सुमन शर्मा
काठमाडौं । नेपालको राजनीतिक परिवेशमा पछिल्ला वर्षहरूमा एउटा नयाँ आशाको रूपमा उदाएको दल हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
पुराना राजनीतिक संस्कार, भागबण्डा र अवसरवादबाट आजित जनताले नयाँ सोच, नयाँ शैली र इमानदार राजनीतिक अभ्यासको अपेक्षा गर्दै रास्वपालाई समर्थन गरे । यही कारणले पनि छोटो समयमै यो दलले जनताको बीचमा असाधारण विश्वास जित्न सफल भयो । तर कुनै पनि राजनीतिक दलको वास्तविक परीक्षा भने चुनाव जितेर मात्र सकिँदैन । त्यसपछि पार्टीले कसरी आफ्नो संगठन चलाउँछ, कसलाई अवसर दिन्छ, कसको योगदानको सम्मान गर्छ । हो, यही कुराले दलको नैतिक उचाइलाई निर्धारण गर्छ । दुर्भाग्यवश, रास्वपाले चैत १ गते गरेको एउटा निर्णयले यिनै प्रश्नहरू फेरि उठाइदिएको छ ।
यो प्रश्न जोडिएको छ रास्वपाका सक्रिय र समर्पित नेता प्रमोद न्यौपाने सँग ।
मेहनतको सम्मान हुन सकेन
प्रमोद न्यौपाने रास्वपाको संगठन निर्माणमा सक्रिय रूपमा लागेका व्यक्ति हुन् । पार्टीलाई देशव्यापी बनाउन, कार्यकर्ता जोड्न, विचार स्थापित गर्न र जनतासँग सम्बन्ध विस्तार गर्न उनले गरेको मेहनत पार्टीभित्र मात्र होइन, बाहिर पनि धेरैले स्वीकार गर्ने विषय हो । रास्वपा भित्र संगठन थाम्ने मूल खम्बा मध्यका एक मानिन्छन न्यौपाने ।
राजनीतिमा धेरैजना पदका लागि सक्रिय हुन्छन्, तर केही व्यक्ति यस्ता हुन्छन् जसले पदभन्दा पनि संगठन निर्माणलाई प्राथमिकता दिन्छ । न्यौपाने त्यस्तै पात्रका रूपमा चिनिन्थे। कहिलेकाहीँ त यस्तो लाग्थ्यो उनको निरन्तर सक्रियता र समर्पणले मानौँ असम्भवलाई पनि सम्भव बनाइरहेको छ। तर विडम्बना के भयो भने, समानुपातिक सूचीमा उनको नाम छुट्नुले धेरै समर्थक र कार्यकर्तालाई अहिले निराश बनाएको छ ।
त्यागको मूल्यांकन हुनुपर्थ्यो
राजनीतिमा अवसर मात्र होइन, त्यागको पनि मूल्य हुन्छ। न्यौपानेले पार्टीभित्र देखाएको उदारता र त्यागलाई पनि धेरैले स्मरण गरेका छन्। विशेष गरी उनले उम्मेदवारीको सन्दर्भमा गरेको समन्वय र त्यागलाई धेरै कार्यकर्ताले उदाहरणका रूपमा लिएका थिए। यही कारणले पनि धेरैको अपेक्षा थियो, कम्तीमा समानुपातिक प्रतिनिधित्वमार्फत न्यौपानेलाई संसदमा पठाइनेछ । किनकि अहिलेको अवस्थामा न्यौपाने जस्ता सक्रिय र वैचारिक व्यक्तिको स्थान केवल संगठनभित्र सीमित हुनु पर्याप्त देखिँदैन। उनको भूमिका राष्ट्रिय संसदमा हुनु आवश्यक छ भन्ने धारणा धेरै समर्थकहरूको थियो।
पार्टीका लागि सन्देश
रास्वपा नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने दल हो। यस्तो दलले आफ्ना कर्मठ कार्यकर्ताको योगदानलाई बेवास्ता गरेको सन्देश बाहिर जानु राम्रो संकेत होइन। राजनीतिमा गल्ती हुनु अस्वाभाविक होइन। तर गल्ती स्वीकार गर्ने र त्यसलाई सुधार गर्ने क्षमता नै एउटा दलको परिपक्वता हो। रास्वपाले यदि साँच्चिकै फरक राजनीति गर्न चाहन्छ भने, उसले आफ्नो संगठनभित्रका त्यस्ता पात्रहरूको योगदानलाई पहिचान गर्न भुल्न हुदैन । बिशेष गरी त्यस्तो पात्र जो मौन रही काम गर्दै पार्टीलाई लक्षित दिशासम्म पुर्याउने साहस राख्दछ ।
अन्तिम प्रश्न
आज धेरै कार्यकर्ताको मनमा एउटा प्रश्न उब्जिएको छ । यदि मेहनत, त्याग र समर्पणको उचित सम्मान हुन सकेन भने नयाँ राजनीतिक संस्कृतिको अर्थ के रहन्छ? बुझ्नु पर्ने कुरा के भने, राजनीति अन्ततः पदको खेल मात्र होइन, विश्वासको यात्रा पनि हो। र त्यो विश्वास जोगाउन कर्मठ मानिसलाई उचित स्थान दिनु अत्यावश्यक हुन्छ ।
यस अर्थमा भन्नुपर्दा, रास्वपाबाट यहाँ एउटा गल्ती भएको देखिन्छ।
Read More