२०८३ बैशाख १३

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले गरेका तीन प्रमुख निर्य सार्बजनिक गरिएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार खानेपानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतामा तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रुप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले नेपाल सरकार, मन्त्रिपरिषदको २०७५ भदौँ २१ को निर्णयबमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिानको पुरै जग्गा (११४–३–०–०) राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको छ । 

त्यस्तै सरकारले सरकारी निकायमा भएका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

Read More

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

काठमाडौँ । नेपाल चिकित्सक संघले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने व्यक्तिले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिएको र उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको आरोप लगाएको छ ।

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि तथ्यहीन आरोप लगाई समाजमा भ्रम सिर्जना गर्ने कार्यको कडा निन्दा गरेको छ । यस्ता गतिविधिले नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने तथा सेवा प्रवाहमा समेत असर पार्ने संघको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ । साथै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कानुनी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

Read More

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ ।

गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि पछिलो पटक मन्त्रिपरिषदको बैठक बसेको हो ।

Read More

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

काठमाडौँ । श्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख राष्ट्रपति हुनुपर्ने सुझाव दिएको हो ।

श्रम संस्कृतिले सरकार गठन गर्दा कार्यकारी प्रमुखले आफ्नो कार्यसम्पादन सहज हुने व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् बनाउने व्यवस्था हुनुपर्ने पनि सुझाएको छ ।

पार्टीले मन्त्रिपरिषद् गठन गर्दा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । साथै, व्यवस्थापिकाको मुख्य भूमिका कानुन निर्माण, सरकारको कामको निगरानी, मूल्याङ्कन र आवश्यक सुझाव दिने हुनुपर्ने बताइएको छ ।

त्यसैगरी कार्यकारी प्रमुखको अधिकार र सीमालाई स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, निरंकुश बनेमा महाअभियोग लगाउने व्यवस्था राख्नुपर्ने र संसदबाट महाअभियोग पारित भएमा पदमुक्त हुने प्रावधान आवश्यक रहेको प्रस्तावमा समेटिएको छ ।

पूर्ण समावेशी राज्य प्रणालीको अवधारणाअनुसार सबै जातजातिका नागरिकलाई राज्यका हरेक अंगमा सहभागिता गराउने, राजनीतिक पददेखि सेना, प्रहरी र प्रशासनिक संयन्त्रसम्म समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।

Read More

अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

काठमाडौँ । अमेरिकाका नौसेना सचिव जोन फेलनलाई पदबाट हटाइएको छ । पेन्टागनले छोटो विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको भए पनि हटाउनुको स्पष्ट कारण खुलाएको छैन ।

मिडिया रिपोर्टका अनुसार पछिल्ला केही महिनादेखि फेलन र पेन्टागनको शीर्ष नेतृत्वबीच मतभेद बढ्दै गएको थियो । विशेषगरी जहाज निर्माण कार्यक्रम, कार्यशैली र नेतृत्वका विषयमा रक्षा मन्त्री पिट हेगसेथसँग उनको विवाद चर्किएको बताइएको छ ।

यो निर्णय अमेरिका इरानविरुद्ध कडा रणनीति अपनाइरहेको समयमा आएको हो । युद्धविरामको चर्चा भइरहे पनि अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी कायम राखेको छ, जसमा नौसेनाको महत्वपूर्ण भूमिका रहेको छ । यस्तो अवस्थामा शीर्ष तहमा गरिएको परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पछिल्लो एक महिनामा यो दोस्रो ठूलो सैन्य फेरबदल हो । यसअघि अप्रिल २ मा रक्षा मन्त्री हेगसेथले अमेरिकी सेनाका प्रमुख र्यान्डी जर्जलाई पनि पदमुक्त गरेका थिए । लगातार भइरहेका यस्ता निर्णयले पेन्टागनभित्र नेतृत्व तहमा ठूलो परिवर्तन र कडाइ भइरहेको संकेत देखिएको छ ।

Read More

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ को दोस्रो बैठक आज दिउँसो तीन बजे बस्दै छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे  छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का पूर्वमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी, नेपालका डा. सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सदस्य रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने कार्यदलमा अहिलेसम्म आफ्नो सदस्य पठाएको छैन ।  

Read More

सुकुम्बासी बस्ती खाली गराउने उर्दीले सरकारको असली चरित्र नाङ्गो भयो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयप्रति कडा प्रतिक्रिया दिदै सरकारको असली चरित्र नाङ्गो भएको टिप्पणी गरेका छन् ।

उनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले बस्ती खाली गराउन निर्देशन दिएको भन्दै यसले सरकारको वास्तविक चरित्र उजागर गरेको आरोप लगाए ।

बस्नेतले निर्वाचनअघि सुकुम्बासी बस्ती जोगाउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै अहिलेको कदम त्यसकै विपरीत भएको बताए । उनले सुकुम्बासीलाई व्यवस्थापन गर्नुको साटो हटाउने नीति अपनाइएको भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्- ‘ निर्वाचनको मुखमा उहाँकै दलका सभापति रवि लामिछानेले “सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठूलो भाषण दिदै प्रतिवद्धता जायर गर्नुभएको थियो । आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सिमित हो त ?’

उनका अनुसार सडक विस्तार र फुटपाथ व्यवस्थापनका नाममा साना व्यवसायी र स्थानीयवासीमाथि अन्याय भइरहेको छ । साथै, भन्सारमा कडाइ गर्दा गरिब वर्ग थप मारमा परेको उनले उल्लेख गरे । 

सरकारका पछिल्ला निर्णयहरूले लोकतान्त्रिक अभ्यास कमजोर बनाउँदै अधिनायकवादी शैलीतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले यस्तो नीति जनविरोधी भएको टिप्पणी गरे । उनले जनताले यस्ता कदम लामो समयसम्म सहेर नबस्ने चेतावनी समेत दिएका छन् ।

Read More

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक आज अपरान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Read More

बेलायतमा २००८ पछि जन्मिएकाले सुर्तीजन्य पदार्थ किन्न नपाउने

काठमाडौँ । बेलायतले धूम्रपान नियन्त्रणका लागि निकै कडा र ऐतिहासिक कदम चालेको छ ।

अब सन् २००८ पछि जन्मिएका व्यक्तिले जीवनभर सुर्तीजन्य पदार्थ किन्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले ‘सुर्तीजन्य तथा वेपसम्बन्धी विधेयक’ पारित गरिसकेको छ । संसदबाट पास भइसकेको यो विधेयक अब राजाबाट औपचारिक स्वीकृति पाएपछि कानुन बन्नेछ । यो व्यवस्था इङल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा लागू हुनेछ ।

सरकारका अनुसार सन् २०२७ जनवरी १ देखि यो कानुन कार्यान्वयनमा आउनेछ । त्यसपछि हरेक वर्ष सुर्ती किन्न पाउने न्यूनतम उमेर एक वर्षका दरले बढ्दै जानेछ । यस आधारमा सन् २००९ वा त्यसपछि जन्मिएका व्यक्तिले कानुनी रूपमा कहिल्यै चुरोट वा सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।

नयाँ व्यवस्थाअनुसार पसलहरूले ग्राहकको उमेर अनिवार्य जाँच गर्नुपर्नेछ । कम उमेरका व्यक्तिलाई सुर्ती बेचिएमा जरिवाना लाग्नेछ । साथै सुर्ती बिक्री गर्ने व्यवसायीले अनिवार्य दर्ता गर्नुपर्नेछ र यसको विज्ञापन तथा प्रचारमा कडाइ गरिनेछ ।

इलेक्ट्रोनिक चुरोट (वेप) मा पनि कडा नियम लागू गरिने भएको छ । विद्यालय, अस्पताल र बालबालिकाले प्रयोग गर्ने स्थानमा धूम्रपान पूर्ण रूपमा निषेध हुनेछ भने धेरै भित्री स्थानमा वेप प्रयोग गर्न पनि रोक लगाइनेछ ।

स्वास्थ्य अधिकारीहरूले यसलाई भविष्यका लागि ‘धूम्रपानरहित पुस्ता’ तयार गर्ने ऐतिहासिक कदमका रूपमा लिएका छन् । उनीहरूका अनुसार रोग लागेपछि उपचार गर्नु भन्दा सुरुमा नै रोकथाम गर्नु प्रभावकारी हुन्छ ।

सरकारी तथ्यांकअनुसार बेलायतमा हरेक वर्ष करिब ७६ हजार मानिस सुर्तीजन्य रोगका कारण ज्यान गुमाउछन् । क्यान्सर, मुटुरोग र फोक्सोसम्बन्धी समस्या यसको प्रमुख कारण हुन् ।

यद्यपि, केही व्यवसायी र आलोचकहरूले भने यस्तो कडा नीति भन्दा जनचेतना बढाउनु बढी प्रभावकारी हुने तर्क गरेका छन् । तर सरकार भने नयाँ पुस्तालाई सुरुदेखि नै सुर्तीबाट टाढा राख्न कडा कानुन आवश्यक रहेकोमा अडिग देखिएको छ ।

Read More

मंगल ग्रहमा जीवन बारे नयाँ बहस

काठमाडौँ । मंगल ग्रहमा जीवनको सम्भावनाको बहस फेरि एक पटक तीव्र भएको छ ।

नासाका रोभरहरूले पठाएका केही तस्बिरहरूमा पखेटा भएका कीराहरू, छेपारो जस्तो जीवहरू र शिकारी जस्तो जीवन रूपहरू देखिएका दाबीहरूले वैज्ञानिकहरूको ध्यान खिचेका छन् । मंगल ग्रहको सतहमा उड्ने कीराहरू वा धुलोमा लुकेका जीवहरूको विचार रोमाञ्चक भए पनि, धेरैजसो वैज्ञानिक समुदाय यी दावीहरूप्रति सतर्क र शंकास्पद रहेको छ ।

विज्ञहरूले मंगल ग्रह सौर्यमण्डलको सबैभन्दा अध्ययन गरिएको ग्रहहरू मध्ये एक हो, र जटिल जीवनको अस्तित्वको ठोस प्रमाण अझै फेला परेको छैन । हालका दाबीहरू मुख्यतया नासाका मंगल ग्रह रोभरहरू, विशेष गरी क्युरियोसिटी रोभरले खिचेका छविहरूको व्याख्यासँग सम्बन्धित छन् ।

सार्वजनिक रूपमा उपलब्ध रोभर छविहरूको अध्ययन गर्ने कीटविज्ञानी विलियम रोमोसरले तिनीहरूले कीरा जस्तो र सरीसृप जस्तो रूपहरू प्रकट गरेको दाबि गरेका छन् । उनले ‘मंगल ग्रहमा विद्यमान कीट-जस्तै जीवहरूको प्रमाण र यसको पूरक पदार्थ’ शीर्षकको आफ्नो प्रस्तुतिमा उनले केही आकारहरू पखेटा, पखेटा-जस्तै तहहरू र व्यवस्थित खुट्टा संरचनाहरूसँग मिल्दोजुल्दो रहेको व्याख्या गरेका छन् । रोमोसरले मंगल ग्रहमा जीवन अस्तित्वमा थियो र अझै पनि अवस्थित रहेको तर्क गरेका छन् ।

उनले अमेरिकाको कीट विज्ञान समाजको बैठकमा आफ्ना अवलोकनहरू पनि प्रस्तुत गरेका थिए । उनले केही आकारहरू गतिमा वा तिनीहरूको वरपरको वातावरणसँग अन्तरक्रिया गरिरहेको देखिएको दाबि गरेका छन् । मंगल ग्रहको उच्च-रिजोल्युसन छविहरू सार्वजनिक रूपमा उपलब्ध हुँदै जाँदा, यी दावीहरूले नयाँ बहस शुरु गरेको छ र स्वतन्त्र अनुसन्धानकर्ताहरूले यी छविहरूको विश्लेषण गरिरहेका छन् ।

अर्कोतर्फ वैज्ञानिकहरूले यी दावीहरूलाई भने अस्वीकार गरेका छन् । यी दावीहरू रोमाञ्चक भए तापनि, धेरैजसो वैज्ञानिकहरू तिनीहरूलाई स्वीकार गर्न अनिच्छुक छन् ।

यसको मुख्य कारण पेरेडोलिया भनिने मनोवैज्ञानिक घटना हो । पेरेडोलियाले मानिसहरूले परिचित अनुहारहरू, जनावरहरू, वा वस्तुहरू अनियमित आकारहरूमा देख्नुलाई जनाउछ । उदाहरणका लागि, बादलहरूमा अनुहारहरू वा चट्टानहरूमा जीवको आकार देख्नु । यसलाई ग्रह विज्ञानमा एक प्रमुख चुनौती मानिन्छ, किनकि वैज्ञानिकहरूले अन्य ग्रहहरूको सतह छविहरू अध्ययन गर्दा यो भ्रमबाट बच्नुपर्छ ।

विज्ञहरूले मंगल ग्रहमा देखिएका यी ढाँचाहरू वास्तवमा लाखौं वर्षमा हावा, धुलो र क्षरणबाट बनेको चट्टान हुन सक्ने सुझाव दिएका छन् ।

Read More