२०८३ बैशाख १३

क्रियाशिल सदस्यतामा अलमल नपरौं, झनै व्यवस्थित गर्न खोजेका हौं- महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । एक पटक डिजिटल रेकर्ड भए पछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एक पटक आ आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरुलाई आग्रह गरे । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे ।

‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने,‘यसमा कोही अलमलमा नपरौं ।’

महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधि बारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए ।

महामन्त्री पौडेलले पार्टीको सदस्य सँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए ।

महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानु पर्ने व्यवस्था गरिएको बताए ।

‘हरेक क्रियाशिल सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,’ उनले भने, ‘यसले विवरणमा पारदर्शिता समेत कायम गर्न सकिनेछ ।’

कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुंग्याइने उनले बताए ।

कांग्रेसले जिल्ला सभापति मार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापति मार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ ।

सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।

Read More

चलचित्र ‘महाराजधिराज’ मा पूजा शर्माको इन्ट्री

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ । निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो ।

केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई भित्र्याएको छ । यसै साता ‘महाराजधिराज’मा हेमन्त बुढाथोकी पनि अनुबन्ध भएका छन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दै गर्दा सिनेमाको लाइनअप पनि थप बलियो बन्दै गएको छ ।

यसअघि नयाँ वर्षको अवसर पारेर चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो ।

‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको छ ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा पुष्प, पूजा र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे ।

चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Read More

दक्षिणी लेबनानमा एक इजरायली सैनिकको मृत्यु

काठमाडौँ । दक्षिणी लेबनानमा जारी झडपका क्रममा एक इजरायली सैनिकको मृत्यु भएको छ । आइतबार इजरायली सेनाले उक्त जानकारी दिएको हो ।

सेनाका अनुसार घटनामा अन्य नौ सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । यसअघि पनि एक सैनिकको मृत्यु भएको जानकारी दिइएको थियो ।

१० दिने युद्धविराम सुरु भएयता दक्षिणी लेबनानमा इजरायली सैनिकको मृत्यु भएको यो दोस्रो घटना हो । उक्त युद्धविराम अमेरिकाको पहलमा अप्रिल १७ मा घोषणा गरिएको थियो ।

छ हप्तादेखि जारी इजरायल र हिज्बुल्लाहबीचको संघर्षमा हालसम्म १५ इजरायली सैनिकको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।

यसैबीच लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सामाजिक सञ्जालमार्फत उक्त घटनाको पुष्टि गरेका हुन् ।

ती सैनिक अन्तर्राष्ट्रिय शान्ति मिसनअन्तर्गत लेबनानको दक्षिणी क्षेत्रमा खटिएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गरेका छन् ।

प्रारम्भिक अनुसन्धानमा आक्रमण इरान समर्थित हिज्बुल्लाहबाट भएको हुनसक्ने आशंका गरिएको छ । तर हिज्बुल्लाहले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ । साथै उसले लेबनानी सेना र शान्ति सेनाबीच थप समन्वय आवश्यक रहेको बताएको छ ।

Read More

रास्वपाको जिल्ला अधिवेशन बैशाख १५ देखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको पहिलो महाधिवेशनमा केन्द्रित हुने भएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले यहि बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यसअघि पटक पटक सर्दै आएको रास्वपाको महाधिवेशन आगामी भदौ-असोजसम्म गरिसक्ने तयारी शुरु भएको बताइएको छ । 

Read More

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।

उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि, आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ ।

तर फेसलेस बनाउँदा आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नु पर्ने र विश्वविद्यालयका प्रणालीहरूसँग अन्तरआवद्धता नभएकाले आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था रहेको थियो ।

महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग अन्तरआवद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत लिइएको छ ।

एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस डाउनलोड गर्न सक्नेछन् । सर्टिफिकेटमा क्यूआर कोड भएकाले क्यूआर स्क्यानरबाट हेर्न सकिनेछ ।

त्रिवि र केयूसँग अन्तरआवद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा त्रिवि र केयूसँग फेसलेस अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरणहरू देखिने र आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।

Read More

काँग्रेसको संविधान संशोधन अध्ययन समितिले पायो पूर्णता

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरेको समितिलाई पूर्णता दिएको छ ।

केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गते बसेको बैठकले पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा वरिष्ठ अधिवक्ताहरू र कानुन क्षेत्रका विज्ञहरू सदस्यका रूपमा रहेका छन् भने राजु कटुवाल सदस्य सचिव तोकिएका छन् ।

समितिमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितकुमार बस्नेत, रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्य रहेका छन् ।

समितिलाई संविधान निर्माणका क्रममा विभिन्न समुदाय र समूहबाट उठेका माग, आन्दोलन तथा भएका सहमतिहरूको अध्ययन–विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । साथै संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या, संघीयता कार्यान्वयन र विभिन्न तहका सरकार सञ्चालनमा देखिएका चुनौतीबारे अध्ययन गर्ने कार्यादेश दिइएको छ ।

त्यसैगरी सुशासन, सेवा प्रवाह, प्रतिनिधित्वका विषयमा उठेका माग, पार्टीको चुनावी प्रतिज्ञापत्रमा उल्लेख गरिएका संविधान संशोधनसम्बन्धी बुँदा तथा पछिल्लो समय विकसित राजनीतिक अवस्थाको समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ ।

समितिले लोकतन्त्रका मूल्य, नागरिक अधिकार र समावेशी सिद्धान्तलाई अझ सुदृढ बनाउने गरी सुझावसहितको प्रतिवेदन तयार पार्नेछ । सोही प्रतिवेदनका आधारमा नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो धारणा तय गर्ने जनाएको छ ।

पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य राजनीतिक दल, नागरिक समाज र विज्ञहरूसँग संवाद अघि बढाउने तयारी गरेको छ । साथै संविधान संशोधनसम्बन्धी बहस अघि बढाउन सरकारले लिएको पहलप्रति कांग्रेसले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

Read More

अमेरिका र इरानबीच फेरी वार्ताको सम्भावना, इस्लामावादमा सुरक्षा कडा

काठमाडौँ । अमेरिका र इरानबीच सम्भावित वार्ताअघि पाकिस्तानले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इस्लामाबाद तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सुरक्षा निकाय परिचालन गरिएको जनाइएको छ । संवेदनशील स्थान, विशेषगरी विमानस्थल र सैन्य क्षेत्रमा निगरानी थप कडा बनाइएको छ ।

यससँगै ड्रोन उडानलगायत विभिन्न गतिविधिमा प्रतिबन्ध लगाइएको छ । वार्ताको मिति अझै तय नभए पनि पाकिस्तानले सम्भावित अवस्थालाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएको छ ।

अमेरिका र इरानबीच सोमबार वार्ता हुने बताइएको भएपनि दुवै पक्षले यसको आधिकारिक पुष्टि अहिलेसम्म गरेका छैनन् ।

Read More

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। “समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ।

पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ।

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा उल्लेख छ ।

Read More

कांग्रेसको कोइराला पक्षले सर्वोच्चको फैसला स्वीकार गर्ने, देउवा पक्षको भेलामा नजाने

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सर्वोच्चको फैसलालाई स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निर्णय गरेको छ ।

कोइराला पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वलाई मान्यता दिँदै अघि बढ्ने निष्कर्ष निकालेको निवर्तमान उपसभापति धनराज गुरूङले जानकारी दिएका छन् ।

अब पार्टी सुधारमा केन्द्रित हुने भन्दै कोइराला पक्ष देउवा पक्षले बोलाएको भेलामा सहभागी नहुने गुरुङले बताएका छन् ।

देउवा पक्षले आज १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको भेला गरिरहेको छ ।

Read More

इरानको दबाब मान्दैनौं- ट्रम्प

काठमाडौँ । अमेरिकाले इरानको दबाब नमान्ने स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरुका विषयमा दबाब सिर्जना गरिरहेको भए पनि अमेरिका नझुक्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले दुई देशबीच संवाद जारी रहेको र वर्तमान अवस्थाबारे छलफल भइरहेको जानकारी दिए । उनले इरानसँग पूर्ण सहमति नहुँदासम्म उसका बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहने पनि बताएका छन् ।

यसैबीच इरानले होर्मुज जलडमरु पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । इरानको रिभोल्युशनरी गार्ड नौसेनाले अमेरिकाले नाकाबन्दी हटाएसम्म यो महत्वपूर्ण समुद्री मार्ग बन्द रहने चेतावनी दिएको छ ।

यसअघि इरानले शुल्क र अनुमति लिएर जहाज आवतजावत गर्न दिएको थियो । तर पछिल्लो निर्णयसँगै उसले कडा नीति अपनाउँदै मार्ग पूर्ण रूपमा बन्द गरेको हो ।

इरानी नौसेनाले उक्त निर्णय उल्लंघन गर्ने जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ । इरानले अमेरिकी नाकाबन्दीलाई युद्धविराम उल्लंघन भएको आरोप लगाउँदै त्यसको जवाफस्वरूप यस्तो कदम चालिएको जनाएको छ ।

Read More