२०८३ बैशाख १३

स्वास्थ्य बीमाको उपचारमा औषधि नदिने र अनावश्यक दुख दिने जस्ता कार्य बन्द गर्न बोर्डको चेतावनी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा सुविधा र औषधि उपलब्ध नगराउने गुनासो आएको बताउदै बोर्डले यस्ता कार्य स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५ तथा प्रचलित कानुन विपरीत रहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले यस्ता गतिविधि तुरुन्त बन्द गर्न र सम्बन्धित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । साथै, अनुगमनका क्रममा नियम विपरीत कार्य भएको प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

Read More

इरानको नौसेना कमाण्डर तंगसीरीको मृत्यु भएको पुष्टि

काठमाडौँ । इरानले इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजिसी)  को नौसेना कमाण्डर अलिरेजा तंगसीरीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलक आक्रमणमा गम्भीर घाइते भएपछि उनको ज्यान गएको हो ।

गत साता इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक सैन्य कारबाहीमा तंगसीरीसहित केही अधिकारी मारिएको दाबी गरेका थिए । इरानको पछिल्लो पुष्टिसँगै उक्त हमलामा घाइते भएका तंगसीरीको पछि मृत्यु भएको स्पष्ट भएको छ ।

यसैबीच, इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । अर्धसरकारी समाचार संस्थाका अनुसार उनीहरूलाई अमेरिका-इजरायलसँग जोडिएको विपक्षी समूह मुजाहिदीन-ए-खाल्कसँग सम्बन्ध राखेको आरोप लागेको थियो ।

अधिकारीहरूले ती व्यक्तिमाथि सुरक्षा बलमाथि आक्रमण गरेको आरोप पनि लगाएका छन् । उक्त समूह विगतमा इरान सरकारविरुद्ध सशस्त्र गतिविधिमा संलग्न रहँदै आएको बताइएको छ ।

Read More

ओलीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई रिहा गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

यसअघि आइतबार जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

Read More

जुम्लाको विद्यालयमा छात्रवृत्ति रकम हिनामिनाको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लास्थित एक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखा सहायकले विगत पाँच वर्षदेखि छात्रवृत्ति रकम वितरण नगरेको र दिवाखाजा शीर्षकको रकमसमेत दुरुपयोग गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/०८० मा उक्त विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३५० रुपैयाँ छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण नगरी हिनामिना गरिएको पाइएको आयोगले जनाएको छ ।

प्रधानाध्यापक नरेन्द्रबहादुर महतले भने छात्रवृत्ति वितरण गरिएको देखाउने गरी नक्कली भरपाई तयार गरी गाउँपालिकामा पेश गरेको पाइएको छ ।

भरपाईमा मिति सच्याइएको, केरमेट गरिएको तथा पुरानै विवरण दोहोर्याइएको भेटिएको छ । आयोगको टोलीले स्थलगत अनुसन्धान गर्दा भरपाईमा नाम रहेका छात्राहरूले आफूहरूले छात्रवृत्ति रकम नपाएको बताएका थिए ।

आयोगका अनुसार प्रतिवादीहरूले मिलेमतोमा झुट्टा कागजात तयार गरी सार्वजनिक रकम हिनामिना गरेका हुन् । यसबाट तातोपानी गाउँपालिका र विद्यालयलाई गैरकानुनी हानि पुगेको तथा संलग्न व्यक्तिहरूले अवैध लाभ लिएको निष्कर्ष निकालिएको छ ।

उक्त कसुरमा संलग्न प्रधानाध्यापक तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण धामीलाई कानुनअनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Read More

काठमाडौँ महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित तालिम सुरु

काठमाडौँ । काठमाडौँ महानगरले हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित तालिम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा वडा नम्बर १ र १२ मा तालिम शुरु गरको हो । यसप्रकारको तालिम सञ्चालन गर्न चैत ५ गते महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सम्झौता गरेको थियो । 

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्रले नेपाल सहित १९२ देशमा मान्य हुनेछ ।  दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य भएको बताउदै महानगरकी स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्यले स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन थालिएको बताएकी छन् । 

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ । 

तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्द नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ । 

Read More

लेखकलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी

काठमाडौं । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

 सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई रिहा गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । 

लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई भएको थियो । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको थियो । 

योसँगै अब लेखक जिल्ला अदालत काठमाडौँको आदेश अनुसार कम्तिमा पाँच दिन हिरासतमा बस्नुपर्ने भएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले लेखकलाई शनिबार विहान प्रहरीले पक्राउ गरेको थियो ।

Read More

निजी क्षेत्रले कामका लागि घुस खुवाउनु पर्दैन- अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले कामका लागि घुस खुवाउनु नपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री डा. वाग्लेले सरकारले निजी क्षेत्रको सहयात्री बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब कामका लागि घुस खुवाउनुपर्ने अवस्था नहुने बताएका हुन् ।

उनले भने- ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’

सो अवसरमा अर्थमन्त्री डा. वाग्लेले उद्योगीहरूलाई लगानी र रोजगारी बढाउनमा केन्द्रित हुन समेत आग्रह गरे । निजी क्षेत्रलाई कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पर्दै उनले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै आर्थिक बेइमानीमा आर्थिक जरिवानाको नीतिमा जाने स्पष्ट गरेका थिए । 

उनले अब उद्योगी व्यापारीहरूले सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु नपर्ने भन्दै अब दण्डको स्वरूप बदल्ने बताएका थिए ।

Read More

नेप्सेमा आज ४७.७१ अंकको गिरावट, १२ अर्ब ९६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१. ३९ विन्दुमा पुगेर रोकिएको छ ।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो गिरावट आएको छ ।

आज ३४१ कम्पनिका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सोलु हाइड्रोको शेयर ७.७९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

Read More

धुम्बराहीमा काँग्रेस देउवा पक्षको कार्यक्रम शुरु

काठमाडौँ । नेपाली कांग्रेसका निर्वमान सभापति शेर बहादुर देउवा एवम डा. शेखर कोइराला पक्षले भेला आयोजना गरिएको छ । 

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आज कार्यक्रम गरिएको छ ।

धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवा पक्ष र कोइराला पक्षका नेताहरु उपस्थित रहेका छन् ।

देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम केन्द्रीय सदस्यहरुको बैठक पनि बोलाएको छ । बैठक मंगलबार र बुधबार बस्ने बताइएको छ ।

Read More

चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु

काठमाडौँ । चीन र उत्तर कोरियाबीच विमान सेवा सुचारु भएको छ । चीनको राष्ट्रिय विमान सेवा कम्पनी एयर चाइनाले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीचको सिधा उडान सेवा पुनः सुरु गरेको हो । दुवै देशबीच यात्रु रेल सेवा सञ्चालनमा आएको केही समयपछि हवाई सेवा पनि फेरि सुरु गरिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त उडान प्योङयाङ पुगेपछि त्यहाँ रहेका चीनका राजदूत वाङ याजुनसहित कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए । यसअघि मार्च १२ मा चीन र उत्तर कोरियाबीच यात्रु रेल सेवा पनि पुनः सञ्चालनमा आएको थियो ।

कोरोना महामारी सुरु भएपछि चीनले उत्तर कोरियातर्फका उडान र रेल सेवा पूर्ण रूपमा बन्द गरेको थियो । तर उत्तर कोरियाको राष्ट्रिय विमान सेवा एयर कोरियोले सन् २०२३ मै दुई देशका राजधानीबीच उडान सेवा पुनः सुरु गरेको थियो । महामारीका क्रममा उत्तर कोरियाले विदेशी पर्यटक प्रवेशमा कडाइ गरेको भए पनि अहिले क्रमशः ती प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको छ ।

सन् २०२४ देखि रसियाली पर्यटक समूहहरूले उत्तर कोरिया भ्रमण सुरु गरिसकेका छन् । प्रतिबन्धअघि उत्तर कोरिया पुग्ने कुल पर्यटकमध्ये करिब ९० प्रतिशत चिनियाँ नै हुने गरेका थिए । त्यसैले चिनियाँ पर्यटकको फर्काइ ढिला हुँदा विश्लेषकहरू अचम्मित भएका थिए । अब हवाई र रेल सेवा पुनः सञ्चालनसँगै चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र मुख्य सहयोगी हो । यद्यपि, उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणप्रति बेइजिङले असन्तुष्टि पनि जनाउँदै आएको छ । यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी भव्य सैनिक परेडमा सहभागीता जनाएका थिए, जुन दशकौँपछि भएको दुर्लभ सहभागिता मानिएको छ ।

Read More