२०८३ बैशाख १७

विपक्षी दलको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

काठमाडौं । प्रमुख प्रतिदल नेपाली काँग्रेससहितका विपक्षी दलहरुले सुकुम्बासी बस्ति बिना तयारी खालि गराइएकोप्रति आपत्ति जनाएको छ । 

बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले काठमाडौँ उपत्यका समेत देशका विभिन्न स्थानमा सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत संकलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चितता नगरी हटाउने कार्य गरिएको भन्दै आपत्ति जनाएका हुन् । 

बैठकले सम्पूर्ण सुकुम्बासी नागरिकको जीविकोपार्जन, स्वास्थ्य जोखिम समेतका विषयलाई ख्याल गरी तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न समस्याको समाधान गर्न सरकारसंग माग गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् । 

बैठकले तत्काल महँगी र कालाबाजारी नियन्त्रण गरी गरीब, मजदुर, किसान र सीमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्रणाली स्थापना गरी सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न माग गरेको छ । 

त्यस्तै बैठकले ट्रेड युनियनका गतिविधिमा अंकुश लगाउने र विद्यार्थी संगठनका गतिविधिमा नियन्त्रण गर्ने सरकारको तयारीप्रति समेत आपत्ति जनाउदै त्यस्ता कुनै पनि कदम नचाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विपक्षी दलहरुको बैठकका निर्णयहरुः

१. यतिवेला काठमाडौं उपत्यकासमेत देशका विभिन्न स्थानमा सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकको छानविन, लगत संकलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सनिश्चिता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति हाम्रो गंभिर ध्यान आकर्षण भएको छ । हामी सरकारको यो रबैयप्रति आपत्ति र विरोध गर्दछौं । यो अवस्थामा त्यस्ता वस्तीमा बसोवास गर्ने नागरिकहरुमा व्यापक असुरक्षा, भय र त्रासको स्थिति सिर्जना भएको छ । यसमा पनि खासगरी बालवालिका, गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक र विपन्न परिवार बढी प्रभावित भएका छन् । संविधानले नेपाली नागरिकको आवासको हकको सुनिश्चिता गरेको छ । तसर्थ सम्पूर्ण सुकुम्वासी नागरिकको जिविकोपार्जन, स्वास्थ्य जोखिमसमेतका विषयलाई ख्याल गरी तत्काल सुरक्षित बसोवासको व्यवस्था गरी यो समस्याको दीर्घकालीन समाधान गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।

२. दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, तरकारी, फलफूल, मरमसला, तेलसमेत भान्सामा प्रयोग हुने अन्य खाद्यसामाग्रीहरुको चरम मूल्य बृद्धि भएको छ । महंगीले आकास छोएको छ । त्यसैले तत्काल महंगी र कालाबजारी नियन्त्रण गरी गरिब, मजदुर, किसान र सिमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्रणाली स्थापना गरी सुपथमूल्यका पसलहरु संचालन गर्न माग गर्दछौं ।

३. प्रत्येक वर्ष अभाव हुने रासायनीक मल यस वर्ष अमेरिका-इजरायल र इरानबीच भैरहेको युद्धका कारण थप अभाव हुने अवस्था सिर्जना भएको छ । त्यसैले यो अवस्थातर्फ सरकार गंभिर भई वर्षे सिजनका लागि आवश्यक पर्ने रासायनीक मलको चाँजोपाँजो समयमै मिलाउन माग गर्दछौं ।

४. देशका विभिन्न भागहरु खासगरी झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौंमा बर्डफ्लु फैलिइ ठुलो संख्यामा कुखुरा हाँससमेतका पंक्षीहरु मार्नु परको अवस्था छ । त्यसैले अभिलम्ब प्रकोप नियन्त्रण गरी प्रकोपपीडित किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौं ।

५. पेट्रोलियम पदार्थमा पटकपटक भएको चरम मूल्यबृद्धिले खाना पकाउने ग्यास, सार्वजनिक यातायातमा भएको भाडावृद्धि र कृषि, उद्योग, सेवा र विकास निर्माणसमेतका क्षेत्रको उत्पादन लागत बढ्न गई बस्तु तथा सेवाको मूल्य आकासिएको छ । अर्कातर्फ कालाबजारी र कत्रिम अभाव सिर्जना हुन गई सहज आपूर्ति हुन सकेको छैन । त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिलाई सम्वोधन गर्न अपूर्ति श्रृखला चुस्त बनाई बजार अनुगमनलाई कडाई गरी उपभोक्तालाई राहत प्रदान गर्न अभिलम्ब राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष जोडदार माग गर्दछौं ।

६. नेपाल सरकारले आफ्नो शासकीय सुधारको कार्ययोजनामा विद्यार्थी संगठनका गतिविधिमा नियन्त्रण गर्ने, प्रतिबन्ध लगाउने र खारेज गर्ने निर्णय गरेको छ । नेपाली विद्यार्थी र उनीहरुका संगठनहरुले मुलुकको लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, जनजीविका, र शैक्षिक सुधारका क्षेत्रहरुमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको विषयमा कसैको दुइमत नहोला । तानाशाही पंचायति शासनकालमा होस् वा निरंकुश राजतन्त्रको समयमा उपरोक्त मुद्धा स्थापना र प्राप्तीमा विद्यार्थी संगठनहरुको भूमिका अहम रहेको थियो र छ ।

तर संगठनहरुको यस्तो भूमिकालाई नजरअन्दाज गर्दै वर्तमान सरकारले खारेजीको निर्णय गर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यसैले विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णय अभिलम्ब फिर्ता गर्न माग गर्दछौं ।

७. सरकारले ट्रेड यूनियनका गतिविधिमा अंकुश लगाउने, नियन्त्रण गर्ने र खारेज गर्ने निर्णय गरेको छ । मजदुर वर्गको पेशागत हकहित र अधिकारसँगसँगै मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संगठनहरुलाई खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दछौं ।

८. सार्वजनिक प्रशासनमा क्रियाशिल रहेका राष्ट्रसेवक कर्मचारीहरुका संगठनहरु खारेज गर्ने सरकारको निर्णय घोर अलोकतान्त्रीक र जनविरोधी रहेको छ । यी संगठनहरुले राष्ट्रसेवकका पेशागत हकहित र अधिकारसँगसँगै वृति विकास र प्रसासनीक सुधारका विषयमा आवाज उठाउदै आएका थिए। यी संगठनहरु खारेज गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको छ । त्यसैले राष्ट्रसेवकका संगठनहरु खारेज गर्ने निर्णय अभिलम्ब फिर्ता गर्न माग गर्दछौं ।

९. यतिवेला नीति तथा कार्यक्रम र बजेट तयारीको कार्य चलिरहेको छ । तर तयारीको यो प्रक्रियामा विपक्ष दलहरुलाई पुरै वेवास्ता गरिएको छ । त्यसैले नीति तथा कार्यक्रम र बजेट तयारीमा सम्बद्ध सबै पक्षका आवाज मुखरित हुने गरी पारदर्शी र लोकतान्त्रिक तरिका अवलम्बन गर्न जोडदार माग गर्दछौं ।

Read More

सार्वजनिक शान्तिविरूद्धको कसुरमा संलग्न पक्राउ

काठमाडौं । सार्वजनिक शान्ति विरूद्धको कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने झापा अर्जुनधारा नगरपालिका-११ घर भएका ४५ वर्षीय देवी प्रसाद संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक संजाल तथा निग्रानी अनलाईन टिभि मार्फत विभिन्न जिल्लाहरूको भ्रमण गरी ताँहा रहेका विभिन्न वित्तिय संस्थाबाट ऋण लिएको मानिसहरूलाई भेला जम्मा गरी/गराई बैंक तथा वित्तिय संस्थाले रकम माग गरेमा, वित्तिय संस्थाबाट कुनै पनि कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु भन्ने व्यहोराको विभिन्न किसिमका भड्किलो अभिव्यक्तिहरू दिई अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्ने समेतका कार्यमा संलग्न देवी प्रसादलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्ट गेटबाट पक्राउ गरेको हो । 

उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

त्रिविका उपकुलपतिसहित पदाधिकारीको सामुहिक राजीनामा

काठमाडौँ । त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार केदारप्रसाद रिजालले सामुहिक राजीनामा दिएका छन् ।

विहिबार उनीहरुले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् । 

त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हुने भए पनि सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले सहजीकरण गर्दै सामुहिक राजीनामा दिएको बताएका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपकुलपति अर्याललाई २०८२ को असार २५ मा नियुक्त गरेको थियो । शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० को चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए ।

Read More

मनोहरा नदीले परिवर्तन गरेको धार फर्काउन प्राविधिक तथा प्रशासनिक परामर्श शूरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि प्राविधिक तथा प्रशासनिक परामर्श शूरु गरिएको छ ।

स्वीकृत डिपीआर अनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले वहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १ सय रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपीआरबमोजिमको वहाव क्षेत्र कायम गराउने काम महानगरपालिकाको प्राथमिकतामा रहेको बताएकी छन् । 

उनले भनिन्- ‘नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनु पर्नेछ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनु पर्छ । वस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनु भएका व्यक्तिहरुको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानहरुलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।’

मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर वहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ । बाँकी नदी खण्डमा वहाव परिवर्तन भएको छ । नदीले वहाव परिवर्तन गर्दा एक ठाउँमा काठमाडौँतर्फको करिब १ सय रोपनी जग्गा जग्गा भक्तपुरतर्फ सरेको छ । यस्तै भक्तपुरतर्फको १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ । भक्तपुरतर्फ जग्गा सरेको ठाउँमा पक्की घर, टहरा तथा अस्थायी संरचना थिए । त्यस स्थानबाट मानवीय बसोबास खाली गराएर संरचना भत्काएपछि रिप्लटिङको प्रक्रिया अगाडि बढाइसकेको आयोजनाले जनाएको छ । 

Read More

नेटवर्क नक्सामा त्रुटि प्रकरणमा नेपाल एयरलाइन्सले माग्यो माफी

काठमाडौँ । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा हालै सार्वजनिक गरिएको नेटवर्क नक्सामा त्रुटि भएको स्वीकार गर्दै औपचारिक रूपमा माफी मागेको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।

त्रुटिपूर्ण नक्सा सार्वजनिक भएपछि निगमले उक्त सामग्री तुरुन्त हटाएको जनाएको छ । साथै, आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको पनि जानकारी दिएको छ ।

निगमले छिमेकी देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त सामग्रीका कारण कसैलाई असहज भएको भए त्यसप्रति दुःख व्यक्त गरेको छ ।

Read More

रवि लामिछानेको मुद्धामा महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई स्थगित

काठमाडौं । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बारेको रिटको सुनुवाइ स्थगित गरिएको छ । 

विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ । 

गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले यो रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते रविको हकमा मात्र सहकारी ठगी मुद्दा मात्र कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन निर्णय गर्दै सम्बद्ध जिल्ला सरकारी वकील कार्यालयमा परिपत्र गरेपछि युवराज पौडेल, दिनेश त्रिपाठी, आभास रेग्मीलगायतले सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

Read More

अभिनेता यशको चलचित्र ‘टक्सिक’ को प्रदर्शन मिति फेरि स्थगित

काठमाडौँ । दक्षिण भारतका सुपरस्टार अभिनेता यश अभिनित चलचित्र ‘टक्सिक’ को प्रदर्शन मिति फेरि स्थगित भएको छ । यसअघि जुन ४ मा प्रदर्शन हुने तय गरिएको चलचित्र अब सो मितिमा नआउने भएको हो । नयाँ प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन।

यशले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ‘टक्सिक’ आफूहरूको लागि विशेष यात्रा भएको उल्लेख गरेका छन् । उनले चलचित्रलाई विश्वव्यापी रूपमा सही ढंगले प्रस्तुत गर्न आवश्यक तयारी भइरहेको जनाउँदै वितरण र साझेदारी मिलाउन समय लागेकाले प्रदर्शन तालिका परिवर्तन गरिएको बताएका छन् । उनले चलचित्र अब विश्वभरका दर्शकलाई उपयुक्त समय मिलाएर प्रदर्शन गरिने पनि उल्लेख गरेका छन् ।

यो दोस्रो पटक हो जब ‘टक्सिक’ को प्रदर्शन मिति सारिएको छ । सुरुमा चलचित्र मार्च १९ मा प्रदर्शन हुने तय गरिएको थियो, पछि जुन ४ मा सारिएको थियो । त्यसअघि मध्यपूर्वमा बढ्दो तनावका कारण चलचित्र क्षेत्र प्रभावित भएको भन्दै मिति परिवर्तन गरिएको बताइएको थियो । साथै, सोही समयमा अर्को चलचित्रसँग जुध्ने सम्भावनाका कारण पनि मिति सारिएको चर्चा थियो।

यसबीच चलचित्रको डिजिटल अधिकार सम्बन्धी सहमति नजुट्नु पनि ढिलाइको एउटा कारण मानिएको छ । निर्माता पक्षले उच्च मूल्य माग गरेपछि विभिन्न डिजिटल मञ्चसँग सहमति हुन नसकेको बताइएको छ ।

Read More

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ४५ वर्षीय हिमहरी अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।  

हिमहरीले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

Read More

जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी बाग्लुङ गल्कोट नगरपालिका-९ मल्म घर भई नवलपरासी पुर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने ३१ वर्षीय संजय विकलाई प्रहरीले पक्राउ गरेको छ । 

२०८० मंसिर ५ गते तनहुँ भिमाद घर भई कास्की पोखरा महानगरपालिका-८ नागढु‌ङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको होटलमा लगि जबरजस्ती करणी गरी हत्या गरी फरार भएको घटनामा विकलाई प्रहरीले २०८१ साउन १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उक्त मुद्दामा जन्म कैदको फैसला भई कारागारमा चलान भएकोमा २०८२ भाद्र २४ गतेको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट भागी फरार रहेको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । 

साथै २०८२ चैत २२ गते नवलपरासी पूर्व देवचुली नगरपालिका-१६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाई उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट भएको र घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।

Read More

विश्वकै सबैभन्दा ठूलो युद्धपोत जेराल्ड आर फोर्ड अमेरिका फर्किदै

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड लामो समयको ऐतिहासिक तैनाथीपछि अब अमेरिका फर्किने तयारीमा रहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार यो जहाज मध्यपूर्वबाट केही दिनमै बाहिरिनेछ र मे १५ सम्म भर्जिनियास्थित आफ्नो आधारस्थलमा पुग्नेछ ।

करिब ३ सय दिनभन्दा बढीको निरन्तर तैनाथी रहेको यो जहाजको भूमिका निकै महत्वपूर्ण मानिएको छ । यस अवधिमा यसले इरानसँगको तनावपूर्ण अवस्थामा सञ्चालनमा भाग लिएको थियो भने भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्राउ गर्ने सैन्य कारबाहीमा पनि संलग्न रहेको जनाइएको छ । यो तैनाथी गत असार महिनामा भर्जिनियाको नौसैनिक आधारबाट सुरु भएको थियो ।

सुरुमा यो जहाज भूमध्यसागर क्षेत्रमा परिचालन गरिएको थियो । त्यसपछि असोज महिनातिर यसलाई क्यारेबियन सागर पठाइएको थियो, जहाँ मादुरोलाई नियन्त्रणमा लिन गरिएको अभियानमा यसले भूमिका खेलेको बताइएको छ। त्यसपछि इरानसँग तनाव बढेपछि जहाजलाई मध्यपूर्वतर्फ पठाइएको थियो ।

सुरुवाती चरणमा भूमध्यसागरबाट सञ्चालन गरिरहेको यो जहाज स्वेज नहर पार गर्दै फागुनको सुरुवातमा रातो सागर पुगेको थियो । तर सोही अवधिमा जहाजको कपडा धुने भागमा आगलागी भएको थियो। त्यसपछि मर्मतका लागि जहाजलाई पुनः भूमध्यसागर फर्काउनुपरेको थियो । उक्त घटनाले जहाजमा रहेका सयौँ सैनिकलाई बसोबासमा समेत समस्या भएको जनाइएको छ ।

Read More