२०८३ बैशाख १३

रास्वपा सभापति लामिछानेले प्रतिनिधि सभामा सम्बोधन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभाको पहिलो अधिवेशनको आज पहिलो दिन लामिछानेले रास्वपाको तर्फबाट सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेपनि उनले आज संसदमा सम्बोधन गर्न कुनै बाधा नपर्ने संसद सचिवालय स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयबाट पत्र नआएसम्म संसद सचिवालय आफैले कुनै किसिमको रोक लगाउन मिल्ने कानुनी व्यवस्था नरहेका कारण लामिछाने संसदीय क्रियाकलापमा सहभागी हुने भएका हुन् ।

अघिल्लो प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि लामिछानेलाई तत्कालिन सभामुख देवराज घिमिरेले निलम्बन गरेका थिए ।

Read More

काठमाडौँ महानगरमा दिउसो खाजा समयमा सेवा नियमित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मध्यान्ह खाजाको समयमा पनि सेवा प्रवाह अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ ।

महानगरका विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा वडा कार्यालयबाट दिइने सेवाहरू खाजाको समयमा कर्मचारीलाई आलोपालो जिम्मेवारी बाँडफाँट गरेर निरन्तर सञ्चालन गरिएको महानगरले जानकारी दिएको छ ।

सेवाग्राहीलाई कुनै पनि समयमा सेवा लिन असहज नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

यसैबीच, सेवा प्रवाह सम्बन्धी कुनै गुनासो भए टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी गुनासो दर्ता गर्न महानगरले आग्रह गरेको छ । साथै गुनासो सुनुवाइ प्रक्रियामा पनि चासो राख्न अनुरोध गरिएको छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४७८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

Read More

चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्बजनिक

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।

आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्र ‘रोल नं. १’का सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मीसँगै चलचित्रका मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ । अभावमा पनि छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ ।

पहिलो पोस्टरमा बालकको अनुहारमा देखिएको मन्दमन्द खुसी र पछाडि देखिएको पहाडी भेगको विद्यालयले शिक्षा र ग्रामीण जीवनको कथा सिनेमाले उठान गर्ने प्रस्ट पारेको छ, जुन सिनेमाको टाइटलले पनि बताइसकेको छ ।

उक्त पोस्टरमा बालकको अनुहारमा निर्दोष मुस्कान छ । उसले स्वीटर र सर्ट लगाएर झोला बोकेको छ, जुन उसको विद्यार्थी परिचय हो । ऊ परिवारको आशाको केन्द्रविन्दु हो भन्ने कुरा यसले प्रस्ट पार्छ । बालकको पछाडि रहेकी आमाले थाप्लोमा कालो कराइ राखेकी छिन् र बुबाले दमाहा बाजा भिरेका छन् । पृष्ठभूमिमा एउटा पहाडी सरकारी विद्यालयको भवन देखिन्छ । टाढा रहेको विद्यालयले शिक्षासम्मको पहुँच अझै पनि ग्रामीण जनताका लागि पहुँच बाहिर रहेको संकेत गर्छ । आमा–बुबाको मैलो लुगा र अनुहारले उनीहरू दिनभर श्रम गरेर छोराको ‘रोल नं १’ को सपना साकार पार्न लागिपरेका छन् भन्ने बुझाउँछ ।

अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । जहाँ, बालकको टाउकोमुनि र उसको बुवाको टाउको माथि कपी छ । यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ । पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ । यो कपीले बालकको सपना र बुबाको जिम्मेवारीलाई जोडेको छ ।

बुबाको पिठ्युँलाई यहाँ केवल शारीरिक सहाराका रूपमा मात्र होइन, बालकको भविष्यको आधारशिलाका रूपमा प्रस्तुत गरिएको छ । बुबाको थकित अनुहार र आँखामा देखिएको संघर्षले सन्तानलाई पढाउन एक अभिभावकले गर्ने त्यागलाई झल्काउँछ । बाको आँखामा थकाइ र केही हदसम्म डर देखिन्छ । आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्न सक्छु कि सक्दिन भन्ने चिन्ता बुबाको आंखामा देखिन्छ । तर, बालकको शान्त मुद्राले बुबाप्रतिको पूर्ण भरोसालाई दर्शाउँछ ।

चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ ।  नेपालका आम गाउँका विद्यार्थीहरूको साझा भोगाइ हो भन्ने दाबी गर्छ । चलचित्रको शीर्षक ‘रोल नं १’ ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१’ अंक हासिल गर्न एउटा निम्मवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ ।

गत वर्ष सार्वजनिक गरिएको चलचित्रको फर्स्टलुक पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले पनि धेरैको ध्यान खिचेको थियो । बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्ण बहादुरको सारङ्गी’को टिमले बनाएको सिनेमा भएकाले र पोस्टरमा देखिएको ‘इमोसनल टोन’ले दर्शकलाई चलचित्रप्रति भावनात्मक रूपमा पहिल्यै जोड्ने निश्चित छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।  विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

Read More

सुरेन्द्र पाण्डेको टिप्पणी- युवाले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक नपाउने वातावरण बनाउनु लज्जास्पद

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको टिप्पणी गरेका छन् ।

पाण्डेले एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय भएको बताएका छन् ।

उनले भनेका छन्- ‘जब नेतृत्व “म नै पार्टी र पार्टी नै म” भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ ।’

नेता पाण्डेले ९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुले कहिले खुल्ने ? भन्दै एमाले नेतृत्वलाई प्रश्न गरेका छन् । उनले अब पुरानो ढर्रा र गुटगत घेराबन्दीले एमाले नचल्ने स्पष्ट भएको बताउदै पार्टीलाई कसैको ‘निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य भएको बताएका छन् ।

Read More

ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

ट्रम्पले आउने केही साताभित्र अमेरिका इरानमाथि थप आक्रमण तीव्र बनाउन सक्ने चेतावनी दिएका थिए । उनले इरानका विद्युत् केन्द्र र तेल कारोबारलाई लक्षित गर्ने धम्कीसमेत दोहोर्‍याएपछि बजारमा तनाव बढेको हो ।

यसअघि ट्रम्पको भाषणबाट मध्यपूर्वमा देखिएको तनाव कम हुने अपेक्षा गरिएको थियो । तर उनले त्यसको विपरीत तेलमा निर्भर देशहरूलाई होर्मुज क्षेत्रको संकट आफैं सम्हाल्न आग्रह गर्दै हालका लागि अमेरिकी तेल खरिद गर्न सुझाव दिएका थिए ।

यस प्रभावले अमेरिकी कच्चा तेलको मानक वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य भाषणअघि करिब ९८ डलर प्रति ब्यारेल रहेकामा झण्डै १०४ डलर पुगेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय मानक ब्रेन्ट कच्चा तेलको मूल्य पनि करिब १०० डलरबाट बढेर झण्डै १०६ डलर प्रति ब्यारेल पुगेको छ ।

Read More

बगदादबाट अमेरिकी पत्रकार किटल्सनको अपहरण

काठमाडौँ । इराकको राजधानी बगदादबाट अमेरिकी स्वतन्त्र पत्रकार शैली किटल्सनको अपहरण गरिएको घटना सार्वजनिक भएको छ । मंगलबार अज्ञात समूहले अल सादुन सडक नजिकैबाट किटल्सनलाई जबरजस्ती गाडीमा राखेर लगेका हुन् ।

घटनासँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा फैलिएको छ, जसमा हतियारधारी व्यक्तिहरूले पत्रकार किटल्सनलाई गाडीबाट तानेर अपहरण गर्दै लगेको देखिन्छ ।

इराकको गृह मन्त्रालयले घटनाको पुष्टि गर्दै पत्रकार किटल्सन अपहरणमा परेको जनाएको छ । मन्त्रालयका अनुसार सुरक्षाकर्मीलाई तत्काल परिचालन गरिएको जनाएको छ ।

अपहरणमा परेकी पत्रकार किटल्सन पछिल्लो समय एक अन्तर्राष्ट्रिय समाचार वेबसाइटका लागि मध्यपूर्व केन्द्रित रिपोर्टिङ गर्दै आएकी थिइन् । उनी युद्धग्रस्त क्षेत्रबाट समाचार संकलन गर्ने पत्रकारका रूपमा परिचित छन् ।

गृह मन्त्रालयका अनुसार प्राप्त गोप्य सूचनाको आधारमा सुरक्षाकर्मीले अपहरणकारीको खोजी गरेका थिए । यस क्रममा अपहरणमा प्रयोग गरिएको एउटा गाडी दुर्घटनामा परेपछि एक जना संलग्नलाई पक्राउ गरिएको र केही सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

तर पत्रकारलाई लगिएको अर्को गाडी भने घटनास्थलबाट फरार भई बगदादको दक्षिणतर्फ गएको जनाइएको छ ।

यस घटनामा इरान समर्थित सशस्त्र समूहको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।

पत्रकार किटल्सनले यसअघि मध्यपूर्व, विशेष गरी इराक र सिरियाको युद्धपछिको अवस्थाबारे विस्तृत रिपोर्टिङ गर्दै आएकी थिइन् । उनको रिपोर्टिङमा स्थानीय अवस्था, द्वन्द्वको प्रभाव र मानवीय संकटका विषय समेटिने गरेका थिए ।

यसैबीच, इराकको कमजोर सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ । अमेरिकी दूतावासले हाल इराकमा बसोबास गर्नु जोखिमपूर्ण रहेको चेतावनी दिएको छ ।

Read More

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् ।

सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।

विहिबार बिहान मन्त्रालयमा विभिन्न सहकारीका पीडितहरूले मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेको छन् ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन् । 

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ ।

Read More

एसइईमा नयाँ अभ्यास: परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण, एक महिनामा नतिजा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षा तालिका अनुसार चैत २९ गते परीक्षा सकिने छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी हुदै छन् । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र आंशिकतर्फ ७ हजार ८५५ परीक्षार्थी रहेका छन्। त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३१२ र आंशिकमा २६४ गरी १६ हजार ५७६ जना परीक्षार्थी रहेका छन ।

यो वर्षको एसईई परीक्षामा छात्रभन्दा छात्रा परीक्षार्थीको संख्या बढिरहेको छ । छात्रको संख्या २ लाख ५४ हजार ८०१ रहेको छ भने २ लाख ५७ हजार ६१३ छात्रा छन् । ७ जना फरक लिंगी परीक्षार्थी रहेको बोर्डले जानकारी दिएको छ ।

यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार एक महिनामै परीक्षाफल सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।

हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण शूरु हुने उनले बताए । प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको छ । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार वैशाख ५ गतेभित्र उत्तरपुस्तिकासहित अंकभार कार्यालयमा आइपुग्ने र वैशाख १९ गतेभित्र नतिजा सार्वजनिक गरिसक्ने तयारी गरिएको छ ।

Read More

आइपिएलमा आज कोलकोता र सनराइजर्स भिड्दै

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछन् । आज कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । कोलकताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

कोलकोता र सनराइजर्स दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । कोलकोताले मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो भने सनराइजर्स हैदरावाद रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो । पहिलो खेल हारेकाले दुवैका लागि यस खेलमा जित निकाल्ने दबाब हुने छ ।

दुवै टिमका सम्भावित प्लेइङ ११:

कोलकाता नाइट राइडर्स: १ फिन एलेन*, २ अजिंक्य रहाणे (कप्तान), ३ क्यामरन ग्रीन*, ४ अङ्क्रिश रघुवंशी (विकेटकीपर), ५ रिंकु सिंह, ६ रमनदीप सिंह, ७ अनुकुल रोय, ८ सुनिल नारायण*, ९ वैभव अरोरा, १० बृहन्ना चराबराब, ११, बृहस्पति, १२ कार्तिक त्यागी
सनराइजर्स हैदरावाद: १ अभिषेक शर्मा, २ ट्राभिस हेड*, ३ इशान किशन (कप्तान र विकेटकीपर), ४ हेनरिक क्लासेन*, ५ नितिश कुमार रेड्डी, ६ अनिकेत वर्मा, ७ सलिल अरोरा, ८ हर्ष दुबे, ९ इशान मालिंगा/लियाम लिभिङस्टोन*, १० डेभिड पाने, ११ हर्षल पटेल, १२ जयदेव उनाडकट ।  

Read More