२०८३ जेष्ठ २

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् ।

एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । 

वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Read More

नेप्सेमा १०.०७ अंकले घट्यो, ३ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४   हजार ६१९ मा कारोबार भएको थियो । आज जीवन वीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी युनियन हाइड्रोको शेयरमा ९.७९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ९.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एशियन हाइड्रोको शेयर ९.८९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ३७ करोड ६८ लाखको कारोबार भएको छ भने सहास उर्जाको १८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

Read More

प्रेमिकाको लागि मुख्यमन्त्री विजयको फिल्म रिलिजमा विशेष अनुमति !

काठमाडौँ । तमिलनाडुका मुख्यमन्त्री थलापति विजयले अभिनेत्री तृषा कृष्णन अभिनित चलचित्र ‘करप्पू’ का लागि विशेष अनुमति दिएका छन् ।

तीन वर्षदेखि रोक लगाइएको बिहानको चलचित्र प्रदर्शनलाई उनले पुनः अनुमति दिएपछि दक्षिण भारतीय चलचित्र क्षेत्रमा यसको व्यापक चर्चा भइरहेको छ । 

चलचित्र ‘करप्पू’ निर्माण संस्था ड्रीम वारियर पिक्चर्सले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री विजयलाई धन्यवाद दिँदै चलचित्रलाई बिहान ९ बजेको विशेष प्रदर्शन अनुमति दिएको जानकारी दिएको हो । मे १४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘करप्पू’का पहिलो दिनदेखि नै बिहान ९ बजेका शो सञ्चालन हुनेछन् । चलचित्रमा तृषा कृष्णन र सूर्या मुख्य भूमिकामा रहेका छन् ।

यसअघि सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘थुनिभू’को बिहान साढे ४ बजेको शोका क्रममा भागदौड मच्चिँदा एक दर्शकको मृत्यु भएको थियो । त्यस घटनापछि सुरक्षा कारण देखाउँदै तमिलनाडु सरकारले बिहानका विशेष शोमा प्रतिबन्ध लगाएको थियो ।

थलापति विजयको यो निर्णयले व्यक्तिगत सम्बन्धको चर्चाका कारण पनि ध्यान तानेको छ । लामो समयदेखि उनको नाम अभिनेत्री तृषा कृष्णनसँग जोडिँदै आएको छ । दुवैले सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि नगरे पनि विभिन्न अवसरमा सँगै देखिने गरेका कारण उनीहरूको सम्बन्धबारे चर्चा हुँदै आएको छ ।

विजय आफ्नी पत्नीसँग डिभोर्सको प्रक्रियामा रहेकाले सम्बन्धको स्पष्टता नभएको भारतीय मिडियामा चर्चा छ । विजयले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रममा पनि तृषा पुगेकी थिइन् ।

Read More

निजी क्षेत्रलाई सरकारले आतंकित बनाएको सांसद झाँक्रीको आरोप, पहिला सुनेर थुन्न सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारको निजी क्षेत्रलाई आतंकित पारेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद झाँक्रीले सरकारले सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई अवरोध गरिएको भन्दै पहिला थुन्ने अनि सुन्ने नीति लिएको आरोप लगाईन् । उनले भनिन्- ‘सुशासन भनेको पहिला थुनेर सुन्ने होइन, सुनेर मात्र थुन्ने हो कि भन्ने सुझाव सरकारलाई दिन चाहन्छु ।’

उनले राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा सरकारले नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने गरिरहेको आरोप लगाईन् ।

सांसद झाँक्रीले दुई तिहाई करिबको बहुमत भएको सरकारले ल्याउने नीति तथा कार्यक्रमप्रति धेरै अपेक्षा रहेको भएपनि पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरिन् । उनले भनिन्- ‘२१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरु हुन्छ भन्ने अपेक्षा थियो। तर नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।’

Read More

स्कटल्याण्डले अमेरिकालाई दियो ३२२ रनको विशाल लक्ष्य

काठमाडौँ । स्कटल्याण्डले अमेरिकालाई ३२२ रनको विशाल लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत टियु क्रिकेट मैदानमा जारी सिरिज अन्तर्गतको खेलमा स्कटल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको हो । बर्षाले प्रभावित हुदा यो खेल ४७ ओभरमा खेलाइएको छ ।    

स्कटल्याण्डल्यान का लागि फिनले म्याकक्रीथले सर्बाधिक ७७ रन बनाए भने म्याथ्यु क्रसले ५८ र ब्राण्डम म्याकुलेनले ५५ रन बनाएका थिए । त्यस्तै अमेरिकी बलर सौरभ नेत्राभल्कर र जसदीप सिंहले २-२ विकेट लिएका थिए ।

Read More

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेको सचिवालय बैठक जेठ २ गते दिनको १ बजे पार्टी अध्यक्ष तथा  पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।

Read More

कस्तो छ फिल्म ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर ?

काठमाडौं । चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक भएको छ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधातर्फ छनोट भएको सिनेमाको ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरले सिनेमाको कथा प्रस्ट पार्ने प्रयास गरेको छ । अविनाश विक्रम शाहद्वारा लिखित र निर्देशित चलचित्रको ट्रेलरमा जंगली हात्तीको आतंक, हराएको सन्तान, प्रहरीको साहारा माग्ने पुगेका पीडित गाउँले लगायतको कथा देखिन्छ । सन्तान खोज्न आमाले गरेको प्रयास र त्यसमा आउने अवरोध ट्रेलरमा देखिएको छ ।

‘एलिफेन्ट्स इन द फग’मा जंगली हात्तीहरूको आतंकबाट आक्रान्त हुने बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने एउटा परिवारको कथा प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।  

चलचित्रको मुख्य भूमिकामा पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन् । गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्कीलगायतको पनि अभिनय रहेको छ ।

जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ निर्माता छन् । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेको यस चलचित्रमा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्रजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताको रुपमा छन् ।

चलचित्रलाई चलचित्रकर्मी मिन भाम, चलचित्रकर्मी प्रवेश गुरुङ, नायिका केकी अधिकारि, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्ने  र अनोज पौड्यालले निर्माताको रूपमा योगदान दिएका छन् ।

आफ्नो लघु चलचित्र ‘लोरि’बाट यसभन्दा अघिनै कान्समा पुरस्कार जितेका अविनाश ‘कालो पोथी’ र ‘शाम्बाला’ तथा लिमिटेड सिरीज ‘सिंहदरबार’का पटकथाकार पनि हुन् ।

ट्रेलर:

Read More

संसदमा अभिव्यक्ति दिँदा शब्द चयनमा उच्च संवेदनशीलता अपनाउन सभामुख अर्यालको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभामा बोल्ने क्रममा शव्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड घ मा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरेका हुन् ।

उनले अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने बिषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

Read More

प्रतिनिधि सभाका सचिव अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

विहिबार सभामुख डिपी अर्यालले अधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले आजै पदभार ग्रहण गरेका छन् । 

सभामुख अर्यालको सिफारिसमा तत्कालिन सचिव हर्कराज राईलाई बर्खास्त गर्दै राष्ट्रपति पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका थिए ।

Read More

ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनफिङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस क्रममा ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरिएको थियो भने दुवै नेताले हात मिलाएका थिए ।

दुई नेताबीच करिब दुई घण्टा लामो बैठक भएको थियो । बैठकको सुरुवातमा जिनपीङले विश्वभरको ध्यान यस भेटवार्तातर्फ केन्द्रित रहेको बताएका थिए । उनले विश्व तीव्र रूपमा परिवर्तन भइरहेका बेला अमेरिका र चीनबीचको सम्बन्ध विश्व स्थिरताका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।

जिनपीङले अमेरिका र चीन प्रतिस्पर्धीभन्दा पनि साझेदार बन्नुपर्ने धारणा राखे । जवाफमा ट्रम्पले जिनपीङको प्रशंसा गर्दै उनलाई आफ्नो मित्र भन्न पाउनु सम्मानको विषय भएको बताएका थिए । उनले अमेरिका र चीनबीचको सम्बन्ध अझ राम्रो हुने दाबी पनि गरे ।

ट्रम्पले आफू संसारका ठूला व्यापारिक समूहका नेतृत्वकर्तासहित चीन आएको पनि बताएका छन् । यस भ्रमणमा विशेषगरी अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग हुन सक्ने ठूलो सम्झौताले चर्चा पाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार चीनले बोइङबाट करिब नौ लाख करोड रुपैयाँ बराबरका विमान खरिद गर्ने तयारी गरिरहेको छ । यो सम्झौता भए विश्वकै ठूलो उड्डयन सम्झौतामध्ये एक बन्न सक्ने बताइएको छ ।

बैठकमा व्यापार, भन्सार कर, अर्धचालक प्रविधि, कृत्रिम बौद्धिकता, ताइवान र इरान युद्धलगायत विषयमा छलफल भएको जनाइएको छ । पछिल्ला केही वर्षदेखि व्यापार, प्रविधि र भन्सार करका विषयमा अमेरिका र चीनबीच तनाव रहँदै आएको छ ।

दुई घण्टे बैठकपछि जिनपीङले अमेरिकी व्यापारिक नेतृत्वसँग पनि भेट गरेका थिए । उनले चीनको बजार अमेरिकी कम्पनीका लागि अझ खुला हुने र त्यहाँ थप अवसर उपलब्ध हुने बताएका छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जिनपीङले अमेरिकी कम्पनीले लामो समयदेखि चीनको विकासमा योगदान पुर्‍याएको र त्यसबाट दुवै देशलाई लाभ पुगेको बताएका थिए ।

उनले चीनले अमेरिकासँग पारस्परिक सहकार्य अझ सुदृढ बनाउन चाहेको उल्लेख गर्दै अमेरिकी कम्पनीका लागि चीनमा अझ ठूलो अवसर रहेको बताए । ट्रम्पले भने लामो समयदेखि चीनमाथि बढी अमेरिकी सामान खरिद गर्न दबाब दिँदै आएका छन् ।

बैठकका क्रममा जिनपीङले ताइवानको विषय अमेरिका-चीन सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण मुद्दा रहेको बताएका थिए । उनले यो विषय सही ढंगले व्यवस्थापन गर्न नसके दुवै देशको सम्बन्ध अत्यन्त खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जिनपीङले ताइवान मुद्दा ठीकसँग सम्हालिए अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता कायम रहन सक्ने बताएका थिए ।

ताइवान लामो समयदेखि अमेरिका र चीनबीचको सबैभन्दा संवेदनशील विषयमध्ये एक रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सैन्य तथा राजनीतिक समर्थन गर्दै आएको छ । पछिल्ला वर्षहरूमा अमेरिकाले ताइवानलाई अर्बौं डलर बराबरका हतियार सहायता प्याकेज स्वीकृत गरेको छ, जसको चीनले निरन्तर विरोध गर्दै आएको छ ।

बेइजिङमा जारी शिखर वार्ताका क्रममा जीङपीङले व्यापार युद्धमा कसैको जित नहुने बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र चीनका व्यापारिक टोलीबीच हालै भएका वार्ताबाट सन्तुलित र सकारात्मक नतिजा निस्किएको बताएका थिए ।

उनले चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको आधार पारस्परिक लाभ र सहकार्य भएको उल्लेख गर्दै सकारात्मक वातावरण कायम राख्न दुवै देशले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

Read More