२०८३ बैशाख १३

सिराहाबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

इरानमा सर्वोच्च नेताको काम गर्न बनाइयो तीन जनाको समुह

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु पछि देशको सरकार संचालन गर्न तीन सदस्यीय समुह बनाइएको छ ।

इरानको सरकारी मिडियाका अनुसार इरानमा अब सर्वोच्च नेताको रूपमा अस्थायी रूपमा काम गर्ने तीन सदस्यीय समूह हुनेछ । यस समूहमा राष्ट्रपति मसूज पजाकियान, न्यायपालिका प्रमुख गोलामहोसेन मोहसेनी एजेई र अभिभावक परिषद्का एक कानुनी विज्ञ समावेश छन् ।

नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्ने बताइएको छ ।

Read More

ओलीको भिडियो सन्देश- कित्ता स्पष्ट पार्ने समय आयो, देश बचाउने कि नबचाउने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पुर्व सन्ध्यामा मतदातालाई कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन् ।

आइतबार भिडियो सन्देश जारी गर्दै ओलीले अब राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा वा राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्ष उभिने हो कित्ताकाट गर्ने समय आएको बताएका हुन् ।

उनले भनेका छन्- ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’

ओलीले आफु बारे थुप्रै भ्रम फैलाइएको बताउदै मतदाताका आफूप्रतिका गुनासा र प्रश्न भएको र आफ्ना केही कमजोरी पनि रहेको स्वीकारेका छन् । उनले भनेका छन्- मलाई थाहा छ थुप्रै भ्रम फैलाइएको छ । मप्रति तपाइँका गुनासा र प्रश्न छन् र मेरा केहि कमीकमजोरी पनि होलान, तर तपाईंलाई यो पनि थाहा छ, मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’ 

ओलीले एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको उल्लेख गर्दै ठण्डा दिमागले देश हामीले बचाउने कि नबचाउने ? भन्ने प्रश्न आफैलाई सोध्न आग्रह गरेका छन् ।

ओलीले सन्देशमा आफू बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लडिरहेको बताउदै अब देश पहिला भन्ने समय आएको बताएका छन् । उनले भनेका छन्- ‘अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय, यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’

ओलीले अब आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी र देश कहिल्लै नजल्ने ग्यारेन्टी चाहिएको बताएका छन् ।

Read More

रास्वपा सुर्खेतका कार्यवाहक सभापति र कर्णालीका संस्थापक महामन्त्री कांग्रेसमा प्रवेश

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत तथा कर्णालीका संस्थापक महामन्त्री चन्द्रकला विक पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । 

उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर पार्टीमा स्वागत गरेका हुन् ।

प्रदेशकै महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो क्षति पुगेको विश्लेषण गरिएको छ ।  

Read More

नेता पूर्ण बहादुर खड्काले मागे काँग्रेसका लागि मत

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले अन्ततः प्रतिनिधि सभा निर्वाचनका लागि मत मागेका छन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि निष्क्रिय रहेका पूर्व कार्यवाहक सभापति खड्काले अब पार्टीका समर्थकलाई मतदान गर्न अपिल गरेका हुन् ।

फागुन २१ गते प्रतिनिधि सभाका २७५ सिटका लागि हुन लागेको मतदानमा नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’ मा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा आफ्नो बहुमूल्य मत दिन आग्रह गरेका छन् ।

खड्काले भनेका छन्- ‘यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन त्यसको कारण मैले माघ ६ गतेको दिन सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु । फागुन २१ गते बिहान ७ बजे देखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मत पत्रमा हाम्रो पार्टी नेपाली काँग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमामोहर लगाइ भारि बहुमतका साथ विजयी गराइ दिुनु हुन हृदयदेखिनै हार्दिक बिनम्र अनुरोध गर्दछु ।’

Read More

अमेरिकाका सहयोगी देशमा आक्रमण नगर्न इरानलाई ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिका तथा उसका सहयोगी देशहरूमाथि आक्रमण नगर्न कडा चेतावनी दिएका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले आजसम्मकै शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको उल्लेख गर्दै इरानले यदि अमेरिका वा इजरायलमाथि हमला गरे त्यसको जवाफमा अहिलेसम्म कहिल्यै नदेखिएको शक्तिशाली सैन्य कारबाही गरिने चेतावनी दिएका हुन् ।

ट्रम्पले इरानलाई प्रतिकारात्मक कदम नचाल्न आग्रह गर्दै आक्रमण भए कडा प्रतिक्रिया दिइने स्पष्ट पारेका छन् । उनले भनेका छन्- ‘इरानले भर्खरै भनेको छ, उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै प्रहार नगरेको भन्दा कडा । यद्यपि, उनीहरूले त्यसो नगरेकै राम्रो, किनकि यदि उनीहरूले त्यसो गरे भने, हामी उनीहरूलाई यस्तो बलले प्रहार गर्नेछौं, जुन पहिले कहिल्यै देखिएको थिएन !’

शनिबारदेखि अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानमा सर्वोच्च नेता आयोतुल्लाह खामेनीसहित शिर्ष  ४० वरिष्ठ अधिकारी मारिएको दाबी गरिएको छ । आफ्ना सर्वोच्च नेता मारिएपछि इरानले जवाफी कारवाही गर्दै मध्यपुर्वका ९ देशमा आक्रमण गरिरहेको छ । 

Read More

पर्सा ४ ले चाहेरै म चुनावी मैदानमा उत्रेको हुँ, मेरो विश्वास जनतामा छ: रमेश रिजाल (अन्तर्वार्ता)

पर्सा। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दल र उम्मेदवारहरू घरदैलो, टोलसभा र प्रत्यक्ष भेटघाटमार्फत मतदातासँग संवादमा अहिले व्यस्त छन्।

यसै सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट पर्सा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश रिजालसँग गरिएको कुराकानी प्रस्तुत छ ।

निर्वाचन प्रचार-प्रसार कस्तो भइरहेको छ ?
घरदैलो अभियान अत्यन्त उत्साहजनक ढंगले अघि बढिरहेको छ। टोल-टोलमा पुगेर जनताका समस्या सुन्दैछु, सुझाव लिँदैछु। पर्सा ४ ले चाहेरै म चुनावी मैदानमा उत्रिएको हुँ। यहाँका नागरिकको आग्रह, विश्वास र अपेक्षाले नै मलाई पुनः उम्मेदवार बनाएको हो । जनताको साथ र माया देख्दा म अत्यन्त उत्साहित छु। चुनावी परिणाम पनि पर्सा ४ को चाहना अनुसार आउनेछ भन्नेमा म स्पष्ट छु।

घरदैलोमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
अधिकांश स्थानमा सकारात्मक प्रतिक्रिया पाएको छु। युवा, महिला, किसान, व्यवसायी-सबैले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका विषय उठाइरहनुभएको छ। म सधैं भन्छु, चुनाव भनेको केवल मत माग्ने प्रक्रिया होइन, विश्वासको नवीकरण हो। घरदैलोमा देखिएको आत्मीयता र भरोसाले मलाई थप जिम्मेवार बनाएको छ।

पर्सा ४ मा तपाईंको सक्रियतामा भएको विकासबारे के भन्नुहुन्छ?
पर्सा ४ मा सडक स्तरोन्नति, सामुदायिक भवन, शिक्षा र स्वास्थ्य क्षेत्रका संरचना विस्तार, साना पूर्वाधार निर्माणजस्ता कामहरू भएका छन्। यी कामहरू कागजमा होइन, प्रत्यक्ष देखिने काम हुन्। पर्सा जिल्ला जस्तो व्यापारिक र सामाजिक रूपमा संवेदनशील क्षेत्रमा विकासको अनुभूति महत्वपूर्ण हुन्छ। मैले सधैं स्थानीय आवश्यकता बुझेर प्राथमिकताका आधारमा काम गर्ने प्रयास गरेको छु।

उद्योग मन्त्रीका रूपमा ११ महिनाको अनुभव कत्तिको उपयोगी रह्यो?
मैले नेपाल सरकार अन्तर्गत उद्योग मन्त्रीको रूपमा करिब ११ महिना काम गर्ने अवसर पाएँ। त्यो छोटो समय भए पनि उद्योग प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र साना तथा मझौला उद्योगलाई सहजीकरण गर्ने नीतिगत पहलहरू अघि बढाइयो। विशेषगरी वीरगञ्ज जस्तो औद्योगिक केन्द्र नजिक रहेको क्षेत्रका लागि उद्योगसम्बन्धी अनुभव महत्त्वपूर्ण हुन्छ। उद्योग, रोजगारी र आर्थिक गतिविधि सशक्त भए मात्रै क्षेत्रको समग्र विकास सम्भव हुन्छ भन्ने मेरो विश्वास छ।

प्रतिष्पर्धालाई कसरी लिनुहुन्छ?
चुनाव लोकतान्त्रिक अभ्यास हो। सबै प्रतिस्पर्धीहरू सम्मानका पात्र हुन्। म कसैलाई पनि कम ठान्दिन, आ-आफ्नो ठाँउमा सबै राम्रो हुनुहुन्छ । तर मेरो मुख्य ध्यान भनेको अरूलाई हेर्नेभन्दा पनि आफ्ना एजेन्डा स्पष्ट रूपमा जनतामाझ राख्नेमा छ। कसले निरन्तर काम गर्‍यो, कसलाई चुनावमा मात्र देखियो भन्ने मूल्याङ्कन जनताले मतदाताहरु आफैले गर्नुहुन्छ।

तपाईं आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ?
मेरो विश्वास जनतामा छ। चुनाव परिणाम कसरी आउँछ भन्ने अन्तिम निर्णय मतदाताको हातमा हुन्छ। तर घरदैलोमा देखिएको उत्साह, पर्सा ४ मा भएका विकासका काम र मेरो निरन्तर सक्रियताले सकारात्मक सन्देश दिएको महसुस गरेको छु। म पर्सा ४ को चाहना पुरा हुने गरी परिणाम आउनेछ भन्नेमा स्पष्ट छु।

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ?
पर्सा ४ का सम्पूर्ण दाजुभाइ-दिदीबहिनीलाई म यही भन्न चाहन्छु कि, यो चुनाव व्यक्तिगत महत्वाकांक्षाको होइन, क्षेत्रको भविष्यको हो। विकास, स्थायित्व र विश्वासको निरन्तरताका लागि तपाईंहरूको अमूल्य मत आवश्यक छ। म रमेश रिजाल सधैं झैँ तपाईंहरू प्रति प्रतिबद्ध छु । निर्णय तपाईंहरूको हातमा छ ।

Read More

मतदानको दिन यी सवारीसाधनलाई आवश्यक पर्दैन पास

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान हुने दिन फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन निर्वाचन आयोगले विशेष व्यवस्था लागू गरेको छ ।

आयोगले सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि २०८२ अनुसार नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ । तर ती सवारीसाधनले सम्बन्धित सेवा बाहेक अन्य यात्रु बोक्न भने नपाउने स्पष्ट गरिएको छ ।

पास आवश्यक नपर्ने सवारीसाधनमा दमकल, एम्बुलेन्स र शववाहन समावेश छन् । त्यस्तै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधन पनि यस व्यवस्थामा पर्नेछन् ।

दूरसञ्चार, खानेपानी, विद्युत तथा ढल मर्मत कार्यमा प्रयोग हुने सवारीसाधन, अस्पताल सेवा अन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावतका सवारीसाधनलाई पनि पास नचाहिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधनले विमानस्थलदेखि घर वा होटलसम्म तथा घर वा होटलदेखि विमानस्थलसम्म आवतजावत गर्दा पनि पास लिनु नपर्ने जनाइएको छ ।

यसैगरी हिँडडुल गर्न नसक्ने गर्भवती तथा सुत्केरी महिला, शिशु बोकेकी आमा, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्न असमर्थ ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूको एक जना सहयोगी बोकेको सवारीसाधनलाई पनि छुट दिइएको छ ।

नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, निर्वाचन पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास प्राप्त सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन पनि पासबिनै सञ्चालन गर्न पाइनेछ ।

यसैबीच निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ । उक्त डेस्कबाट काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि आवश्यक सवारी पास जारी गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

Read More

सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४५ रुपैयाँले बढेर तोलाको ५९८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५७४० मा कारोबार भएको थियो ।

Read More

कतारको राजधानी दोहामा ११ शक्तिशाली विस्फोट

काठमाडौँ । कतारको राजधानी दोहामा लगातार शक्तिशाली विस्फोटको आवाज सुनिएको छ ।

स्थानीयका अनुसार सहरका विभिन्न क्षेत्रमा कम्तीमा ११ वटा विस्फोट भएका छन् । ती विस्फोटको कारण र क्षतिको विवरण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यस अघि कतारले इरानको आक्रमणबाट १६ जना घाइते भएको बताएको थियो । 

यसैबीच इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोरले अमेरिका र इजरायलको आक्रमणको जवाफस्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाइएको जनाएको छ । इरानी सेनाका अनुसार क्षेत्रभर रहेका २७ अमेरिकी ठिकानामाथि मिसाइल तथा ड्रोनमार्फत व्यापक आक्रमण भइरहेको छ ।

इरानी पक्षले इजरायलस्थित तेल नोफ हवाई अड्डा, इजरायली सेनाको मुख्यालय तथा रक्षा उद्योगसम्बन्धी संरचनालाई समेत निशाना बनाइएको दाबी गरेको छ । घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ ।

Read More