२०८३ बैशाख १३

अमेरिकाले आफ्ना नागरिकका लागि नेपालको ट्राभल एडभाइजरीको स्तर घटायो

काठमाडौँ । अमेरिकाले नेपालका लागि जारी ट्राभलको स्तर घटाएर ‘स्तर २’ मा झारेको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार नयाँ परामर्शमा नेपालमा सतर्कता अपनाएर यात्रा गर्न सुझाव दिइएको छ ।

दूतावासका अनुसार गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा जारी गरिएको एडभाइजरीको स्तर घटाइएको हो । दुताबासले देशव्यापी समग्र सुरक्षा अवस्था स्थिर बनेको उल्लेख गर्दै शहरहरूमा कहिलेकाहीँ प्रदर्शन र स्थानीय अशान्ति हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

स्वास्थ्य सेवाका सन्दर्भमा दूतावासले नेपालमा नियमित तथा आकस्मिक उपचार क्षमता सीमित रहेको जनाएको छ । काठमाडौँका अस्पताल अन्य स्थानको तुलनामा राम्रो भए पनि भीडभाड, उपकरण वा औषधिको अभाव र उपचारअघि भुक्तानी माग्ने समस्या हुन सक्ने उल्लेख गरिएको छ । 

यात्रुहरूलाई आवश्यक औषधि साथमा ल्याउन, स्वास्थ्य बीमा गर्न र गम्भीर बिरामी परेमा अन्य देश जानुपर्ने अवस्था आउन सक्नेबारे सचेत गराइएको छ ।

प्राकृतिक विपद्का सन्दर्भमा नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम रहने जनाइएको छ । विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा भारी वर्षाले आकस्मिक बाढी र पहिरो ल्याउन सक्ने तथा सडक अवरुद्ध र उद्धारमा कठिनाइ हुन सक्ने चेतावनी दिइएको छ ।

नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूलाई दूतावासले स्थानीय समाचारमा ध्यान दिन, योजना आवश्यक अनुसार परिवर्तन गर्न तयार रहन, भीडभाडबाट टाढा बस्नु र यात्रा बीमा अनिवार्य रूपमा गर्नुपर्ने सुझाव दिएको छ ।

साथै, आपतकालीन अवस्थामा दूतावाससँग सम्पर्क सहज बनाउन ‘स्मार्ट ट्राभलर दर्ता कार्यक्रम’ मा नाम दर्ता गर्न पनि दुताबासले आग्रह गरेको छ ।

Read More

संसद सचिवालयमा सर्वदलीय बैठक जारी

काठमाडौँ । संसद् सचिवालयमा सर्वदलीय बैठक जारी रहेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बोलाएको बैठकमा प्रतिनिधि सभामा निर्वाचित दलका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरिरहेका छन् । बैठकले विहिबारदेखि शुरु हुने बैठकको कार्यसूचीसहित बैठक संचालनको बिधि बारे छलफल हुने बताइएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक विहिबार दिउसो २ बजेका लागि बोलाइएको छ ।

Read More

हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनि रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापा मगर रहेका छन् । 

भाद्र २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाई दिन्छु, धरौटी बापतको रकम दिनु पर्छ भनी आश्वासन दिई धरौटी बापतको रकम र वकिललाई बहस खर्च भनी ९ लाख रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

एसइइ परीक्षा भोलि देखि

काठमाडौँ । भोलि देखि यस बर्षको एसइइ परीक्षा शुरु हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले एसइइ परीक्षाको सबै तयारी पुरा भएको जानकारी दिएको छ । 

कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य रहेका छन् । 

जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिदैछन् । त्यस्तै जापानको एभरेस्ट स्कुलसहित कुल एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा संचलान हुने कार्यालयले जानकारी दिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि हुन लागेको छ ।

Read More

सचेतना सन्देश दिदै प्रहरीको अप्रिल फूल !

काठमाडौं । अप्रिल फुलको दिन नेपाल प्रहरीले सचेतना सन्देश दिएको छ ।

बुधबार प्रहरीले आफ्ना सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गर्दै तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’ सुनिश्चित गर्न यो क्यूआर कोड स्क्यान गर्नुस् भनेको छ ।

प्रहरीले दिएको क्युआर कोड स्क्यान गर्दा सचेत गराउने सन्देश देखिन्छ । सो सन्देशमा भनिएको छ ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौं…तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ ।’

प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्न र स्क्यान गर्नुअघि भेरिफाइ गर्न समेत अनुरोध गरेको छ ।

Read More

प्रहरी परिसर काठमाडौंको अवलोकनमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् ।

बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् ।

अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए ।

Read More

लामो युद्धका लागि तयार रहेको इरानको चेतावनी

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग लामो युद्धका लागि तयार रहेको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परे ६ महिनासम्म संघर्ष जारी राख्न सक्ने बताएका छन् ।

रसियन च्यानल आरटीसँग कुरा गर्दै उनले देशले लामो समयसम्म युद्ध लड्न सक्ने गरी तयारी गरिसकेको बताउँदै परिस्थिति अनुसार लडाइँ अघि बढ्ने स्पष्ट पारेक छन् । उनले भनेका छन्- ‘राष्ट्रको सुरक्षा र सार्वभौमिकता सबैभन्दा माथि हो, त्यसको रक्षा गर्न कुनै पनि हदसम्म जान तयार छौँ ।’

अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै जमीनी आक्रमण भए इरान पूर्ण रूपमा तयार रहेको समेत बताएका छन् । उनले भने- ‘हामी उनीहरूको प्रतीक्षामा छौँ ।’

इरानले आफैं जमीनी युद्ध चाहेको नभए पनि यदि यस्तो अवस्था आएमा त्यसको कडा जवाफ दिने उनले जनाए । उनका अनुसार अमेरिकी जमीनी आक्रमणको कुनै डर नरहेको र कुनै पनि परिस्थितिको सामना गर्न इरान सक्षम रहेको दाबी गरिएको छ ।

यसबीच इरानले अमेरिका र इजरायल माथि तेहरानस्थित औषधि उद्योगमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा ‘तोफिघ दारु’ नामक औषधि कारखाना लक्षित भएको इरानको भनाइ छ ।

इरानी अधिकारीहरूका अनुसार उक्त कारखाना अस्पताल र शल्यक्रियामा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन गर्ने महत्वपूर्ण केन्द्र थियो । आक्रमणका कारण देशको स्वास्थ्य आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले उत्पादन र अनुसन्धान इकाइमा ठूलो क्षति पुगेको जनाएको छ भने विदेश मन्त्रालयले यसलाई युद्ध अपराधको संज्ञा दिएको छ ।

उता इजरायलले भने आफूले रासायनिक गतिविधिसँग जोडिएको अनुसन्धान केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ । तर यसको समर्थनमा ठोस प्रमाण सार्वजनिक गरिएको छैन । 

Read More

एमाले संसदीय दलको नेतामा सुहाङले गरे दाबी, छलफल जारी

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दाबी पेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा युवा नेता सुहाङले संसदीय दलको नेतामा आफ्नो दाबेदारी पेश गरेका हुन् ।

बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार सुहाङले अहिलेको अवस्था अनुसार आफु संसदीय दलको नेतृत्व लिन तयार रहेको बताउदै परिस्थितिलाई पार्टीले नजरअन्दाज गर्न नहुने बताएका थिए । 

उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसिरहेको बैठकमा अहिले छलफल जारी रहेको छ ।

सुहाङले हालै सम्पन्न निर्वाचनमा इलाम-२ बाट निर्वाचित भएका थिए । एमालेको आज जारी संसदीय दलको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक नियुक्त गर्दैछ ।

Read More

बाइक एम्बुलेन्स सञ्चालनको तयारीमा काठमाडौँ महानगर

काठमाडौँ । आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको वैठकमा छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी विच छलफल भएको हो । 

छलफलमा कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिएकी छन् ।

यो प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको थियो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ ।  यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ । 

छलफलमा स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीले महानगरपालिकाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नु पर्ने खाँचो देखाए । 

छलफलमा एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले, संवेदनशील घटना व्यवस्थापन गर्ने जटिल जिम्मेवारीलाई वहन गर्नु सजिलो नभएको धारणा राखे । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले महानगरपालिकासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना विरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएका थिए । 

कोविड १९ का समयमा २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ । 

सम्पर्क गरेपछिको ८ मिनेटमा विरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो । 

Read More

क्रिमियामा रुसी सैन्य विमान दुर्घटना, सवार सबै २९ जनाको मृत्यु

काठमाडौँ । रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त हुदा सवार २३ यात्रु र ६ चालक दलका सदस्य सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरुमा विमानसँग सम्पर्क विच्छेद भएको थियो । त्यसपछि विमान चट्टानमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण प्राविधिक खराबी हुनसक्ने आशंका गरिएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने अझै भइसकेको छैन र विस्तृत अनुसन्धान जारी रहेको तासले उल्लेख गरेको छ ।

उक्त विमान सोभियत कालमा निर्माण गरिएको सैन्य ढुवानी विमान हो, जसलाई एन्तोनोभ कम्पनीले बनाएको हो। यसको पहिलो उडान सन् १९६९ मा भएको थियो । एएन–२६ विमान मुख्य रूपमा सैनिक, हतियार तथा सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिन्छ । यसले एकैपटक धेरै सैनिक वा भारी सामान बोक्न सक्ने क्षमता राख्छ ।

यस विमानको विशेषता भनेको सानो तथा कमजोर धावनमार्गबाट समेत उडान भर्न सक्ने क्षमता हो । त्यसैले दुर्गम तथा युद्ध क्षेत्रहरूमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पछाडिको ठूलो ढोकाबाट हवाईमार्फत सामग्री झार्ने कार्य पनि गर्न सकिन्छ ।

तर ५० वर्षभन्दा पुरानो डिजाइन भएका कारण यसको सुरक्षामाथि प्रश्न उठ्दै आएका छन् ।  हालसम्म पनि विभिन्न देशहरूले यस प्रकारका विमान प्रयोग गरिरहेका भए पनि क्रमशः आधुनिक ढुवानी विमानले यसलाई प्रतिस्थापन गर्ने प्रक्रिया जारी रहेको छ ।

Read More