२०८३ बैशाख १३

इलाम- १ मा काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिष्पर्धा

काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिष्पर्धा जारी रहेको छ । 

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५० हजार ५०४ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले ११ हजार १६५ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ३४० मतले अगाडी रहेका छन् ।  लिम्बुले १० हजार ८२५ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले १० हजार २३७ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ५ हजार २४१ मत प्राप्त गरेका छन् ।

Read More

मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ । ईरानी सरकारी टेलिभिजनले सोमबार बिहान यसबारे औपचारिक जानकारी दिएको हो ।

अयातुल्ला अली खामेनीको हत्या भएपछि सुरु भएको तनाव र युद्धको अवस्थाबीच यस्तो निर्णय गरिएको जनाइएको छ । मोज्तबा खामेनीलाई लामो समयदेखि सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो । उल्लेखनीय कुरा के भने उनले यसअघि कुनै सरकारी पदका लागि चुनाव लडेका थिएनन् र कुनै औपचारिक पदमा नियुक्त पनि भएका थिएनन् ।

ईरानको ८८ सदस्यीय धार्मिक विशेषज्ञ सभाले मोज्तबालाई नयाँ सर्वोच्च नेता चयन गरेको हो । उक्त सभा धार्मिक विद्वानहरूको समूह हो, जसले देशको सर्वोच्च नेता छनोट गर्ने अधिकार राख्छ । सरकारी टेलिभिजनले सार्वजनिक गरेको वक्तव्यमा उनलाई बलियो समर्थनका आधारमा चयन गरिएको उल्लेख गर्दै देशवासीलाई उनको नेतृत्वमा एकजुट हुन आग्रह गरिएको छ ।

इस्लामी क्रान्तिपछि करिब आधा शताब्दीमा सर्वोच्च नेताको पदमा सत्ता हस्तान्तरण भएको यो दोस्रो पटक हो । केही दिनदेखि सार्वजनिक रूपमा नदेखिएका मोज्तबा अब ईरानको सत्ता संरचनाको केन्द्रमा रहनेछन् । उनी देशका महत्वपूर्ण निर्णय गर्ने अन्तिम अधिकारसहित सेना र शक्तिशाली अर्धसैनिक संगठन रिभोल्युसनरी गार्डका सर्वोच्च कमाण्डर पनि हुनेछन् ।

यद्यपि उनको नेतृत्वलाई अमेरिकाको विरोध सामना गर्नुपर्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि खामेनीका छोरालाई आफूले स्वीकार नगर्ने टिप्पणी गरेका थिए । उनले ईरानमा शान्ति र सहकार्य ल्याउने नेतृत्व आवश्यक रहेको बताएका थिए ।

यसबीच ईरानको रिभोल्युसनरी गार्डले मोज्तबा खामेनीलाई समर्थन गर्ने घोषणा गरेको छ भने ईरान समर्थित लेबनानी संगठन हिजबुल्लाहले पनि उनको तस्बिर सार्वजनिक गर्दै इस्लामी क्रान्तिको नेतृत्वको रूपमा समर्थन जनाएको छ ।

Read More

समानुपातिकतर्फ ७७ लाख मत गणना, कुन दलले कति पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७७ लाख ३ हजार १६ मत गणना भएको छ ।

जसमा रास्वपाले ३७ लाख २५ हजार ८३४ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४  प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ लाख ५६ हजार २१ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १० लाख ६४ हजार ७१८ अर्थात् १३.८ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४६ हजार १९८ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ६२ हजार ७३ मत पाएको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीले २ लाख ५२ हजार ७४० मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ४ हजार ८७० मत प्राप्त भएको छ । 

Read More

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ गराइदै

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यलाई आज शपथ गराइने भएको छ ।

संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

नेपालको संविधानको व्यवस्था अनुसार २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई आज शपथ गराइनेछ। कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना हुने जनाइएको छ ।

नवनिर्वाचित सदस्यलाई शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ । साथै उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सोको एक प्रति संघीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

विजयी सांसदहरु को को छन्:
राष्ट्रिय सभाका रिक्त १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जना निर्वाचनबाट विजयी भएका थिए ।

जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।

Read More