस्तरीय सरकारी तथा सैन्य कार्यक्रममा आफ्ना बुवासँग प्रमुख रूपमा सहभागी हुँदै आएकी छन् । सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा पनि उनी किम जोंग उनसँगै देखिएकी थिइन्, जुन उनको पहिलो सार्वजनिक विदेशी भ्रमण मानिएको छ ।

दक्षिण कोरियाली सांसद ली सोंग-क्वेनका अनुसार एनआइएसले यसअघि जू ऐलाई ‘उत्तराधिकारीका लागि तयारी गरिरहेकी’ बताएको थियो । अहिले भने उनी औपचारिक रूपमा उत्तराधिकारी घोषणा हुने चरणमा पुगेको आकलन गरिएको छ । उनले किम जू ऐ कोरियाली पिपुल्स आर्मी स्थापना दिवस लगायत महत्वपूर्ण कार्यक्रममा सहभागी भएको र केही सरकारी नीतिमा उनको धारणा झल्किएको संकेतसमेत देखिएको बताए ।

यसैबीच, उत्तर कोरियामा यसै महिनाभित्र हुने पार्टी सम्मेलनलाई पनि चासोका साथ हेरिएको छ । हरेक पाँच वर्षमा हुने उक्त सम्मेलनमा आगामी पाँच वर्षका लागि विदेश नीति, सैन्य तयारी र आणविक कार्यक्रमसम्बन्धी प्राथमिकता तय गरिन्छ ।

किम जोंग उनले आफ्नो परिवारबारे कडा गोपनीयता अपनाउँदै आएका छन्। किम जू ऐ सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन्, जब उनले आफ्ना बुवासँग अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण अवलोकन गरेकी थिइन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किमका तीन सन्तान छन्, जसमा जू ऐ सबैभन्दा बढी सार्वजनिक रूपमा देखिएकी सन्तान हुन् ।

Read More

नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै

बुटवल । नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा आज ३१औँ जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउने भएको छ ।

जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै रुकुम पूर्व पुगेका छन् । विस २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्डले पहिलो पटक रुकुम पूर्वमा जनयुद्ध दिवस मनाउँदै छन् । 

भूमे गाउँपालिका–२, खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा नेकपा संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रुकुम पूर्वमा २५२ जना सहिद रहेका छन् ।

राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी तथा गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरु गरेको थियो । जनयुद्ध अगाडि बढाउन तात्कालिन माओवादीले रुकुम पूर्व, रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायतका जिल्लालाई आधार इलाका बनाएको थियो । 

विस २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्युरो बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । २०६२ असोजमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको मार्ग तय गरेको थियो ।

चुनबाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीतिक दलबीच १२ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भएको हो ।

जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महत गाउँ र डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरिएको लाबाङ गाउँको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

Read More

चर्चित निर्वाचन क्षेत्र: प्यूठानको चुनावी गणित, थापा-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेश अन्तर्गतको एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान चर्चामा रहेको छ । यस क्षेत्रमा नेकपा एमालेबाट सुर्य थापा र नेपाली काँग्रेसबाट डा. गोविन्दराज पोखरेल उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

प्युठानमा दुई नगरपालिकासहित ९ स्थानीय तह रहेका छन् । जसमा प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिकासहित ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, नौहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिका रहेका छन् ।

निर्वाचन आयोगका अनुसार प्यूठान मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ६५ हजार ४०६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा २३० मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा प्युठानबाट नेकपा एमालेका सुर्य थापा विजयी भएका थिए । थापाले ४१ हजार ११८ मत प्राप्त गरेका थिए । दोस्रो भएकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरेकी थिइन् । उनलाई काँग्रेस-माओवादी केन्द्रसहितको गठबन्धनले समर्थन गरेको थियो । त्यस्तै यस क्षेत्रमा रास्वपाका कृष्ण प्रसाद पोख्रेलले ३ हजार ३१८ मत प्राप्त गरेका थिए । 

त्यसैगरी २०७९ को समानुपातिकतर्फ प्युठानमा नेकपा एमालेले ३३ हजार ८०४ मत पाएको थियो भने काँग्रेसले १७ हजार ८५१ मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले १३ हजार ३०३ र जनमोर्चाले ९ हजार ९५९ मत पाएको थियो । त्यस्तै रास्वपाले ५ हजार ८५१ मत पाएको थियो ।

उम्मेदवार- २०८२ 
यस निर्वाचनमा प्युठानमा राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट सुर्य थापा फेरी उम्मेदवार बनेका छन् । त्यस्तै काँग्रेसबाट डा. गोविन्दराज पोखरेल उम्मेदवार बनेका छन् । त्यस्तै नेकपाबाट कृष्ण ध्वज खड्का र रास्वपाबाट सुशान्त वैदिक उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट धनेश्वर पण्डित र राष्ट्रिय जनमोर्चाबाट तिलकबहादुर जिसी उम्मेदवार बनेका छन् ।

निष्कर्ष: 
अघिल्लो निर्वाचनमा काँग्रेस-माओवादी केन्द्र र जनमोर्चाको गठबन्धन रहेको बेला एमालेका सुर्य थापाले सजिलै चुनाव जितेका थिए । संगठनका हिसाबले एमालेको बलियो पकड मानिएको प्युठानमा यस पटक सबै दल अलग अलग चुनावी मैदानमा रहेकाले यस पटक थापालाई सहज नै हुने आकलन गरिएको छ ।

सुर्य थापाको मुख्य चुनौती भनेको देशभर आमरुपमा एमालेप्रतिको नकारात्मक वातावरण हो । यसको असर प्युठानमा कति पर्छ र मतदाताले कसरी हेर्छन् त्यसकै आधारमा थापाको जितको अधार तय हुने छ । त्यसो त काँग्रेसका उम्मेदवार पोखरेल पनि बलिया उम्मेदवार हुन् । अघिल्लो चुनावमा गठबन्धनका कारण उम्मेदवार बन्न नपाएका पोखरेल २०७४ मा जनमोर्चाकी दुर्गा पोखरेलसँग पराजित भएका थिए । प्युठानमा रास्वपाको पनि उल्लेख्य प्रभाव देखिएपनि मुख्य प्रतिष्पर्धा भने थापा र पोखरेलबीच नै हुने देखिन्छ ।

Read More

बंगलादेशमा बीएनपी बहुमततर्फ अग्रसर, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै

काठमाडौँ । बंगलादेशमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) पार्टीले २९९ सिटमध्ये १३७ सिट जितेर बहुमततर्फ अग्रसर भएको छ ।

चुनावको नतिजाले पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् । उनी १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए ।

बंगलादेशको मिडिया डेली स्टारका अनुसार अहिलेसम्म १७७ स्थानको मतगणना सम्पन्न हुदा बीएनपीले १३७ स्थानमा जित हासिल गरेको छ भने 

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ३५ सिट मात्र जितेको छ । 

अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ५ सिट जितेका छन् । अझै १२२ स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।

Read More

महिला एशिया कप राइजिंग स्टार्स आजदेखि, नेपालको सामना पाकिस्तान ए सँग

काठमाडौँ । महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगिता आजदेखि शुरु हुदैछ ।

प्रतियोगिताको पहिलो खेलमा आज नेपाल र पाकिस्तान ए बीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ८: १५ बजेदेखि शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल दिउसो १२: ४५ बजेदेखि भारत ए र युएईबीच खेल हुदैछ ।

आजदेखि फेब्रुअरी २२ सम्म थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश ए, भारत ए, पाकिस्तान ए, श्रीलंका ए, मलेसिया, थाइल्याण्ड र युएई गरेर ८ देशले भाग लिदैछन् ।

यस प्रतियोगिता,मा नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत ए, पाकिस्तान ए र युएई रहेका छन् । नेपालले पहिलो खेल फेब्रुअरी १३ मा पाकिस्तान ए सँग खेल्ने छ भने दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने छ ।

दुई समुहका शिर्ष दुई देशले सेमिफाइनल खेल्ने छन् भने फाइनल खेल फेब्रुअरी २२ मा हुने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम थाइल्याण्ड पुगेको छ । नियमित कप्तान घाइते भएपछि पुजाले पहिलो पटक नेपाली सिनियर टिमको कप्तानी गर्ने भएकी छन् । नेपाली टिममा पुजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमा केसी रहेका छन् ।

Read More

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । 

आज पहिलो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा अस्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन् । सुपर आठको दौडमा दुवैका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह डी अन्तर्गत क्यानडा र युएईबीच हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

त्यसैगरी आज तेस्रो खेल समुह ए अन्तर्गतको नेदरल्याण्डस र अमेरिकाबीच हुदै छ । भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा नेदरल्याण्डसले २ खेलमा २ अंक हासिल गरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

Read More

भारतको टी-२० विश्वकपमा लगातार दोस्रो जित

काठमाडौँ । भारतले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । 

विहिबार राति सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नामिबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । 

भारतले दिएको २१० रनको लक्ष्य पछाएको नामिबियाले १८.२ ओभरमा अल आउट हुदै ११६ रन बनाएको थियो । नामिवियाका लागि लोउरेन स्टीनकाम्पले सर्बाधिक २९, जान फ्राइलिंकले २२ रन बनाएका थिए । 

त्यस्तै भारतका बलर वरुण चक्रवर्तीले ३ विकेट लिए भए हार्दिक पाण्डेय र अक्सर पटेलले २-२ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर २९ रन बनाएको थियो ।  भारतका लागि इशान किशनले ६१ रन बनाए भने हार्दिक पाण्डेयले ५२ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले २५, शिभम दुबेले २३, सन्जु सामसनले २२ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर गेरहार्ड इरासमसले ४ विकेट लिएका थिए । 
यो जितपछि भारतको समुह ए मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ ।  त्यस्तै नामिबियाले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । 

अब भारतले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले अमेरिकाको सामना गर्दैछ ।

Read More

आज विश्व रेडियो दिवस मनाइदै

काठमाडौँ । आज विश्व रेडियो दिवस विश्वभर मनाइदैछ । 

हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसंघीय रेडियो स्थापना भएको सम्झनामा मनाउने गरिन्छ । यस बर्षको विश्व रेडियो दिवसको नारा ‘रेडियो र कृत्रिम बुद्धिमत्ता: एआई एउटा उपकरण हो, आवाज होइन’ भन्ने रहेको छ ।

रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । 

नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामाजिक, साँस्कृतिक तथा धार्मिक हिसावले विविधता रहेकाले नेपालमा रेडियोको लोकप्रियता अझै कायमै छ । नेपाली जीवन शैलीको कारणले पनि अन्य सञ्चार माध्यमको तुलनामा रेडियो माध्यम लोकप्रिय र उपयोगी बनेको हो । नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको हो । अहिले पनि रेडियो सबैको पहुँचमा छ । रेडियोले हरेक घटना परिघटनामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोपजस्ता इतिहासका महत्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरूले सूचना सम्प्रेषणमा पुर्याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रूपमा देख्न सकिन्छ । 

पछिल्लो समयमा सामाजिक सञ्जाल र अनलाइन न्युज पोर्टलको विकासले रेडियोको महत्व केही कम भएको छ । रेडियो सुन्ने स्रोताहरु अहिले निकै कम भएका छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशीक बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८२ फागुन १ गते शुक्रबार: आजको राशिफल

आज २०८२ फागुन १ गते शुक्रबार ईस २०२६ फेब्रुअरी १३ नेपाल सम्बत ११४६ सिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, बज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज विश्व रेडियो दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह )
सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कठोर र क्रूर निर्णय लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर÷परिवारमा रमाउने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ ।

Read More