२०८३ जेष्ठ २

रास्वपाले आशिका तामाङलाई अनुशासनको कारवाही गर्न लागेको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् ।

शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले प्रश्न उठाउदै सिंहदरबारमा यति धेरै हल हुदा पनि पैसा तिरेर बाहिर किन गरिएको भन्दै प्रश्न उठाएकी हुन् ।

उनले भनेकी छन्- ‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु  पर्नु कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने ? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको  हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरु दिन चाहिँ पर्दैन ? हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’

आशिकाले यसै पोष्टको कमेन्टमा यसअघि रास्वपाले टुलिप होटलमा गरेको प्रशिक्षणको सन्दर्भमा समेत टिप्पणी गर्दै टुलिप होटेल, फाइभ स्टारको होटेल भनेर पहिले थाहा पाएको भए, आफु त्यो अभिमुखीकरण कार्यक्रममा जाँदै जाने थिइन भनेकी छन् ।

शनिबारदेखि शुरु भएको रास्वपाको सांसदहरुको प्रशिक्षणमा धेरै सांसदहरु अनुपस्थित रहेपछि संसदीय दलका उपनेता गणेश पराजुलीले कार्यक्रममै असन्तुष्टि जनाउदै यसलाई नोटिसमा लिएको चेतावनी दिएका थिए । उनले अनुपस्थित सांसदहरुलाई कारवाहीको संकेत समेत गरेका थिए । 

यसैबीच रास्वपाले आज साँझ ६ बजे केन्द्रीय सचिवालयको बैठक बोलाएर अनुशासनको कारवाही गर्ने विषयमा छलफल हुने एजेण्डा राखेको छ । प्रवक्ता मनिष झाका अनुसार अनुशासनको करवाहीको विषयमा बैठकमा छलफल हुने छ ।

Read More

वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ ।

यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते  बिहान ८:३० बजे वीर अस्पतालबाट  स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ ।  

यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ समावेश  छ । 

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । 

‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,’ मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ ।  मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ।

यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ ।

त्यति मात्रै होइन, कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ । कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’  तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।  यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ । ​यो अभियानले  सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ ।

Read More

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ​।

आइतबार बिहान ११: ५५ बजे दार्चुलाको तपोबन केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Read More

विश्वभर खाद्यवस्तुको मूल्य पछिल्लो तीन वर्षयताकै उच्च बिन्दुमा

काठमाडौँ । विश्वभर खाद्यवस्तुको मूल्य पछिल्ला तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनका अनुसार अप्रिल महिनामा खाद्य वस्तु मूल्य सूचकांक १.६ प्रतिशतले बढेको छ । यो वृद्धि गत वर्षको तुलनामा २. ५ प्रतिशत बढी हो ।

प्रतिवेदनअनुसार अमेरिका–इरान युद्धका कारण विश्व खाद्य बजारमा ठूलो दबाब परेको छ। संगठनले आगामी महिनाहरूमा खाद्यवस्तुको मूल्य अझ बढ्न सक्ने चेतावनीसमेत दिएको छ ।

इरान युद्ध सुरु भएको १० हप्ता पुगेको छ । युद्धका कारण हर्मुज सामुद्रिक मार्ग बन्द भएपछि डिजेल, रासायनिक मल तथा कृषि उत्पादनका लागि आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ । इन्धन र मलको मूल्य बढेसँगै किसानलाई खेती गर्न कठिन भइरहेको छ। यसको प्रत्यक्ष असर आगामी समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने अनुमान गरिएको छ।

प्रतिवेदनमा सबैभन्दा बढी असर वनस्पति तेलमा परेको उल्लेख छ । कच्चा तेलको मूल्य बढेपछि जैविक इन्धनको माग बढेको र त्यसकै प्रभावले मार्चको तुलनामा वनस्पति तेलको मूल्य ५ .९ प्रतिशतले बढेको बताइएको छ। यो वृद्धि जुलाई २०२२ पछिकै उच्च हो।

मासुको मूल्य पनि १.२ प्रतिशतले बढेको छ, जुन हालसम्मकै उच्च स्तर मानिएको छ । त्यस्तै अन्नको मूल्यमा ०.८ प्रतिशत वृद्धि भएको छ ।

खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अहिले कृषि तथा खाद्य उद्योग पुरानो मौज्दात बिक्री गरेर टिकिरहेको बताएका छन् । उनका अनुसार कच्चा पदार्थ र ऊर्जाको बढ्दो लागत पूर्ण रूपमा बजारमा प्रतिबिम्बित हुन थालेपछि उपभोक्ताले अझ ठूलो महँगीको सामना गर्नुपर्नेछ । टोरेरोले तनाव ९० दिनभन्दा लामो समयसम्म जारी रहे सन् २०२६ को अन्त्य र २०२७ मा विश्व खाद्य संकटको जोखिम उल्लेखनीय रूपमा बढ्ने चेतावनी दिएका छन् । खराब मौसम र सन् २०२६ मा गहुँ खेती कम हुने अनुमानले पनि अन्नको मूल्य बढाएको छ । मलको मूल्य महँगिएपछि किसानहरू कम मल प्रयोग हुने बालीतर्फ आकर्षित हुन थालेका छन् ।

विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय वस्तु बजारमा आएको मूल्यवृद्धिको प्रभाव खुद्रा बजारसम्म पुग्न केही समय लाग्ने भए पनि खाद्य महँगी अझ बढ्ने लगभग निश्चित भइसकेको छ ।

Read More

कानुन दिवसमा प्रधानमन्त्री र कानुनमन्त्रीको अनुपस्थितिप्रति महेश बस्नेतले उठाए प्रश्न

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कानुन दिवसमा कार्यपालिकाको अनुपस्थितिप्रति प्रश्न उठाएका छन् ।

शनिबार सम्पन्न कानुन दिवस कार्यक्रममा कार्यपालिकाको अनुपस्थिति सामान्य प्रोटोकलको विषय मात्र नभएर राज्यका अङ्गहरूबीच बढ्दो दूरीको संकेत भएको उल्लेख गर्दै नेता बस्नेतले प्रश्न उठाएका हुन् ।

उनले राष्ट्रपति उपस्थित हुने तर प्रधानमन्त्री र कानुनमन्त्रीसम्म अनुपस्थित हुनु लोकतान्त्रिक समन्वयको दृष्टिले राम्रो सन्देश नभएको उनको जिकिर छ ।

उनले व्यक्तिको अहंकारले राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच अविश्वास, टकराव र बढ्दै जाँदा त्यसको असर अन्ततः जनतामाथि पर्ने बताएका  छन् ।

उनले यसले संविधान कमजोर हुने, संस्थागत सन्तुलन बिग्रिने र शासन प्रणाली अराजकतातर्फ धकेलिने दाबि गरेका छन् । नेता बस्नेतले लोकतन्त्रमा असहमति भएपनि संवाद र सम्मान हराउन नहुने बताएका छन् ।

Read More

एसइई नतिजाको अन्तिम तयारी हुदै: एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ ।

गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार बैशाख २९ गतेभित्र नतिजा प्रकाशित गर्ने गरि तयारी गरिरहेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत नतिजा सार्वजनिक हुने जानकारी दिएको छ । 

कार्यालयले एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस,युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । 

हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

Read More

विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

काठमाडौँ । भारतको तमिलनाडुका नयाँ मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार पदको शपथ ग्रहण गरेका छन् । 

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईस्थित नेहरू रंगशालामा विजयलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यससँगै करिब छ दशकदेखि तमिलनाडुमा पालैपालो सत्ता सञ्चालन गर्दै आएका दुई प्रमुख द्रविड दल द्रमुक र अन्नाद्रमुकको राजनीतिक वर्चस्व अन्त्य भएको छ । शनिबार २३४ सदस्यीय प्रदेशसभामा १२० निर्वाचित सदस्यको समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो । 

विजयसँगै तमिलगा वेत्री कडगमका केही वरिष्ठ नेतासहित नौ जनाले मन्त्री पदको शपथ लिएका छन् । विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले उनलाई मे १३ भित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएका छन् । मन्त्री पदको शपथ लिने अन्य नेतामा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टीके प्रभु र एस कीर्तना रहेका छन् ।

हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा तमिलगा वेत्री कडगमले १०८ सिट जितेको थियो । तर विजय दुई स्थानबाट निर्वाचित भएकाले वास्तविक संख्या १०७ रहेको छ र उनले एक सिट छोड्नुपर्नेछ । विजयलाई सरकार बनाउन कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टीका दुई, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका दुई, इन्डियन युनियन मुस्लिम लिगका दुई तथा विदुथलाई चिरुथइगल काचीका दुई सांसदको समर्थन प्राप्त भएको छ । यी सबै दल निर्वाचनमा द्रमुक नेतृत्वको धर्मनिरपेक्ष प्रगतिशील गठबन्धनअन्तर्गत प्रतिस्पर्धामा उत्रिएका थिए । यद्यपि कांग्रेसले सरकार गठनका लागि तमिलगा वेत्री कडगमसँग गठबन्धन गर्न द्रमुकसँगको सम्बन्ध तोडेको छ । अन्य दलहरूले भने सरकार गठनमा मात्र समर्थन गरेको र राजनीतिक रूपमा द्रमुक नेतृत्वकै गठबन्धनमा रहने बताएका छन् ।

तमिलगा वेत्री कडगम फेब्रुअरी २०२४ मा स्थापना भएको पार्टी हो । दुई वर्षभन्दा कम समयमै पहिलो निर्वाचन लडेर १०८ सिट जित्नु तमिलनाडुको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ । विजयले पार्टीलाई धर्मनिरपेक्ष राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेका छन् । पार्टीले समाज सुधारक पेरियार, पूर्व मुख्यमन्त्री कामराज, संविधान निर्माता डा. भीमराव आंबेडकर, स्वतन्त्रता सेनानी वेलु नच्चियार तथा समाजसेवी अञ्जलाई अम्माललाई आफ्ना वैचारिक प्रतीकका रूपमा अगाडि सारेको छ ।

Read More

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ५३०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२७५ मा कारोबार भएको थियो ।

Read More

फिफा विश्वकप फुटबल खेल्न इरानले राख्यो शर्त

काठमाडौँ । इरानको फुटबल महासंघले इरानले २०२६ को फिफा विश्वकप फुटबलमा सहभागी हुन आयोजक राष्ट्रहरूसमक्ष १० बुँदे कडा शर्त अघि सारेको छ । इरानले प्रतियोगितामा सहभागी हुने स्पष्ट गर्दै सुरक्षा, प्रवेश अनुमति र राष्ट्रिय सम्मानको प्रत्याभूति नभएसम्म टोली विश्वकपमा नजाने चेतावनी दिएको हो ।

इरानी फुटबल महासंघले अमेरिका, मेक्सिको र क्यानडालाई आफ्नो चिन्तालाई गम्भीर रूपमा लिन आग्रह गरेको छ । पछिल्लो कूटनीतिक तनाव र क्षेत्रीय द्वन्द्वपछि इरानले टोलीको सुरक्षा र व्यवहारलाई मुख्य मुद्दा बनाएको हो ।

महासंघले सार्वजनिक गरेको वक्तव्यमा इरान आफ्नो विश्वास, संस्कृति र राष्ट्रिय मान्यताबाट पछि नहटी विश्वकपमा सहभागी हुने उल्लेख गर्दै आयोजक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने जनाएको छ ।

महासंघका अध्यक्ष मेहदी ताजले सरकारी दूरदर्शनमार्फत विश्वकप सहभागिताका लागि १० वटा शर्त सार्वजनिक गरेका छन् । ती शर्तमा खेलाडी र प्राविधिक टोलीलाई सहज रूपमा प्रवेश अनुमति दिनुपर्ने, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान गरिनुपर्ने तथा विमानस्थल, बसोबास स्थल र रंगशालासम्म जाने मार्गमा उच्च सुरक्षा व्यवस्था मिलाइनुपर्ने उल्लेख छ । प्रवेश अनुमतिसम्बन्धी विषय अहिले सबैभन्दा ठूलो विवाद बनेको छ । हालै क्यानडाले इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्ध रहेको आरोपमा इरानी फुटबल महासंघका एक अधिकारीलाई प्रवेश अनुमति नदिएपछि तेहरान थप सतर्क बनेको हो ।

इरानले अनिवार्य सैन्य सेवा पूरा गरेका खेलाडीलाई प्रवेश अनुमति प्रक्रियामा समस्या नपार्न माग गरेको छ । अध्यक्ष ताजले विशेष रूपमा मेहदी तारेमी र एहसान हाजसफीको नाम उल्लेख गर्दै इस्लामिक रिभोलुसनरी गार्डमा सेवा गरेका खेलाडीलाई कुनै अवरोध बिना प्रवेश अनुमति दिनुपर्ने बताएका छन् ।

यसबीच अन्तर्राष्ट्रिय फुटबल महासंघ अन्तर्राष्ट्रिय फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको तालिका पूर्वनिर्धारित योजनाअनुसार नै अघि बढ्ने बताएका छन् ।

इरान विश्वकप अवधिभर अमेरिकाको एरिजोना राज्यस्थित टक्सनमा बस्ने तालिका रहेको छ । समूह ‘जी’ मा रहेको इरानसँगै न्युजील्यान्ड, बेल्जियम र इजिप्ट रहेका छन् । इरानले जुन १५ मा लस एन्जलसमा न्युजील्यान्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ ।

Read More

लेबनानमा इजरायली आक्रमणमा एकैदिन ३९ जनाको मृत्यु

काठमाडौँ । इजराइली आक्रमणमा लेबनानमा एकै दिन ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी क्षेत्रहरूमा भएको लगातार हवाई आक्रमणमा सर्वसाधारण नागरिकसमेत मारिएका हुन् ।

दक्षिणी सहर साक्साकियेहमाथि गरिएको इजराइली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। मृतकमध्ये एक बालक पनि रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिणी सहर नबातियेहमा भएको अर्को आक्रमणमा एक सिरियाली नागरिकको मृत्यु भएको छ भने उनकी १२ वर्षीया छोरी गम्भीर घाइते भएकी छन् ।

यसैबीच लेबनान सीमावर्ती उत्तरी इजराइल क्षेत्रमा हिजबुल्लाहले गरेको मानवरहित विस्फोटक विमान आक्रमणमा तीन इजराइली सैनिक घाइते भएका छन् । तीमध्ये एक सैनिकको अवस्था गम्भीर रहेको बताइएको छ ।

इजराइली सेनाले शनिबार धेरै विस्फोटक मानवरहित विमान इजराइली क्षेत्रमा प्रवेश गरेको जनाएको छ। तीमध्ये केही इजराइलभित्र खसेका थिए ।

सेनाका अनुसार दक्षिणी लेबनानमा तैनाथ आफ्ना सैनिकलाई लक्षित गरी प्रहार गरिएका धेरै प्रक्षेपास्त्र र मानवरहित विमानलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरेको थियो ।

यसबीच इजराइल र लेबनानबीच सम्भावित शान्ति वार्ताबारे राजनीतिक विश्लेषक रानिया खालेकले हालसम्म कुनै ठोस प्रगति नदेखिएको बताएकी छन् । उनले इजराइली सरकारले लेबनानी सरकारले हिजबुल्लाहलाई हतियार त्याग्न बाध्य पार्न नसक्ने बुझेको बताइन्। साथै इजराइली सेनाले पनि हिजबुल्लाहलाई पूर्ण रूपमा समाप्त गर्न नसक्ने उनको भनाइ छ । खालेकका अनुसार इजराइलले लेबनानमा ठूलो विनाश गर्न सक्ने भए पनि हिजबुल्लाहलाई पूर्ण रूपमा निःशस्त्र बनाउनु सम्भव देखिँदैन ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि टिप्पणी गर्दै शान्ति वार्तालाई केवल राजनीतिक प्रदर्शनका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाइन् । उनका अनुसार ट्रम्पले विश्वसामु आफूले इजराइल र लेबनानबीच शान्ति स्थापना गराएको सन्देश दिन चाहेका हुन सक्छन् । तर इजराइलले लेबनानका केही क्षेत्रमाथिको नियन्त्रण कायम राख्दै बमबारी जारी राखेसम्म वास्तविक शान्ति सम्भव नहुने खालेकको भनाइ छ ।

Read More