२०८३ जेष्ठ २

कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्ति: कार्यपालिका र न्यायपालिकाबीच द्वन्द बढ्ने संकेत !

काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार कार्यपालिका र व्यवस्थापिकाको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि नयाँ बहस शुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमै उनले न्यायपालिका माथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएकी थिइन् ।

उनको अभिव्यक्तिलाई पछिल्लो प्रधानन्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर पनि हेरिएको छ । संवैधानिक परिषद्ले केही दिनअघि वरिष्ठताको सूचीमा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि न्यायालयभित्र र बाहिर बहस चर्किएको थियो । कामु प्रधानन्यायाधीश मल्लसहित तीन वरिष्ठ न्यायाधीशलाई पछि पारिएको भन्दै न्याय क्षेत्रभित्र असन्तोष देखिएको छ ।

नेपालको न्यायीक इतिहासमै पहिलोपटक वरिष्ठता मिचिएको आरोप लागिरहेका बेला मल्लको अभिव्यक्ति अझ अर्थपूर्ण रूपमा हेरिएको छ । उनले प्रत्यक्ष रूपमा नाम नलिए पनि राज्यका शक्तिकेन्द्रहरूले न्यायपालिकालाई ‘आज्ञाकारी संस्था’ बनाउने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठाएकी छन् ।

यति मात्र होइन, उनले संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै अधिकार र कानुनको प्रयोगको नाममा न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने प्रयास भइरहेको हो कि भन्ने चिन्ता व्यक्त गरिन् र न्यायलाई निष्पक्ष संस्थाको सट्टा व्यक्तिगत वा राजनीतिक स्वार्थ जोगाउने माध्यम बनाउन खोजिएको संकेत पनि गरिन् ।

मल्लले विधि र संवैधानिक परम्परा तोडेर गरिने निर्णयले निरंकुशताको संकेत दिने टिप्पणी गर्दै ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिदै आफुलाई प्रधानन्यायाधीशमा सिफारिस नगरिएको प्रति संकेत गरेकी थिइन् ।

उनले न्यायाधीशहरूलाई दबाब र त्रासबाट मुक्त भएर काम गर्न आग्रह गर्दै दुई तिहाइ सरकारको डर वा महाअभियोगको त्रासबाट नडराउन खुला आह्वानसमेत गरिन् ।

साथै उनले कार्यक्रममा उपस्थित रहेका सभामुख डिपी अर्यालको न्यायपालिका पनि ‘सरकारको स्पिरिट’ मा चल्न सक्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै मल्लले न्यायपालिका संविधानको भावना अनुसार चल्नुपर्ने बताइन् । उनले सरकारको गतिसँगै न्यायपालिका चल्न सक्ने भए पनि त्यसका लागि न्यायालयलाई स्रोत र साधनले सक्षम बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले आफ्नो जीवनभर विभेद र अन्यायविरुद्ध संघर्ष गरेको उल्लेख गर्दै अझै लडाइँ बाँकी रहेको बताएर उनले कार्यपालिकासँगको द्वन्द अझ बढ्ने संकेत समेत गरेकी छन् । उनले संविधानवाद, विधिको शासन, नागरिक अधिकार र न्यायपालिकाको स्वतन्त्रता जोगाउन नागरिक समाज, नेपाल बार, सञ्चारमाध्यम र सबै सरोकारवालालाई एकजुट हुन अपिल गरिन् । 

मल्लको यो भाषणलाई धेरैले सामान्य औपचारिक मन्तव्यभन्दा फरक र राजनीतिक तथा संवैधानिक सन्देशका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता क्रम मिचिएको विवादपछि आएको यो अभिव्यक्तिले न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु गराएको छ र यसले कार्यपालिका र न्यायपालिकाबीच नयाँ द्वन्दको बिजारोपण भएको रुपमा विश्लेषण गरिएको छ ।

Read More

सुशिला कार्कीको आक्रोश- बालेनकी श्रीमतीलाई आमा भन !

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले पत्रकारलाई ‘बालेनकी श्रीमतीलाई आमा भन’ भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो ।

शनिबार एक कार्यक्रमबाट निस्किने क्रममा सुशिला कार्कीलाई एचटीपी खबरका पत्रकारले ‘दर्शन आमा’ भनेर अभिवादन गर्दा उनले आक्रोशित हुदै प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्- ‘ को ले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’

यसले कार्कीको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्ध ब्रिग्रिएको चर्चा चलिरहेको छ । बालेनले सरकार बनाएपछि गरेका निर्णयका कारण कार्की असन्तुष्ट रहेको देखिएको छ । प्रधानन्यायाधीश सिफारिसमा उनले सार्बजनिक रुपमै मिडियामा असन्तुष्टि व्यक्त गरेकी छन् । त्यस्तै उनले जदाजादै नियुक्ति दिएका आफ्ना तत्कालिन स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई समेत बालेनले ल्याएको अध्यादेशका कारण पद गुमाउनुपरेको थियो ।

 बालेनले सुशिला कार्कीलाई आमा भनेर सम्बोधन गर्ने गरेका थिए । यहाँसम्मकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नी आमा र श्रीमतीसहित कार्कीको समेत तस्वीर राखेर शुभकामना दिएका थिए । 

Read More

क्रिकेट अस्ट्रेलियाले खेलाडीलाई दिएको केन्द्रीय सम्झौताप्रति सिनियर खेलाडी असन्तुष्ट

काठमाडौँ । अष्ट्रेलियाका केही वरिष्ठ क्रिकेट खेलाडीहरू क्रिकेट अस्ट्रेलियाले सन् २०२६–२७ का लागि दिएको नयाँ केन्द्रीय सम्झौता प्रस्तावप्रति असन्तुष्ट देखिएका छन्। कम्तीमा पाँच खेलाडीले प्रारम्भिक प्रस्ताव मन नपरेपछि सम्झौतामा हस्ताक्षर गर्न अझै सहमति जनाएका छैनन्।

रिपोर्टअनुसार टेस्ट टोलीका कप्तान पाट कमिन्सलाई आगामी तीन वर्षका लागि वार्षिक ४० लाख अष्ट्रेलियाली डलरको प्रस्ताव गरिएको छ । हालको सम्झौताअनुसार राष्ट्रिय टोलीका २४ खेलाडीले कुल करिब २ करोड १९ लाख अष्ट्रेलियाली डलर आधारभूत पारिश्रमिक बाँडफाँट गर्छन् । सबैभन्दा कम पारिश्रमिक पाउने खेलाडीले पनि वार्षिक ३ लाख ६० हजार डलरभन्दा बढी पाउने व्यवस्था छ ।

खेलाडीहरूले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेलका आधारमा थप भुक्तानी र बोनस पनि पाउँछन् । तर विश्वभरका फ्रेन्चाइज प्रतियोगितामा बढ्दो रकमका कारण धेरै खेलाडी अब केन्द्रीय सम्झौताभन्दा स्वतन्त्र रूपमा खेल्दा बढी कमाइ हुने निष्कर्षमा पुगेका छन्।

मार्कस स्टोइनिस र टिम डेभिड जस्ता खेलाडीले पछिल्ला वर्षमा केन्द्रीय सम्झौता नगरी विभिन्न टी–२० लिग खेल्दै बढी आम्दानी गरेका थिए ।

यसबीच बिग बाश लिगका चर्चित खेलाडीहरू पनि असन्तुष्ट बनेका छन् । बिग ब्यास लिग निजीकरणको योजना रोकिएपछि पारिश्रमिक पुनरावलोकन प्रक्रिया प्रभावित भएको हो । अष्ट्रेलियाली खेलाडीहरूले आफूहरू विदेशी खेलाडीभन्दा वार्षिक १ लाखदेखि २ लाख अष्ट्रेलियाली डलरसम्म कम पारिश्रमिक पाउँदै आएको गुनासो गरेका छन् ।

विदेशी खेलाडीका लागि ‘प्लाटिनम’ सम्झौतामा ४ लाख २० हजार डलरसम्म दिइएपछि अष्ट्रेलियाली खेलाडीहरू थप असन्तुष्ट भएका हुन् । उदाहरणका रूपमा लुक वूड र मोहमद रिजवानले केही अष्ट्रेलियाली स्टारभन्दा धेरै रकम पाएका थिए ।

अब केही अष्ट्रेलियाली खेलाडी संयुक्त अरब इमिरेट्सको टी–२० प्रतियोगिता खेल्न पनि इच्छुक देखिएका छन् । केहीलाई त्यहाँ खेल्न ५ लाख अष्ट्रेलियाली डलरसम्मको प्रस्ताव आएको बताइएको छ । दक्षिण अफ्रिकाको एसए टी-२० प्रतियोगितालाई बिग ब्यास लिगको ठूलो प्रतिस्पर्धी मानिएको छ । अष्ट्रेलियाली खेलाडीहरू विशेषगरी दक्षिण अफ्रिकी टी–२० लिगमा खेलाडीको उच्च मूल्य देखेर असन्तुष्ट बनेका छन् । गत वर्ष डेवाल्ड ब्रेभिस र एडन मार्क्रम करोडौं रुपैयाँ बराबरको सम्झौतामा अनुबन्ध भएपछि बिग ब्यास खेलाडीहरूमा असन्तोष बढेको हो ।

यद्यपि क्रिकेट अस्ट्रेलियाले भविष्यमा बिग ब्यास लिगको तलब सीमा बढाउने योजना बनाइरहेको बताइएको छ । तर हालका लागि खेलाडी र बोर्डबीच पारिश्रमिक विवाद समाधान हुने स्पष्ट संकेत देखिएको छैन ।

Read More

रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख छ- पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख रहेको दाबी गरेका छन् । 

विजय दिवस परेडपछि दिएको वक्तव्यमा उनले युद्ध अब अन्तिम चरणतर्फ अघि बढिरहेको बताएका हुन् । साथै उनले यो युद्ध चर्काउन पश्चिमी देशका ‘वैश्विक अभिजात वर्ग’ जिम्मेवार रहेको आरोप लगाए ।

पुटिनले पश्चिमी देशहरूले आफ्ना भूराजनीतिक स्वार्थ पूरा गर्न युक्रेनलाई ‘हतियार’ का रूपमा प्रयोग गरेको आरोप लगाए । उनका अनुसार रुसको सुरक्षा चासोलाई पूर्ण रूपमा बेवास्ता गरिएको थियो र युक्रेनमार्फत रुसी सेनामाथि आक्रमण गराइएको थियो । उनले पश्चिमी सैन्य सहयोगकै कारण युद्ध लामो समयसम्म तानिएको दाबी पनि गरे ।

रुसी राष्ट्रपतिले सन् २०२२ मा इस्तानबुलमा भएको प्रारम्भिक शान्ति सम्झौताको प्रसंग पनि उठाए । उनले त्यसबेला युक्रेन सम्झौताका लागि तयार भएको र प्रारम्भिक कागजातमा हस्ताक्षरसमेत गरेको दाबी गरे । तर पछि फ्रान्स र बेलायतको दबाबपछि युक्रेन पछि हटेको उनको भनाइ थियो । पुटिनका अनुसार फ्रान्सका राष्ट्रपति र तत्कालीन बेलायती प्रधानमन्त्रीले उक्त सम्झौतालाई ‘अनुचित’ भन्दै युक्रेनलाई रोक्न भूमिका खेलेका थिए । उनले प्रश्न उठाउँदै भने, ‘जब युक्रेनी प्रतिनिधिमण्डल आफैं तयार थियो भने बाह्य शक्तिले त्यसलाई कसरी अनुचित भन्न सक्छ ?’

युद्ध पाँचौं वर्षमा प्रवेश गरिरहँदा पुटिनले पश्चिमी देशहरूको रणनीति असफल भएको दाबी गरे । उनले पश्चिमले केही महिनामै रुसलाई कमजोर पारेर राज्यसत्ता ध्वस्त पार्ने अपेक्षा गरेको तर त्यसमा पूर्ण रूपमा असफल भएको बताए । उनका अनुसार अहिले पश्चिमी शक्तिहरू आफैं संकटमा फसेका छन् । पुटिनले भविष्यमा युरोपमा राजनीतिक परिवर्तन हुने र रुससँग राम्रो सम्बन्ध चाहने शक्तिहरू सत्तामा आउने अपेक्षा पनि व्यक्त गरे ।

विजय दिवसको अवसरमा उनले भारत, चीन र अमेरिकाजस्ता प्रमुख राष्ट्रसँग युक्रेन युद्धको पछिल्लो अवस्थाबारे रणनीतिक जानकारी साझा गरिएको पनि बताए । शान्ति प्रक्रियालाई अगाडि बढाउन यी देशलाई विश्वासमा लिइएको उनको भनाइ थियो । यस कूटनीतिक पहलपछि रुस र युक्रेनबीच तीन दिने अस्थायी युद्धविराममा सहमति भएको पुटिनले जानकारी दिए। युद्धविरामको मुख्य उद्देश्य युद्धग्रस्त क्षेत्रमा मानवीय सहायता पुर्‍याउनु र तनाव कम गर्नु रहेको उनले बताए ।

नाजीवादमाथिको ऐतिहासिक विजयको सम्मानस्वरूप यो कदम आवश्यक रहेको पुटिनको भनाइ थियो । उनले किभमा रहेका विदेशी दूतावासहरूको सुरक्षाको प्रत्याभूति पनि दिएका छन् । भारत र चीनजस्ता ‘मित्र राष्ट्र’ को सहभागितालाई उनले विश्व स्थिरताका लागि महत्वपूर्ण बताए । यद्यपि युद्धविराम केवल तीन दिनका लागि भए पनि यसलाई भविष्यमा स्थायी शान्ति सम्झौताका लागि महत्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा हेरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतापछि रुस र युक्रेनबीच तीन दिने युद्धविराम घोषणा गरिएको बताइएको छ । यो अस्थायी सहमति रुसको विजय दिवस समारोहसँगै लागू भएको हो । ट्रम्पका अनुसार पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धविराममा सहमत भएका थिए । यद्यपि अन्तर्राष्ट्रिय समुदायले भने अझै पनि स्थायी समाधान र वार्तामार्फत शान्ति पुनःस्थापनाको अपेक्षा गरिरहेको छ ।

Read More

भेनेजुएलाको १३.५ किलो उच्च सम्वर्धित युरेनियम अमेरिकाको नियन्त्रणमा

काठमाडौँ । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च सम्वर्धित युरेनियम हटाएर आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । उक्त युरेनियम लामो समयदेखि भेनेजुएलाको पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । अमेरिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कराकास नजिक रहेको केन्द्रबाट युरेनियम निकालेर सुरक्षित रूपमा अमेरिका पुर्‍याइएको हो ।

यो अभियान अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको संयुक्त समन्वयमा सम्पन्न भएको बताइएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार युरेनियमलाई स्थल र समुद्री मार्ग हुँदै अमेरिका ल्याइएको हो । अहिले यसलाई दक्षिण क्यारोलिनास्थित सवाना रिभर आणविक केन्द्रमा प्रशोधन गरिनेछ ।

अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले यो अभियान दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ । प्रशासनका अनुसार भेनेजुएलाको आरभी–१ अनुसन्धान रिएक्टर दशकौँसम्म आणविक अनुसन्धानमा प्रयोग गरिएको थियो । सन् १९९१ मा अनुसन्धान कार्य बन्द भए पनि त्यहाँ उच्च संवर्धित युरेनियम सुरक्षित रूपमा राखिएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार पूरा अभियान छ साताभन्दा कम समयमै सम्पन्न गरिएको हो । युरेनियमलाई विशेष सुरक्षा कन्टेनरमा राखेर करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगिएको थियो । त्यसपछि बेलायती आणविक ढुवानी कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको जनाइएको छ ।

अभियानको निगरानी गर्न राष्ट्रिय आणविक सुरक्षा प्रशासनका उपप्रशासक डाक्टर म्याट नेपोली पनि भेनेजुएला पुगेका थिए । उनले अनुभवी टोलीका कारण अभियान सफल भएको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि अभियानको पुष्टि गर्दै यसलाई जटिल र संवेदनशील कार्य भनेको छ ।

प्रशासनका अनुसार सन् १९९६ यता विश्वका विभिन्न देशबाट ७ हजार ३५० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित बनाउने काम गरिसकिएको छ ।

यसबीच अमेरिकी प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च सम्वर्धित युरेनियमबारे दबाब बढाइरहेको छ । विभिन्न प्रतिवेदनअनुसार इरानसँग करिब ४०८ किलो यस्ता सामग्री रहेको बताइए पनि अमेरिका त्यसलाई हटाउन भने सफल भएको छैन ।

हाल अमेरिका र भेनेजुएलाबीचको सम्बन्धमा पनि परिवर्तन देखिन थालेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी गुप्तचर निकायका प्रमुख जोन र्‍याटक्लिफसहित उच्च अधिकारीहरू भेनेजुएला पुगेका छन् । सात वर्षपछि दुई देशबीच व्यावसायिक हवाई उडान पुनः सञ्चालनमा आएको छ भने अमेरिकी दूतावास पनि पुनः खोलिएको छ ।

विश्वकै ठूलो तेल भण्डार भएका देशमध्ये भेनेजुएला पनि एक हो । प्रतिवेदनहरूमा अमेरिकाले अहिले त्यहाँ ऊर्जा र खानी क्षेत्रमा लगानी तथा व्यापार विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ । यद्यपि केही लोकतन्त्र समर्थक समूहहरूले अमेरिकी नीतिको आलोचना गरेका छन् ।

यसैबीच अमेरिकाले सन् २०२६ जनवरीमा भेनेजुएलामा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो । अमेरिकी सेनाले राजधानी कराकासमा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरिएको थियो । अमेरिकाले उनीमाथि लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित आरोप लगाएको थियो । त्यसपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको थियो ।

मादुरो पक्राउ परेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो । अमेरिकाले नयाँ सरकारलाई समर्थन गर्दै तेल व्यापारसहित केही आर्थिक प्रतिबन्धहरू खुकुलो बनाएको थियो । तर रूस, चीनलगायत केही देशहरूले अमेरिकी कदमको विरोध गरेका थिए । त्यसयता अमेरिका र भेनेजुएलाबीच कूटनीतिक सम्पर्क र आर्थिक सहकार्य बढ्दै गएको बताइएको छ ।

Read More

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठक आज साँझ ६ बजेदेखि केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही र केन्द्रीय समिति बैठकको विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा जेरेमी डोकु, इर्लिंग हालाण्ड र ओमार मार्मोउशले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३५ खेलमा ७४ अंक भएको छ र शिर्ष स्थानमा रहेको आर्सनल भन्दा २ अंकले पछाडी रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको ३६ खेलमा ५१ अंक भएको छ र हाल आठौँ स्थानमा रहेको छ ।

Read More

आइपिएलमा राजस्थानमाथि गुजरात ७७ रनले विजयी

काठमाडौँ ।  गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ७७ रनले पराजित गरेको हो ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको राजस्थानले १६.३ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो । 

राजस्थानका लागि रविन्द्र जडेजाले सर्बाधिक ३८ र वैभव सुर्यबंशीले ३६ रन बनाएका थिए ।  त्यस्तै गुजरातका बलर रसिद खानले सर्बाधिक ४ विकेट लिए भने जासन होल्डरले ३ र कागीसो रबाडाले २ र मोहमद सिराजले एक विकेट लिएका थिए । 

यसअघि पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।  गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८४ रन बनाएका थिए भने साइ सुदर्शनले ५५ र वाशिंटन सुन्दरले ३७ रन बनाएका थिए । 

यो जितपचि९ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।  गुजरातको ११ खेलमा १४ अंक भएको छ ।  त्यस्तै राजस्थानको भने ११ खेलमा १२ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । 

जारी आइपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच हुदैछ भने दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरू र मुम्बई इण्डियन्सबीच हुदैछ । 

Read More

रास्वपा सांसदहरुको नेतृत्व विकास प्रशिक्षण आज समापन हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आज समापन हुदैछ । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन भएको प्रशिक्षण आज सकिदैछ ।

आजको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् । साथै, सह-महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यसूची रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यस दुई दिने सघन प्रशिक्षणले रास्वपाका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जनसरोकारका मुद्दाहरूमा सदनमा अझ सशक्त र प्रखर रूपमा प्रस्तुत हुन आवश्यक ऊर्जा र ज्ञान प्रदान गर्ने विश्वास रास्वपाले लिएको बताइएको छ ।

प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहेको थियो । जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिएका थिए भने त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र  विधिहरू प्रस्तुति दिएका थिए । 

Read More