२०८३ बैशाख १३

बालेनको चुनाव खर्च १४ लाख १७ हजार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् ।

झापा- ५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

बालेनले सवारी साधनमा २ लाख ९३ हजार ८०० खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च ३५ हजार, वडा स्तरीय घरदैलो गर्दा ५ लाख ८० हजार  खर्च भएको विवरण बुझाएका छन् । त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९००, नमुन मतपत्र छपाईमा ४८९ हजार ८५०, क्षेत्रीय निर्वाचन कार्यालय संचालनमा एक लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२०, प्रचार प्रसार सामाग्री एक लाख ५७ हजार ४१, ब्यानर र स्टिकरमा एक लाख १९ हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको उल्लेख गरेका छन् ।

Read More

बढ्दो तेल मूल्यबारे छलफल गर्न आज जी- सेभेनका अर्थमन्त्रीको बैठक बस्दै

काठमाडौँ । विश्व बजारमा तेलको मूल्य बढ्दै जाँदा र ऊर्जा संकट गहिरिँदै गएपछि जी- सेभेन समूहका देशका अर्थमन्त्रीहरूले आज बैठक गर्ने भएका छन् । बैठकमा आपतकालीन तेल भण्डार बजारमा निकाल्ने प्रस्तावबारे छलफल हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको जानकारी अनुसार यो योजनाअन्तर्गत अन्तर्राष्ट्रिय ऊर्जा निकायको समन्वयमा आपतकालीन भण्डारबाट तेल बजारमा पठाउने सम्भावनाबारे चर्चा हुनेछ । यसको उद्देश्य बजारमा आपूर्ति बढाएर मूल्य नियन्त्रणमा राख्नु हो ।

अहिलेसम्म जी-सेभेनका तीन देशले यो प्रस्तावको समर्थन गरिसकेको बताइएको छ ।

जी-सेभेन विश्वका प्रमुख विकसित अर्थतन्त्र भएका सात देशहरूको समूह हो । यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका रहेका छन् ।

विशेषज्ञहरूका अनुसार आपतकालीन भण्डारबाट तेल बजारमा पठाइएमा विश्व बजारमा आपूर्ति बढ्न सक्ने र तेलको मूल्यमा परेको दबाब केही कम हुन सक्ने अनुमान गरिएको छ ।

Read More

फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ ।

गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यस चलचित्रमा रेखाको एउटा भिन्न परिचय देखिनेछ, उनी यसपटक क्यामेराको अगाडि (अभिनयमा) नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन् ।

रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा काम गरिरहेकी छिन् । चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको ठूलो टोली समेटिएको छ । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि चलचित्रमा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यस चलचित्रको अर्को मुख्य आकर्षण भनेको तीनजना पूर्व मिस नेपालहरूको उपस्थिति हो । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले यस चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्दैछन् ।

यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो ।

एक पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको थियो । जसमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका थिए । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् ।

अर्को पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा समावेश थिए । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरिएको थियो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ ।

ध्रुव लम्सालको लेखन रहेको यो चलचित्रले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ । लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन् ।

प्रोडक्सन हेड सीएम भारद्वाज (सुवेदी)का अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाटै सुटिङ सुरु गर्ने तालिका भए पनि चुनाव र पछिल्लो परिस्थितिका कारण केही दिन ढिलाइ भएको बताए । काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिने चलचित्रको छायांकन करिब एक महिना चल्ने उनले जानकारी दिए ।

चलचित्रलाई सुदीप बरालले छायांकन (डिओपी) गर्दैछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा राजन घिमिरेले फिल्म कोअर्डिनेटरको जिम्मेवारी सम्हालेका छन् भने प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ ।

निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

Read More

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि कारोबार बन्द

काठमाडौँ । नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ।

दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि १२ बजेर १ मिनेटमा खुलेको नेप्से ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो । तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ । आज नेप्से १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ ।

चुनाव अघि अलमलमा देखिएको नेप्से चुनावको नतिजामा एक दलको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि त्यसको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

Read More

कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ

काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् ।

इरानले लगातार गरिरहेको आक्रमणको विषयमा पक्राउ परेका व्यक्तिहरूले गलत समाचारसम्बन्धी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको कतारको गृह मन्त्रालयले जानकारी दिएको छ ।

पक्राउ परेकामाथि अनुमति विना भिडियो निर्माण र प्रसारण, भ्रामक सूचना र अफवाह फैलाउने, र सार्वजनिक चिन्ता उत्पन्न गर्ने सामग्री प्रसारण गरेको आरोप छ भने उनीहरुलाई आवश्यक कानुनी र प्रशासनिक कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिहरू विभिन्न देशका नागरिक रहेको उल्लेख गरेको छ ।

कतारको गृह मन्त्रालयले हालको परिस्थितिसँग सम्बन्धित भिडियो बनाउने, प्रकाशित गर्ने वा अफवाह फैलाउने कार्य नगर्न र आधिकारिक स्रोतबाट जानकारी हासिल गर्न सबैलाई अपिल गरेको छ ।

Read More

नेप्सेमा दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।

आज नेप्से खुलेको १ मिनेटमा नै परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो । जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नै नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुनः ४० मिनेटको लागि स्थगित भएको छ ।

यस अवधिमा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।

Read More

धनुषा-१ मा मातृका यादव विजयी भएर पनि प्रमाणपत्र नदिएको भन्दै नेकपाको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेपछि पनि प्रमाणपत्र नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै मतगणनाबाट विजय निश्चित भइसकेपछि पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको विषय चिन्ताजनक रहेको बताएका छन् ।

विज्ञप्तिमा निर्वाचन आयोगको फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरिएको छ । त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको पार्टीको भनाइ छ ।

निर्वाचन आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसबाट मातृकाप्रसाद यादव विजयी भएको पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।  यस्तो अवस्थामा प्रमाणपत्र दिन ढिलाइ गर्नु र स्थापित प्रक्रिया विपरीत काम हुनु चिन्ताजनक रहेको पार्टीले जनाएको छ ।

उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि पार्टीको धारणा छ ।

पार्टीले संवैधानिक निकायका रूपमा निर्वाचन आयोगलाई विधिको शासन पालना गर्दै कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ । साथै न्यायालयले पनि कानुन र प्रक्रियाअनुसार उचित निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ ।

आयोगले भने यो विषय हाल अदालतमा भएकाले अदालतको आदेश नआएसम्म मतगणनाको परिणाम सार्बजनिक नगर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

Read More

नेप्सेमा सर्किट ब्रेक, कारोबार २० मिनेटको लागि स्थगित

काठमाडौँ । निर्वाचनपछि खुलेको पहिलो कारोबारको दिन शेयर बजार १ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ।

प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो । त्यसपछि बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो ।

सो अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेको छ । अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्ने नेप्सेले जनाएको छ ।

Read More

सुन तोलाको ३७ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ३७ सयले घटेर तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५  रुपैयाँले घटेर तोलाको ५४१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५४७५ मा कारोबार भएको थियो ।

Read More

इलाम- १ मा काँग्रेसका निस्कल राईले बढाए अग्रता

काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राईले अग्रता बढाएका छन् । 

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५४ हजार ९९१ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १२ हजार १३० मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ५३९ मतले अगाडी रहेका छन् ।  लिम्बुले ११ हजार ५९१ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले १० हजार ९०५ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ७ हजार ९३६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ६ हजार ३५७ मत प्राप्त गरेका छन् ।

Read More