२०८३ बैशाख १३

संगठन मजबुत बनाउन रास्वपा मैदानमा, वैशाख १५ देखि अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर आफ्नो संगठन सुदृढ गर्ने उद्देश्यसहित वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अधिवेशनको मिति तय गर्नुका साथै आवश्यक कार्यविधि पनि स्वीकृत गरेको हो। महामन्त्री कविन्द्र बुर्लाकोटी ले अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट निर्देशिका तयार पारिएको जानकारी दिए।

बैठकले केन्द्रीय संगठन विभागअन्तर्गत विज्ञ समूहमा तीन सदस्य मनोनयन गर्ने निर्णय गरेको छ। यसमा कमल खनाल (रुपन्देही), तोरण बिक (सुर्खेत) र उदय सापकोटा (रौतहट) चयन भएका छन्।

त्यसैगरी, प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने नीति पनि पार्टीले लिएको छ।

बैठकले प्रवास विभाग प्रमुखको जिम्मेवारी दीपक बोहरा लाई दिएको छ। उनी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा सांसदसमेत हुन्।

रास्वपाले आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि तयार पार्न मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। साथै, केन्द्रीय समिति बैठकका लागि एजेन्डा पनि तय गरिएको छ।

पार्टीका अनुसार आगामी बैठकमा पदाधिकारी मनोनयन, विधान संशोधन तथा महाधिवेशन कार्यविधि जस्ता महत्वपूर्ण विषयमा विस्तृत छलफल हुनेछ।

Read More

निर्णय स्वीकार, तर असन्तुष्टि बाँकी: कांग्रेसभित्र एकताको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने निष्कर्ष निकालेका हुन् ।

देउवा पक्षका नेता श्यामकुमार घिमिरे अब पार्टीले आन्तरिक एकतालाई प्राथमिकता दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने तथा वर्तमान सभापति गगन थापाले समावेशी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । उनले भने- ‘कानुनी पाटो अब सकिएको छ । राजनीतिक रुपले हामीले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आजको आवश्यकता हो । अब कानुनी लडाई सकिएको छ । अब राजनीतिक रुपले अहिलेका वर्तमान सभापति संस्थापन पक्षका गगन थापाले सबैलाई समेट्ने गरी भूमिका खेल्नुपर्छ भन्ने हो । असन्तुष्ट पक्षहरु हिजोको संस्थापन पक्षले पनि अब पार्टीलाई एकताबद्ध गरेर लैजाने बाटोमा जानुपर्छ ।’

उनले असन्तुष्ट पक्षलाई पनि एकताको प्रक्रियामा सहभागी गराउँदै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए ।

बैठकमा देउवा पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेपनि केहि विषयमा अझै अस्नातुष्टि देखिएको र पुनरावलोकनमा जाने विषयमा समेत छलफल भएको बुझिएको छ ।

Read More

भन्सार कडाइविरुद्ध वीरगञ्ज नाकामा धर्ना, सरकारको निर्णयको चर्को विरोध

काठमाडौँ । भारतबाट ल्याइने सामानमा कडाइ गरिएको भन्सार नियमको विरोध गर्दै जनअधिकार पार्टी ले आइतबार वीरगञ्ज नाका मा धर्ना दिएको छ।

सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भन्सार कर नतिरी ल्याउन नपाइने व्यवस्था कडाइका साथ लागू गरेपछि विरोधस्वरूप पार्टीले वीरगञ्जस्थित शंकराचार्य गेट क्षेत्रमा प्रदर्शन गरेको हो।

पार्टीका अध्यक्ष शरदसिंह यादव को नेतृत्वमा भएको धर्नामा नेता–कार्यकर्ताहरूले करिब एक घण्टा सडकमा बसेर सरकारको निर्णयप्रति असन्तुष्टि जनाए।

‘रोटी-बेटी सम्बन्धमा असर’
धर्नालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारको निर्णयले नेपाल–भारतबीचको परम्परागत सम्बन्धमा असर पार्ने दाबी गरे। “सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरेर अव्यवहारिक नियम लागू गरिएको छ,” उनले भने, “यो निर्णय तत्काल फिर्ता हुनुपर्छ।”

उनले मधेसी समुदाय सरकारले गर्ने निर्णयप्रति सकारात्मक अपेक्षामा रहेको बेला यस्तो कदम चालिनु दुःखद भएको टिप्पणी गरे। भन्सार कडाइका कारण दैनिक उपभोगका सामान ल्याउनसमेत सर्वसाधारणले सास्ती भोग्नुपरेको उनको भनाइ थियो।

महँगी बढ्दा कर कडाइमा सरकार केन्द्रित
यादवले बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए। खाद्यान्न, इन्धनलगायतका वस्तुको मूल्य निरन्तर बढिरहेका बेला सरकार भने कर संकलनमै केन्द्रित भएको उनको भनाइ थियो।

उनले भन्सार कडाइलाई “मधेसमाथिको अघोषित नाकाबन्दी” को संज्ञा दिँदै यसको व्यापक असर पर्ने चेतावनी समेत दिए।

सरकारको तर्क: राजस्व चुहावट रोक्ने प्रयास
सरकारले भने नेपाल–भारत सीमाबाट हुने राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार कर तिर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ। यो प्रावधान भन्सार महसुल ऐन, २०८१ को दफा १३(३) अन्तर्गत रहेको भए पनि पछिल्ला दिनहरूमा मात्रै कडाइका साथ कार्यान्वयनमा ल्याइएको हो।

उक्त निर्णयप्रति सीमावर्ती क्षेत्रका राजनीतिक दल, स्थानीयवासी तथा नागरिक समाजबाट निरन्तर आलोचना हुँदै आएको छ।

Read More

कांग्रेस अनुशासन समितिको बैठक सोमबार, खड्कामाथि सोधिएको स्पष्टीकरणबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने तय भएको छ।

समितिका सचिव दिनेश थापामगर का अनुसार बैठक दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पछिल्ला अनुशासनसम्बन्धी विषयहरूमा छलफल हुने जनाइएको छ।

यसअघि समितिले पार्टी नेता पूर्णबहादुर खड्का सँग स्पष्टीकरण मागेको थियो। सोही विषयलाई समेत बैठकमा प्राथमिकताका साथ उठाइने बुझिएको छ।

पार्टीभित्र अनुशासन कायम गर्ने जिम्मेवारी पाएको समितिको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Read More

एक खर्बको डायस्पोरा बण्ड भन्दा सामूहिक लगानी कोषमार्फत समाधान खोज्न सुझाव

काठमाडौँ । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले सरकारले अघि सारेको एक खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ सफल हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

नयाँ सरकारले एनआरएनलाई लक्षित गर्दै पूर्वाधार विकास र निर्यातमुखी उद्योगमा लगानी आकर्षित गर्न वार्षिक १ खर्ब रुपैयाँ बराबरको डायस्पोरा बण्ड जारी गर्ने महत्त्वाकाङ्क्षी योजना राष्ट्रिय प्रतिविद्धतामार्फत सार्वजनिक गरेको थियो ।

निवर्तमान अध्यक्ष श्रेष्ठले विना अध्ययन सरकारले ल्याएको यस्तो महत्त्वाकाङ्क्षी योजनाभन्दा ‘सामूहिक लगानी कोष’ बढी व्यवहारिक हुने उल्लेख गरेका हुन् ।

संघको १२औँ महाधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन भई गैरआवासीय नेपालीहरू उत्साहित भएको वर्तमान सन्दर्भमा श्रेष्ठले सरकारको लगानी रणनीतिको छिद्र पनि केलाएका छन् । “सरकारले प्रस्ताव गरेको १ खर्बको डायस्पोरा बण्ड सफल हुने सम्भावना अत्यन्तै न्यून देखिन्छ। यो प्रस्ताव सरकारले विना अध्ययन हचुवाको भरमा ल्याएको देखिन्छ,” उनले फेसबुकमा लेखेका छन् ।  विगतमा राष्ट्र बैङ्कले जारी गरेका बण्डहरू सफल नहुनुको मुख्य कारण गैरआवासीय नेपालीहरूको रुचि सरकारी बण्डभन्दा ‘इक्विटी’ मा आधारित लगानीमा हुनु रहेको उनको विश्लेषण छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठले तीन प्रकारका सामूहिक लगानी कोषको प्रस्ताव पनि गरेका छन् । विदेशमा रहेका करिब ८० लाख नेपालीको १०० खर्बभन्दा बढीको सम्पत्तिलाई नेपालको विकासमा लगाउन ‘डायस्पोरा सामूहिक लगानी कोष’ को मोडेल अघि सारेका हुन् ।

उनले ५० अर्बको साना लगानीकर्ता कोषमा  ५ लाख प्रवासी नेपालीले ३ महिनामा २५ हजारका दरले लगानी गर्दा दुई वर्षमा १ खर्बको कोष बन्ने विकल्प अघि सारे । यसलाई श्रमिक र विद्यार्थी लक्षित बनाउनु पर्नेमा जोड दिएका छन् ।

यसैगरी १० अर्बको नेपाली पासपोर्ट बाहक कोषमा लगानी र मुनाफा नेपालमै परिचालन गर्ने गरी नेपाली नागरिक सरह लगानीको व्यवस्था हुनु पर्नेमा जोड दिएका छन् । त्यस्तै १० अर्बको विदेशी पासपोर्ट बाहक कोषमा ८५ प्रतिशतसम्म आइपिओ जारी गर्न पाइने र लगानी तथा मुनाफा विदेश लैजान पाउने  व्यवस्था गर्नु पर्ने सुझाएका छन् ।

कोषहरू सञ्चालनका लागि धितो पत्र सम्बन्धी ऐन र वैकल्पिक विकास वित्त परिचालन ऐनमा आवश्यक सुधार गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यसरी जुटाएको पुँजीलाई जलविद्युत, डेटा सेन्टर, हरित हाइड्रोजन, रासायनिक मल उद्योग र पर्यटन जस्ता ठूला पूर्वाधारमा लगाउन सकिने उनको प्रस्ताव छ ।

यसैगरी निवर्तमान अध्यक्ष श्रेष्ठले १२औँ महाधिवेशनबाट डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्दै संस्थामा एकता कायम गर्न भूमिका खेल्ने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद पनि दिएका छन् ।

Read More

निजी क्षेत्रप्रतिको दृष्टिकोण बदल्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई केवल नाफामुखी संस्थाको रूपमा हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे। उनका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै रहेको छ भने रोजगारी सिर्जनामा पनि यही क्षेत्र अग्रस्थानमा छ।

ढकालले पूर्वाधार निर्माणदेखि आर्थिक गतिविधिको विस्तारसम्म निजी क्षेत्रको सहभागिता अपरिहार्य भएको उल्लेख गरे। “निजी क्षेत्रले नाफा मात्रै कमाउँछ भन्ने धारणा यथार्थसँग मेल खाँदैन,” उनले भने।

सुदूरपश्चिममा पर्यटनको ठूलो सम्भावना
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश पर्यटनका हिसाबले निकै सम्भावनायुक्त क्षेत्र भएको बताए। उनले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई लक्षित गर्दै आफूले सो क्षेत्रमा लगानी अघि बढाएको जानकारी दिए। “सुदूरपश्चिममा जहाँ हेरे पनि सम्भावना देखिन्छ,” उनले भने, “यहाँको पर्यटन पूर्वाधार विकासले समग्र देशकै पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनेछ।” उनले बडिमालिका र रामारोशन जस्ता धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको उल्लेख गर्दै यस्ता स्थानको विकासमा थप लगानी आवश्यक रहेको बताए।

भारत नजिक भएकाले औद्योगिक अवसर
ढकालका अनुसार सुदूरपश्चिम भारतका ठूला औद्योगिक क्षेत्रसँग नजिक भएकाले व्यापार र उद्योग विस्तारका लागि समेत अनुकूल छ। यसले स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

सरकारसँग निरन्तर समन्वय
अध्यक्ष ढकालले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद र पहल भइरहेको बताए। उनले निजी क्षेत्र र सरकारबीच सहकार्य मजबुत बनाउनुपर्नेमा जोड दिँदै त्यसबाट समग्र अर्थतन्त्र लाभान्वित हुने विश्वास व्यक्त गरे।

Read More

इरानसँग वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान पुग्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान पुग्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले इरानले शनिबार होर्मुज जलडमरुमा गोलीबारी गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । उनले जलडमरु बन्द गर्दा इरानले दैनिक करिब ५० करोड अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्नु परेको दाबी गरेका छन् भने अमेरिकालाई कुनै क्षति नभएको उल्लेख गरेका छन् ।

ट्रम्पले इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरेमा उसका ऊर्जा केन्द्र र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी पनि दिएका छन् ।

यसैबीच अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको युद्धविराम वार्ताअघि पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा सुरक्षा बल परिचालन गरिएको, पर्यटकीय स्थल बन्द गरिएको र ठूला होटलहरूलाई बुकिङ रद्द गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाइएको छ ।

औपचारिक घोषणा नभए पनि अधिकारीहरूले वार्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यस्थतामा संलग्न एक क्षेत्रीय अधिकारीका अनुसार अमेरिकी अग्रिम सुरक्षा टोलीहरू समेत इस्लामाबाद पुगिसकेका छन् ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरीबाट पक्राउ

काठमाडौँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

शिव शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

पोखरामा जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं ।  पोखरा महानगरपालिका-२६ बरालडाँडा डेरा गरी बस्ने ४० वर्षीया उषा रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १९ हजार ४ सय ३७ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

‘चिरञ्जीवी भवः’ बाट डेब्यु गर्दै प्रशंसा रायमाझी

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।

चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ बाट प्रशंसाले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।

यस चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को पावन अवसर पारेर गरिएको थियो । लामो समयदेखि टेलिभिजन पर्दामा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता हिट सिरिजमार्फत दर्शकको मन जित्दै आएका जिग्री र काकुको यो सहकार्यलाई चलचित्र वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो चलचित्रलाई दीपकले निर्देशन गर्दैछन् भने यसको कथा कुमारको हो । 

चलचित्र ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ । चलचित्रको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कुमार कट्टेलले जानकारी दिए ।

उनका अनुसार फिल्मको कथा अहिलेकै समयको हो । चलचित्रमा सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा छन् ।

यसअघि दीपकप्रसाद आचार्यले निर्देशन गरेको चलचित्र ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।

हाल चलचित्रको स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको छ । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र फिल्मको छायांकन सुरु गर्ने तयारी छ ।

करिब ८ वर्षदेखि टेलिभिजनमा निरन्तर सहकार्य गरिरहेका जिग्री र काकुको यो ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली चलचित्रमा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ । त्यस्तै, लाखौँ फलोअर्स कमाएकी प्रशंसा रायमाझीको डेब्युले फिल्मप्रति युवा दर्शकको आकर्षण थप बढ्ने निश्चित देखिन्छ ।

Read More