२०८३ बैशाख १३

अस्ट्रेलियाले सामाजिक सञ्जाल कम्पनीलाई कारवाही गर्ने

काठमाडौँ । अष्ट्रेलियाको अनलाइन सुरक्षा निकायले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न नरोकेको भन्दै ठूला सामाजिक सञ्जाल प्लेटफर्मविरुद्ध अदालत जाने तयारी गरेको छ । यसमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युब जस्ता प्लेटफर्म रहेका छन् ।

अष्ट्रेलियामा १० डिसेम्बर २०२५ देखि लागू भएको कानुनअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता राख्न पूर्ण प्रतिबन्ध गरिएको छ । तर सम्बन्धित कम्पनीहरूले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लागेको छ ।

अनलाइन सुरक्षा आयुक्त जूली इम्मान ग्रान्टले कानुन लागू भएपछि पहिलो अनुपालन प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सबै बालबालिकाका खाता हटाउन निर्देशन दिएकी थिइन् ।

प्रतिवेदनअनुसार हालसम्म करिब ५० लाख अष्ट्रेलियाली खाताहरू निष्क्रिय बनाइएको छ। तर अझै धेरै बालबालिकाका खाता सक्रिय रहेको र उनीहरूले नयाँ खाता समेत बनाइरहेको पाइएको छ । उमेर प्रमाणीकरण प्रणालीलाई बालबालिकाले सजिलै छल्ने गरेको उल्लेख गरिएको छ । ग्रान्टले विशेषगरी केही ठूला प्लेटफर्महरूको कार्यान्वयनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

उता सञ्चार मन्त्री अनिका वेल्सले केही सामाजिक सञ्जाल कम्पनीहरूले जानाजानी कानुन पालना नगरेको आरोप लगाएकी छन् । उनका अनुसार ती कम्पनीहरूले न्यूनतम प्रयास मात्र गरिरहेका छन् ताकि यस्तो कानुन सफल नहोस् । उनले यदि यस्तो नियम अन्य देशहरूले पनि अपनाए भने सामाजिक सञ्जाल कम्पनीहरूलाई ठूलो असर पर्न सक्ने भएकाले उनीहरू यसलाई असफल बनाउन चाहिरहेको आरोप लगाएकी छन् ।

यदि अदालतले कम्पनीहरूले चरणबद्ध रूपमा कानुन पालना नगरेको ठहर गरेमा ४ करोड ९५ लाख अष्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्ने प्रावधान छ ।

सुरक्षा निकायले आगामी जुनसम्म कुन-कुन कम्पनीविरुद्ध मुद्दा दायर गर्ने भन्ने निर्णय गर्ने जनाएको छ । हाल भने रेडिट, एक्स, किक, थ्रेड्स र ट्विचविरुद्ध तत्काल कुनै कारबाही अघि बढाइएको छैन ।

Read More

आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदै

काठमाडौँ । आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

यस बर्ष यस दिवसको नारा ‘अटिजम र मानवता- हरेक जीवनको मूल्य हुन्छ’ भन्ने रहेको छ । अटिजम भएका व्यक्तिहरूको जीवनको बारेमा गलत जानकारी र प्रतिगामी बयानबाजी पुन: देखा परिरहेको समयमा, यस वर्षको भर्चुअल कार्यक्रम सीमित कथाहरूभन्दा बाहिर जान र प्रत्येक अटिजम भएका व्यक्तिको अन्तर्निहित मर्यादा, समान अधिकार र निःशर्त मूल्यलाई पहिचान गर्ने कार्य गर्ने आव्हान भएको बताइएको छ ।

यो दिवस पहिलो पटक २००८ मा मनाइएको थियो । नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा घोषणा गर्न भनेको थियो । सोही अनुरुप डिसेम्बर १, २००७ मा संयुक्त राष्ट्र साधारण सभाले अप्रिल २ लाई विश्व अटिज्म जनचेतना दिवस भनेर तोकेको हो । त्यस यता हरेक वर्ष विश्वमा ओटिज्म भएका व्यक्तिको अधिकार र पहिचान सुनिश्चित एवं चेतनाको अभिवृद्धी गर्ने उद्देश्यले विश्व ओटिजम जनचेतना दिवस मनाउने गरिएको हो ।

अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर व्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ । अटिजम जेनेटिक र वातावरणीय प्रभावका कारण हुने गर्दछ ।

पछिल्लो समय विश्वमा अटिजम चुनौतीपूर्ण स्वास्थ्य समस्याको रुपमा बढीरहेको छ । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक भने छैन । अटिजमको समस्याबाट गुज्रिरहेकाहरुको उपचार र नियन्त्रणका लागि त्यसको तथ्यांक राख्न आवश्यक छ । स्पेक्ट्रम डीसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतर केटी भन्दा केटाहरुमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने गरेको छ । अटिजम विकासात्मक विकारको अवस्था हो र यो जीवनभर नै रहने एक अपाङ्गता हो । यो समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको व्यक्तिहरुमा पनि देखिन सक्छ ।

अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाईदेखि जीवन यापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन् ढिलो हुनुको साथै अवस्था जटिल हुँदै जान्छ । यस कारण यो समस्या समयमा पहिचान गर्न सकियो भने जटिलता हुनबाट बचाउन सकिन्छ ।

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । 

आज पीएम कपमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा मधेश प्रदेश ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने त्रिभुवन आर्मीको पनि ४ खेलमा ७ अंकसहित नै तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा गण्डकी प्रदेश ४ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने सुदूरपश्चिम प्रदेश ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेको । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

आज हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आज हनुमानको जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ । 

चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सड्ढटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् । रामभक्त अनि बलवान हनुमानलाई बल र शाहसको पर्यायका रूपमा पनि अभिव्यक्त गरिएको पाइन्छ ।

आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ । पौराणिक कथामा उल्लेख भएअनुसार अञ्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् । हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ ।

Read More

प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसदको पहिलो अधिवेशन आजदेखि शुरु हुदैछ । आज प्रतिनिधि सभाको बैठक २ बजे र राष्ट्रिय सभाको बैठक पनि २ बजेदेखि नै शुरु हुदैछ ।

फागुन २१ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधि सभामा रास्वपाका १८२, नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम शक्ति पार्टीका ७, राप्रपाका ५ र एक सांसद स्वतन्त्र रहेका छन् । प्रतिनिधि सभाको आजको बैठक पहिलो बैठक भएकाले बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दैछन् ।

आजको बैठकका सम्भावित कार्यसूची यस्तो छ: 

राष्ट्रपतिको पत्र

– ज्येष्ठ सदस्य/सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने ।

– सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने ।

– प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव पेस र स्वीकृत सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने ।

बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन

– सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने ।

अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने ।

सभामुख पदको निर्वाचनको दिन तोकिने

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको लागि दिन तोक्ने ।

अध्यादेश पेस

गृहमन्त्री सुधन गुरुङले निम्नलिखित अध्यादेशहरू पेस गर्नुहुने:-

(क)  मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२

(ख)  प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

(ग)  नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२

शोक प्रस्ताव

सभामुखले संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरु ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराकोको शोक प्रस्तावहरु प्रस्तुत गर्ने ।

Read More

यस बर्षको एसइइ परीक्षा आजदेखि

काठमाडौँ । आजदेखि यस बर्षको एसइइ परीक्षा शुरु हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले एसइइ परीक्षाको सबै तयारी पुरा भएको जानकारी दिएको छ । 

कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य रहेका छन् । जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिदैछन् ।

त्यस्तै जापानको एभरेस्ट स्कुलसहित कुल एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा संचलान हुने कार्यालयले जानकारी दिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन हुने गरी व्यवस्थापन गरिएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण  

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । परीक्षा सकिएको तीन दिन भित्र उत्तर पुस्तिका जाँच गरेर सक्ने गरि बोर्डले सबै केन्द्रमा सर्कुलर पठाइसकेको बताएको छ ।

नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन रहेको र त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्  ।

परीक्षा तालिका

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि सारिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो हिमाली र  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८२ चैत १९ गते विहिबार: आजको राशिफल

आजको राशिफल: बिस २०८२ चैत १९ गते विहिबार ईस २०२६ अप्रिल २ नेपाल सम्बत ११४६ चौलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, ध्रुव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज हनुमान जयन्ती र विश्व अटिजम जागरुकता दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ, कुनै नयाँ काम थालनी गर्ने हो भने सिनियर्सको सहयोग लिएमा सफल भइने छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

धार्मिक र सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्यरअभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ । काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्धरसम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पद्र्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ ।

Read More

एक लिटर बचत, अर्बौंको राहत: नागरिकको सानो प्रयासले देशलाई ठूलो राहत

काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको पूर्ण निर्भरता आयातमै सीमित छ। आफ्नै पेट्रोल वा डिजेल उत्पादन नभएको अवस्थामा हरेक थोपा इन्धन देशका लागि बहुमूल्य छ।

यही यथार्थलाई स्मरण गराउँदै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश दिएका छन्- “सामान्य बचतले पनि राष्ट्रलाई ठूलो राहत दिन सक्छ।” उनको भनाइ अनुसार, यदि एक जना मोटरसाइकल चालकले दिनमा केवल १ लिटर पेट्रोल बचत गर्न सके भने पनि अहिले राज्यले दैनिक करिब २२ करोड रुपैयाँ जोगाउन सक्छ। त्यस्तै, चारपाङ्ग्रे सवारीसाधन प्रयोग गर्ने प्रत्येक प्रगोगकर्ताले १ लिटर डिजेल वा पेट्रोल बचत गर्दा थप ४ करोड रुपैयाँ जोगिन सक्छ।

यो केवल अंकगणितीय हिसाब मात्र होइन, राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्भीर सन्देश हो। यदि यस्तै बचत निरन्तर १५ दिनसम्म कायम राख्न सकियो भने करिब ३९० करोड रुपैयाँसम्म देशले जोगाउन सक्छ ।जुन रकमले विकास निर्माणदेखि अत्यावश्यक सेवासम्म ठूलो योगदान पुर्‍याउन सक्छ।

डा. भट्टको यो सन्देश केवल इन्धन बचतको आग्रह मात्र होइन, यो नागरिक जिम्मेवारीको स्मरण पनि हो।अनावश्यक यात्रा घटाउने, सवारी साझा गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने जस्ता साना व्यवहारिक परिवर्तनहरूले देशको ठूलो आर्थिक भार कम गर्न सक्ने देखिन्छ।

आजको सन्दर्भमा, जब विश्व बजारमा इन्धनको मूल्य अस्थिर छ र नेपालको अर्थतन्त्र आयातमा अत्यधिक निर्भर छ, त्यस्तो अवस्थामा नागरिकको सानो सचेतनाले पनि ठूलो प्रभाव पार्न सक्छ।

Read More