२०८३ बैशाख १३

सुपर खुदी हाइड्रोको आइपिओको बाँडफाँड आज हुदै

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज बिहान साढे ८ बजे आइपिओ बाँडफाँड हुने भएको हो । 

कम्पनीले फागुन ५ गतेदेखि ११ गते सम्म खोलेको आवेदनमा २७ लाख ६ हजार ८७९ जना लगानीकर्ताले तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यो आइपिओ एक लाख २८ हजार ६५० लगानीकर्तालाई १०-१० कित्ताका दरले पर्ने छ भने बाँकीको हात खाली हुने छ ।

Read More

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु- इरानी मिडिया

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको छ ।

इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएका हुन् । यद्यपी इरान सरकारले औपचारिक रुपमा यसको जानकारी दिएको छैन । इरानको प्रेस टिभीले खामेनी अमेरिका र इजरायलको आक्रमणमा शहिद भएको उल्लेख गरेको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।

त्यस्तै इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए ।  

Read More

टी-२० विश्वकपको सुपर आठका अन्तिम दुई खेल आज हुदै

काठमाडौं । आज जारी आइसीसी टी-२० विश्वकपको सुपर आठका अन्तिम दुई खेल हुदैछन् । सुपर आठको समुह १ का दक्षिण अफ्रिका र जिम्बाबे तथा भारत र वेस्ट इन्डिजबीच आज खेल हुदैछ ।

आज पहिलो खेल भारतको दिल्लीमा दक्षिण अफ्रिका र जिम्बाबेबीच नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुदैछ । दक्षिण अफ्रीका यस समुहबाट सेमिफाइनलमा पुगिसकेको छ भने जिम्बाबे सेमिफाइनलको दौडबाट बाहिरिइसकेकोले यस खेलको नतिजाले कुनै प्रभाव भने पार्ने छैन ।

त्यस्तै दोस्रो खेल यसै समुहका भारत र वेस्ट इन्डिजबीच भारको कोलकोताको इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि हुनेछ ।

यो खेल दुवै देशका लागि जित्नै पर्ने अवस्था रहेको छ । दुवैले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् र रनरेटको आधारमा वेस्ट इन्डिज दोस्रो स्थानमा रहेको छ । वर्षाले खेल हुन नसके वा अन्य कारणले खेल रद्ध भएर अंक बाड्नुपर्ने अवस्था आएमा वेस्ट इन्डिज सेमिफाइनलमा पुग्ने छ भने भारतका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

Read More

इरानद्वारा विश्वभर तेल र ग्यास आपूर्तिको मुख्य मार्ग होर्मुज बन्द

काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने होर्मुज जलडमरु मध्य बन्द गरेको घोषणा गरेको छ ।

इरानको रिभोल्युशनरी गार्ड्सले खाडी क्षेत्रमा सञ्चालनमा रहेका जहाजहरूलाई उच्च आवृत्तिको रेडियो सन्देश पठाउँदै उक्त समुद्री मार्ग प्रयोग नगर्न चेतावनी दिएको जनाएको छ ।

होर्मुज जलडमरु मध्यलाई विश्वभर तेल र ग्यास आपूर्तिको मुख्य मार्गका रूपमा लिइन्छ । यो साँघुरो समुद्री बाटोले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्ने काम गर्छ ।

यस जलमार्गको उत्तरतर्फ इरान रहेको छ भने दक्षिणतर्फ ओमान र संयुक्त अरब इमिरेट्स रहेका छन् । वरिपरि प्रमुख तेल उत्पादक देशहरू रहेकाले विश्वका धेरै देशमा जाने तेल आपूर्ति यही मार्गबाट हुने गर्दछ ।

करिब १६७ किलोमिटर लामो रहेको होर्मुज जलडमरु मध्यका दुवै प्रवेशद्वार झण्डै ५० किलोमिटर चौडा छन् भने सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर मात्रै रहेको छ । जहाज आवतजावतका लागि करिब ३ किलोमिटर चौडाइको निश्चित समुद्री मार्ग तय गरिएको छ ।

इरानको यस निर्णयपछि अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री व्यापारमा असर पर्ने देखिएको छ ।

Read More

समाचार विश्लेषण: कुलमानको उज्यालो चिम चुनावमा कति चम्केला ?

काठमाडौँ । नेपाललाई दशकौँ लामो अन्धकारबाट बाहिर निकालेर ‘लोडसेडिङ मुक्त गर्ने नायक’ को छवि बनाएका कुलमान घिसिङ अहिले राजनीतिको एउटा नयाँ र पेचिलो मोडमा उभिएका छन् ।

हिजोका ‘विद्युत् व्यवस्थापनका कुशल कमाण्डर’ आज एउटा ‘राजनीतिक खेलाडी’ को रूपमा उत्रिएका छन्, जहाँको मैदान र नियमहरू उनले सम्हालेको प्राधिकरणको भन्दा सर्वथा भिन्न छन् । सफलताको शिखरबाट राजनीतिको अनिश्चित गोरेटोमा उनको यो छलाङले के प्रशासनिक क्षेत्रको नायकत्वले राजनीतिको सामूहिक र जटिल धरातलमा पनि उस्तै जादु देखाउन सक्ला ? भन्ने प्रश्न उठाएको छ ।  

कुलमानले आफ्नो राजनीतिक अस्तित्वलाई ‘उज्यालो नेपाल पार्टी’ मार्फत संस्थागत गर्ने प्रयास गरेका छन् । उनले प्रत्यक्षतर्फ आफ्नै दलको चुनाव चिन्ह ‘चिम’ रोजेर चुनावी मैदानमा आफ्नो व्यक्तिगत प्रभाव परीक्षण गरिरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको असफल सहकार्यपछि आफ्नो दलको समानुपातिक उम्मेदवारी नै दर्ता गर्न नपाएपछि कुलमानले राष्ट्रिय परिवर्तन पार्टी’ सँग सहकार्य गर्दै समानुपातिकतर्फ भने ‘बाँसुरी’ चिन्हमा चुनावी मैदानमा रहेका छन् ।

कुलमानको राजनीतिक यात्राको सबैभन्दा ठूलो धक्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहसँगको सहकार्यमा देखियो । चुनावको मुखैमा भएको यो सहकार्य मात्र १२ दिनमा टुंगिनुले उनको राजनीतिक यात्रामा ठूलो धक्का लागेको छ । यो असफल सहकार्यले उनको राजनीतिक अपरिपक्वता र स्थिरतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । यो संक्षिप्त सहकार्यको असफलताले चुनाव अगाडि नै उनको ‘राजनीतिक अजयता’ को भ्रमलाई मात्र तोडेन, बरु उनलाई एउटा अस्थिर राजनीतिक पात्रको रूपमा चित्रित गरिदियो । निर्वाचनको संघारमा भएको यो घटनालाई उनले राजनीतिक विश्वासघात भनेका छन् र मतदातामाझ यहि कुरालाई बुझाउने प्रयास गरिरहेका छन् । 

राजनीतिको अनिश्चितताका बीच पनि कुलमानसँग यस्ता केही ‘पूँजी’ छन्, जसले उनलाई अन्य परम्परागत नेताहरू भन्दा भिन्न देखाउँछन् । देशलाई कहालीलाग्दो अन्धकारबाट मुक्त गराएको उनको योगदान नै उनको राजनीतिको मुख्य जग हो । उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको रूपमा काम गर्दा उनले कुनै पनि सरकारी योजनालाई परिणाममुखी बनाउन सक्ने आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । अनुभवी राजनीतिक नेतृत्वको संगतमा रहेर उनले सत्ता र शक्तिका दाउपेचहरू नजिकबाट बुझेका छन्, जसले उनलाई राजनीतिको जटिलता बुझ्न मद्दत गरेको छ । उनी केवल भाषणमा मात्र सीमित नभई ठोस भौतिक पूर्वाधार र विकासको एजेन्डामा केन्द्रित देखिन्छन् ।

यसका बाबजुत पनि कुलमानका अगाडी उनकै केहि शैली र काम गर्ने तरिका बाधक बन्ने देखिएको छ ।  कुलमानको व्यक्तित्व जति उज्यालो छ, त्यसको अर्को पाटो उत्तिकै चुनौतीपूर्ण देखिन्छ । विश्लेषकहरूका अनुसार उनीमा ‘आफू बाहेक अरुले परिवर्तन ल्याउन सक्दैनन्’ भन्ने खालको चरम व्यक्तिवादी सोच हावी छ । उनी टोलीमा काम गर्न त रुचाउँछन्, तर त्यहाँको नेतृत्व सधैं आफ्नै हुनुपर्ने अडानले गर्दा नै बालेन र रास्वपासँगको १२ दिने सहकार्य दुर्घटनामा परेको देखिन्छ ।

सिमित घेरामा रमाउने उनको स्वभाव र पदप्रतिको उच्च महत्वाकांक्षाले उनलाई सामूहिक नेतृत्वको अभ्यासमा कमजोर बनाएको छ । अझ, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री हुँदा उनको ‘विवादित र शंकास्पद भूमिका’ ले उनको स्वच्छ छविमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ, जुन उनको राजनीतिक भविष्यका लागि एउटा ठूलो अवरोध बन्न सक्छ ।

कुलमान घिसिङले प्रशासनिक क्षेत्रमा जति सहजै जनलहर प्राप्त गरे, राजनीतिक मैदानमा भने उनी त्यस्तो प्रभावकारी ‘माहोल’ बनाउन असफल देखिएका छन् । १२ दिनमै सहकार्य तोडिनु र व्यक्तिवादी सोचका कारण उनको चुनावी अभियानलाई केही अलमलमा पारेको देखिन्छ । हिजो लोडसेडिङ अन्त्य गर्दा चम्किएको उनको ‘चिम’ राजनीतिको यो चुनावी भुमरीमा उत्तिकै चम्किने हो वा निभ्ने हो, त्यो प्रतिक्षाको विषय छ ।

अन्त्यमा, कुलमानको यो प्रशासनबाट राजनीतिमा आएको छलाङले के प्रशासनिक क्षेत्रमा सफल व्यक्ति राजनीतिको चुनौतीपूर्ण र सामूहिक नेतृत्व चाहिने मैदानमा उत्तिकै सफल हुन सक्लान् ? यसको उत्तर केवल मतदाताको विवेक र समयको गर्भमा लुकेको छ ।

Read More

खामेनी मारिएको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनी इतिहासका सबैभन्दा कठोर व्यक्तिमध्ये एक रहेको उल्लेख गर्दै उनको मृत्यु इरानी जनता, अमेरिका तथा विश्वका लागि न्याय भएको बताएका छन् । यसअघि इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा खामेनेईको निवास पूर्ण रूपमा ध्वस्त पारिएको जनाइएको छ ।

तर इरान सरकारले भने खामेनीको मृत्यु सम्बन्धी समाचार असत्य रहेको जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले सर्वोच्च नेता जीवित रहेको र उनलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

आक्रमणका क्रममा खामेनीका ज्वाइँ र बुहारीको मृत्यु भएको दाबी पनि सार्वजनिक भएको छ । तेहरान सहर परिषद्का एक सदस्यले उनीहरूको ज्यान गएको बताएका छन्, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन । अमेरिका वा इजरायलले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

शनिबार राति तेहरान र आसपासका क्षेत्रमा लगातार विस्फोट भएका थिए । इरानी सरकारी सञ्चारमाध्यमले राजधानीका विभिन्न स्थानमा आक्रमण भएको पुष्टि गरेका छन् । इरानको रेड क्रिसेन्ट संस्थाका अनुसार हालसम्म भएका आक्रमणमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने सात सय चालीसभन्दा बढी घाइते भएका छन् ।

एक विद्यालयमा क्षेप्यास्त्र खस्दा ८५ छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको जानकारी पनि सार्वजनिक भएको छ । अमेरिका र इजरायलले इरानका कम्तीमा दस ठूला सहरलाई निशाना बनाएको बताइएको छ ।

यसको जवाफस्वरूप इरानले पनि ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । इरानले इजरायलसहित मध्यपूर्वका नौ देशलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरिएको छ । इजरायलतर्फ करिब चार सय क्षेप्यास्त्र प्रहार गरिएको तथा कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाइएको जनाइएको छ ।

इरानले संयुक्त अरब इमिरेट्सको दुबई सहरमा समेत ड्रोन आक्रमण गरेको दाबी गरिएको छ । दुबईस्थित पाम होटल तथा बुर्ज खलिफा आसपास क्षेत्रमा आक्रमण भएको उल्लेख गरिएको छ भने बहराइनका केही आवासीय भवन पनि प्रभावित भएको खबर आएको छ ।

हाल क्षेत्रीय तनाव अत्यन्त बढेको छ र अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

Read More

लामिन यमलको ह्याट्रिकमा बार्सिलोना विजयी

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमलले ह्याट्रिक गरेका थिए । यो यमलको पहिलो ह्याट्रिक हो । त्यस्तै एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ला लिगामा २६ खेलमा ६४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ ।

त्यस्तै भिल्ला रियलको २६ खेलमा ५१ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Read More