२०८३ बैशाख १३

राप्रपाका प्रवक्ता भन्छन्- जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले हालको जनमतले पार्टीलाई आफ्ना मुद्दा र एजेन्डाबारे पुनर्विचार गर्न स्पष्ट संकेत दिएको बताएका छन् ।

उनले ताजा जनादेशले ‘आफ्ना एजेन्डामा फेरि सोच्न आवश्यक छ’ भन्ने सन्देश दिएको उल्लेख गरेका छन् ।

श्रेष्ठका अनुसार राप्रपाले चुनावमा प्रयास नगरेको भने होइन । उनले पार्टीको नेतृत्व भ्रष्ट वा खराब नभएको र जनहितविपरीतका काम पनि नगरेको दाबी गरेका छन् ।

यति हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो मत प्राप्त हुन नसकेको भन्दै उनले यसलाई गम्भीर रूपमा लिएर आगामी दिनमा पार्टीले आफ्नो नीति र एजेन्डाबारे पुनः समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Read More

हार र जितभन्दा माथि उठेको जनताको विश्वास

एलिसा ढकाल
काठमाडौँ । लोकतान्त्रिक यात्रामा चुनाव केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, जनताको आशा, अपेक्षा र भविष्यप्रतिको विश्वासको अभिव्यक्ति पनि हो। प्रत्येक चुनावसँगै देशभरि हजारौँ उम्मेदवारहरू जनताको घरदैलोमा पुग्छन् । कसैले आशा बोकेर, कसैले सपना बोकेर, र कसैले परिवर्तनको प्रतिबद्धता बोकेर। तर परिणाम आउँदा कसैले जितको मुस्कान पाउँछन् भने कसैले हारको पीडा ।

सबैभन्दा पहिले, चुनावमा पराजित भएका उम्मेदवारहरूलाई एउटा सन्देश: निराश नहुनुहोस् । लोकतन्त्रमा हार अन्त्य होइन, बरु नयाँ यात्राको सुरुवात हो। जनताले दिएको मत परिणाम मात्र होइन, एउटा संकेत पनि हो। कहिलेकाहीँ अझ बढी मेहनत गर्नुपर्ने, कहिलेकाहीँ अझ नजिक पुगेर जनताको भावना बुझ्नुपर्ने। धेरै ठूला नेताहरूले आफ्नो राजनीतिक जीवनमा हारको स्वाद चाखेका छन्, तर त्यही हारले उनीहरूलाई अझ परिपक्व बनाएको इतिहास साक्षी छ ।

जनताको मन जित्ने यात्रा एउटै चुनावमा समाप्त हुँदैन। जनताको बीचमा बस्ने, जनताको पीडा सुन्ने, र सच्चा सेवक बनेर काम गर्नेहरूलाई जनताले कुनै न कुनै दिन अवश्य पनि सम्झन्छन्। त्यसैले हारलाई निराशाको कारण होइन, आत्ममूल्यांकन र पुनः उठ्ने अवसरको रूपमा लिनु आज आवश्यक छ ।

त्यसैगरी, चुनावमा विजयी भएका उम्मेदवारहरूका लागि यो जित केवल उत्सव मनाउने क्षण मात्र होइन। यो ठूलो जिम्मेवारीको सुरुवात हो। जनताले दिएको मत केवल समर्थन होइन, एउटा भरोसा हो। त्यो भरोसाले भन्छ: “अब तपाईं हाम्रो आवाज बन्नुहोस्, हाम्रो समस्या बुझ्नुहोस्, र हाम्रो भविष्यको लागि काम गर्नुहोस्।”

जितेका उम्मेदवारले सबैभन्दा पहिले सम्झनुपर्ने कुरा के हो भने, चुनाव जितेपछि उनीहरु केवल आफ्नो समर्थकको प्रतिनिधि मात्र रहँदैनन्, उनीहरु सम्पूर्ण क्षेत्र, सम्पूर्ण नागरिकका प्रतिनिधि बन्छन्। उनीहरूका पनि जसले मत दिए र उनीहरूका पनि जसले मत दिएनन्।

आज देशका नागरिकहरू राजनीतिक नाराभन्दा धेरै कामको अपेक्षा गरिरहेका छन्। उनीहरू सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनको सपना देखिरहेका छन्। उनीहरूलाई भाषणभन्दा परिणाम चाहिएको छ। त्यसैले विजयी भएका नेताहरूले अब आफ्नो समय आरोप प्रत्यारोपमा होइन, काममा खर्च गर्नुपर्छ ।

देश अहिले अनेक चुनौतीको मोडमा उभिएको छ। युवा पलायन, आर्थिक अस्थिरता, भ्रष्टाचारप्रतिको जनआक्रोश र विकासको सुस्त गति। यस्तो अवस्थामा राजनीतिक नेतृत्वले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितलाई प्राथमिकता दिनु निक्कै जरुरी छ। पराजित र विजयी भएका दुवै पक्षले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन, लोकतन्त्रको असली शक्ति जनतामा हुन्छ। चुनावको दिन जनताले मत हालेर केवल सरकार मात्र बनाउँदैनन्, उनीहरूले आफ्नो विश्वास पनि सुम्पिन्छन्। त्यो विश्वास जित्नु जति गाह्रो हुन्छ, त्यसलाई जोगाइराख्नु अझ गाह्रो हुन्छ।

आजको आवश्यकता प्रतिशोधको राजनीति होइन, सहकार्यको राजनीति हो। आवश्यकता एकअर्कालाई हराउने खेल होइन, देशलाई जिताउने प्रयास हो। यदि सबै राजनीतिक शक्तिहरूले यही भावना लिएर अघि बढे भने, चुनावको परिणाम केवल सत्ता परिवर्तनमा सीमित रहने छैन। त्यो देशको भविष्य परिवर्तन गर्ने आधार बन्न सक्छ।

अन्ततः, चुनावले कसैलाई जिताउँछ, कसैलाई हाराउँछ। तर लोकतन्त्र तब मात्र सफल हुन्छ जब हार्नेले धैर्य राख्छन् र जित्नेले नम्रता। जनताको विश्वासलाई अझ मजबुत बनाउँदै, जिम्मेवारी र प्रतिबद्धतासहित अघि बढ्नु नै आजको आवश्यकता हो ।

Read More

चर्चित गायिका रिहानाको घरबाहिर गोली प्रहार, एक महिला पक्राउ

काठमाडौँ । विश्व चर्चित गायिका रिहानाको घरबाहिर गोली प्रहार भएको घटना सार्वजनिक भएको छ। घटनामा कसैलाई पनि चोटपटक लागेको छैन । गोली चलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकाको लस एन्जलस सहरको प्रहरीका अनुसार आइतबार रिहानाको घर नजिक गोली चलेको थियो।  घटनाका क्रममा पाँचदेखि सात पटकसम्म गोली प्रहार गरिएको बताइएको छ । गोली घरको मूल ढोकामा लागे पनि घरभित्र प्रवेश नगरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना हुँदा घरभित्र मानिसहरू उपस्थित थिए, तर कसैलाई पनि चोटपटक लागेको छैन । घटनामा संलग्न रहेको आशंकामा करिब ३० वर्षकी एक महिलालाई पक्राउ गरिएको छ ।

गोली चलेपछि प्रहरीले एउटा सवारी साधनलाई पछ्याएको थियो । उक्त सवारी सेतो रङको विद्युतीय गाडी रहेको बताइएको छ । पछि नजिकैको स्थानमा उक्त गाडी भेटिएपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको हो । घटनाको कारण र पक्राउ परेकी महिलाको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन ।

समाचार अनुसार ३८ वर्षीया रिहाना आफ्ना साथी तथा एक प्रसिद्ध गीत गायक र आफ्ना तीन सन्तानसँग अमेरिकाको बेभर्ली हिल्स नामक स्थानमा रहेको घरमा बस्दै आएकी छन् । यस घटनाबारे रिहानाका प्रतिनिधिहरूले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

रिहाना विश्वभर निकै चर्चित गायिकामध्ये एक मानिन्छिन् । गायनसँगै उनले सौन्दर्य सामग्री र पहिरनसम्बन्धी विभिन्न व्यापार पनि सञ्चालन गर्दै आएकी छन् ।

Read More

गोकुल बास्कोटाको पार्टी नेतृत्व समयसँगै परिवर्तन नभए ‘डाइनोसर’ बन्ने चेतावनी

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले पार्टी जीवनका उकाली-ओरालीलाई सम्झेर समीक्षा गर्न तयार भए पुनर्विचार, पुनर्संरचना र सुधार स्वाभाविक रूपमा हुने उल्लेख गरेका छन् ।

उनले विगतमा पार्टी संरचनामा विभिन्न प्रयोग गरिएको स्मरण गर्दै लोकप्रियताको अर्थ सबैको प्रिय हुनु नभई केही नेताको मात्र प्रिय बन्ने अवस्थासमेत देखिएको संकेत गरेका छन् । उनले भनेका छन्- ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ । पिरामिड थियो, फुलि थप्न सोली बनायौ ।’

समयअनुसार सुधार नगरे भविष्यमा राजनीतिक रूपमा ‘डाइनोसर’ जस्तै अप्रासंगिक बन्ने खतरा हुन सक्ने उनले चेतावनी समेत दिएका छन् । बास्कोटाले परिवर्तन र आत्मसमीक्षामार्फत पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने संकेत गरेका छन् ।

भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमालेको लज्जास्पद हारपछि एमाले नेतृत्वले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला बास्कोटाले यस्तो टिप्पणी गरेका छन् ।

Read More

समानुपातिकतर्फ श्रम संस्कृतिले राप्रपालाई उछिन्यो

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

त्यस्तै पहिलो पटक चुनावी मैदानमा रहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ राप्रपालाई उछिनेको छ ।

पछिल्लो मत गणना अपडेट अनुसार ८१ लाख मत गणना हुदा श्रम संस्कृतिको २ लाख ८४ हजार ५३५ मत रहेको छ भने राप्रपाको २ लाख ७१ हजार ८९६ मत रहेको छ ।     

त्यस्तै रास्वपाले ३९ लाख १४ हजार २६५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.२ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १३ लाख १९ हजार ६१२ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले ११ लाख १९ हजार ४०३ अर्थात् १३.८ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७५ हजार ८३७ मत प्राप्त गरेको छ  ।

त्यसैगरी उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख १३ हजार ६४६ मत प्राप्त भएको छ ।

त्यसैगरी कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।

Read More

इरानी आक्रमणमा घाइते अमेरिकी सैनिकको मृत्यु

काठमाडौँ । मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा ईरानले गरेको आक्रमणमा घाइते भएका थप एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले उक्त जानकारी दिएको हो ।

उक्त आक्रमणमा घाइते भएका सैनिकको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि अहिलेसम्म सात जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् ।

Read More

युट्युबले फेरि सन्देश पठाउने सुविधा ल्याउदै

काठमाडौँ । विश्वका ठूला भिडियो प्लेटफर्ममध्ये एक युट्युबले फेरि प्रत्यक्ष सन्देश पठाउने सुविधाको परीक्षण सुरु गरेको छ ।

विभिन्न प्रतिवेदनका अनुसार केही सीमित प्रयोगकर्ताले एपभित्र नयाँ सन्देश प्रणाली देख्न थालेका छन्, जसबाट उनीहरूले सिधै अन्य प्रयोगकर्तालाई सन्देश पठाउन र भिडियो साझा गर्न सक्छन् । यो सुविधा हाल सीमित स्तरमा परीक्षण भइरहेको छ र सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन ।

यसअघि पनि युट्युबले आफ्ना प्रयोगकर्तालाई निजी रूपमा भिडियो साझा गर्न र साना सन्देश पठाउन मिल्ने सुविधा दिएको थियो । तर सन् २०१९ मा कम्पनीले उक्त सुविधा हटाएको थियो । त्यसबेला धेरै प्रयोगकर्ताले भिडियो साझा गर्न र कुराकानी गर्न अन्य सन्देश एप प्रयोग गर्ने भएकाले यसको प्रयोग कम भएको कम्पनीले जनाएको थियो ।

नयाँ परीक्षणमा भने प्रयोगकर्ताले एपभित्रै साथीहरूलाई भिडियो पठाउन र कुराकानी गर्न सक्ने व्यवस्था रहेको बताइएको छ । यसले भिडियोबारे छलफल गर्न, सुझाव आदानप्रदान गर्न र सामग्री हेर्दै गर्दा साथीहरूसँग सिधै संवाद गर्न सजिलो बनाउने अपेक्षा गरिएको छ ।

हाल यो सुविधा केही सीमित प्रयोगकर्तासँग मात्र परीक्षण भइरहेको छ । यसबाट प्रयोगकर्ताले कस्तो प्रयोग गर्छन् र यसले प्लेटफर्ममा सक्रियता बढाउँछ कि बढाउँदैन भन्ने बुझ्ने उद्देश्य रहेको बताइएको छ ।

सामाजिक सञ्जाल क्षेत्रमा पछिल्लो समय निजी सन्देश र सामग्री साझेदारीमा विशेष ध्यान दिइँदै आएको छ । प्रयोगकर्ताले एपभित्रै सामग्री साझा गर्दा उनीहरू प्लेटफर्ममा बढी समय बिताउने भएकाले युट्युबले पनि यो सुविधा पुनः सुरु गर्ने सम्भावना देखिएको छ ।

यद्यपि, यो सुविधा कहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

Read More

प्रचण्डको नेकपा ७ सिटमा सिमित

काठमाडौँ । २२ भन्दा बढी दल र समुह मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ७ सिट मात्रै जितेको छ ।

अब केबल ३ सिटमा मात्र मत गणना जारी रहेको बेला नेकपा कुनै पनि स्थानमा अगाडी रहेको छैन । 

मधेशको धुनषा- १ मा भने मत गणना स्थगन भएको छ, जहाँ सुरुवाती अग्रता नेकपा उम्मेदवार मात्रिका यादवले लिए पनि पछिल्लो समय पछि परेका छन् ।

नेकपाले लुम्बिनी प्रदेशबाट रुकुमपूर्वबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाबाट बर्षामान पुन विजयी भए भने कर्णालीबाट रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

त्यस्तै बागमतीबाट सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल विजयी भएका छन् ।

कुल ७ सिट जित्दा नेकपा चार प्रदेशमा भने निल बनेको छ । नेकपाले कोशी, मधेश, सुदूरपश्चिम र गण्डकीमा १ सिट पनि जित हासिल गरेको छैन । 

त्यस्तै समानुपातिकतर्फ पनि नेकपाको राम्रो मत देखिएको छैन । अहिलेसम्मको मत गणनामा ५ लाख ६० हजार मत पाएको नेकपाले साढे ६ प्रतिशतको हाराहारीमा मत पाउने देखिन्छ । गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले मात्र समानुपातिकतर्फ ११ लाख७५ हजार ६८४ मत प्राप्त गरेको थियो 

Read More

इरान संकटबीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य आइतबार बजार खुल्नेबित्तिकै तीव्र रूपमा बढेर १०० डलर पार पुगेको हो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक तेलको मूल्य यति उच्च पुगेको छ ।

अमेरिका र इजरायलले ईरानमाथि आक्रमण गरेपछि फारसको खाडीस्थित होर्मुज जलमार्गबाट जहाज आवतजावत लगभग ठप्प भएको छ । यही मार्गबाट विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास ढुवानी हुने गर्छ । मार्ग अवरुद्ध भएपछि बजारमा तेल आपूर्तिबारे चिन्ता बढेको छ ।

आक्रमणअघि कच्चा तेलको मूल्य करिब ७० डलर प्रति ब्यारेल थियो । त्यसपछि केही दिनमै मूल्य बढेर ८० डलर पुगेको थियो भने शुक्रबारसम्म आइपुग्दा करिब ९३ डलर पुगेको थियो। त्यसपछि बजार पुनः खुल्दा मूल्य अझ बढेर १०९ डलर नजिक पुगेको बताइएको छ ।

ईरानको रिभोल्युसनरी गार्डले होर्मुज जलमार्ग बन्द भएको घोषणा गरेपछि धेरै जहाज मालिकहरूले जोखिमका कारण जहाज सञ्चालन गर्न हिच्किचाएका छन्। यसैबीच जहाज बिमा खर्च पनि तीव्र रूपमा बढेको छ ।

अमेरिकाले जहाजलाई सुरक्षा र बिमा सहयोग दिने प्रस्ताव गरेको भए पनि आवश्यक बिमा रकम अत्यधिक भएकाले समस्या समाधान हुन सकेको छैन ।

तनावका बीच बहराइन, कुवेत, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका तेल प्रशोधन केन्द्र र ग्यास संरचनामा पनि आक्रमण भएको जनाइएको छ । यसले ऊर्जा पूर्वाधारमा क्षति पुग्ने जोखिम बढाएको छ ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलमार्ग लामो समय बन्द रहे विश्व बजारमा दैनिक करिब दुई करोड ब्यारेल तेल आपूर्ति अवरुद्ध हुन सक्छ। यस्तो अवस्थामा वैकल्पिक मार्ग र आपतकालीन भण्डार प्रयोग गरेर केही आपूर्ति व्यवस्थापन गर्न सकिए पनि विश्व बजारमा तेल अभावको समस्या बढ्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

Read More

गोरखा- १ मा रास्वपाका सुदन गुरुङ ८ हजारभन्दा बढी मतले अगाडी

काठमाडौँ ।  गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् । 

पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा ८ हजार १२३ मतले अगाडी रहेका छन् । खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन्  । 

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ७ हजार २१६ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले २७०२ मत प्राप्त गरेका छन् ।

Read More