२०८३ जेष्ठ २

भारतको उत्तर प्रदेशमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशमा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ ।

राज्य विपद् व्यवस्थापन तथा राहत कार्यालयका अनुसार खराब मौसमका कारण ८९ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । साथै ११४ वटा चौपायाको मृत्यु भएको र ८७ वटा घरमा क्षति पुगेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा तीव्र हावाहुरीका कारण रुख र ठूला विज्ञापन बोर्ड ढलेका देखिएका छन् । केही रुख र बोर्ड सवारीसाधनमाथि खसेका छन् भने धुलो र भग्नावशेषका कारण सडक किनारका काठका पसलमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।

रिपोर्टका अनुसार धेरैको मृत्यु रुख ढल्दा र घरको पर्खाल भत्किँदा भएको राज्य राहत विभागका एक अधिकारीले बताएका छन् ।

उत्तर प्रदेशका राहत आयुक्तले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आँधी, वर्षा, असिनापानी र चट्याङका घटनाबाट प्रदेशभर ठूलो क्षति भएको उल्लेख गरिएको छ ।

वक्तव्यअनुसार मुख्यमन्त्रीले सबै मण्डल आयुक्त र जिल्ला अधिकारीलाई प्रभावित परिवारलाई २४ घण्टाभित्र राहत रकम वितरण गर्न निर्देशन दिएका छन् ।

Read More

विद्युत् नियमन आयोगको रिक्त पदाधिकारीको नियुक्ति प्रक्रिया अगाडी बढ्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् ।

समितिले विद्युत् नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ । यसका लागि १५ दिनको समय सीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ । 

यसअघि आयोगका अध्यक्ष र चार  सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।

विद्युत् नियमन आयोग ऐनअनुसार समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी दरखास्त दिने अन्तिम मिति समाप्त भएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

Read More

संसदमा प्रधानमन्त्रीको खोजी अनुहार हेर्न होइन, जवाफदेहिता खोजेको हो- खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्न नभई जवाफदेहिता खोजेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरे पनि आफूहरूले स्वीकार गरेको तर यस अधिवेशनमा नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन ।

उनले भनिन्- ‘नीति तथा कार्यक्रम उहाँकै कार्यक्रम हो । तर, अपनत्व नलिई कार्यक्रमकै बीचमा उठेर जानुभयो ।उहाँका केही बाध्यता होलान्,तर संसदमा उठेका विषयमा जवाफ दिनुपर्छ।’

सांसद ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी विषय उठाएको तर प्रधानमन्त्रीले संसदभन्दा सामाजिक सञ्जालमार्फत् जनतालाई जवाफ दिने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

Read More

रास्वपा सांसद गणेश पराजुलीले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदमा सम्बोधन गर्दा प्रयोग गरेका शब्द रेकर्डबाट हटाइएको छ ।

पराजुलीले बैशाख २९ गते बोल्ने भरौटेहरु र यहाँ लुगा लगाएर नांगै हिडे जस्तो गरि’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन सभामुख डिपी अर्यालले निर्देशन दिएका हुन् ।

यसअघि बुधबारको बैठकमा विपक्षी दलका सांसदहरुले पराजुलीले संसदमा बोलेका यी शब्द हटाउन माग गरेका थिए 

Read More

प्रधानमन्त्री संसदमा नआए काँग्रेसले विरोध जारी राख्ने

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा उपस्थित नभए विरोध जारी राख्ने भएको हो ।

विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको आरोप लगाउदै प्रधानमन्त्री संसदमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि जवाफ नदिए आफुहरुको विरोध जारी रहने बताएका हुन् ।

उनले लोकतन्त्रमा संसदको गरिमा कायम हुनुपर्ने भन्दै सभामुखले पनि यसका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

अर्कोतर्फ प्रधानमन्त्री बालेन्द्र शाह आज पनि प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने बताइएको छ । 

Read More

प्रचण्ड र बाबुरामविरुद्धको रिटमा आज आदेश आउने

काठमाडौं । तत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ। 

मुद्दाको सुनुवाइका लागि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि गत माघ २८ गते सोही इजलासमा निर्णय सुनाउन पेशी तोकिएको थियो। तर,निर्णय सुनाउने मिति आजका लागि सारिएको थियो ।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दायर गरेका थिए । रिटमा माओवादीका अध्यक्ष प्रचण्ड,पूर्वप्रधानमन्त्री भट्टराईसमेतलाई विपक्षी बनाइएको छ ।

तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्यायलगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनेर अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। दरपिठविरुद्ध दिइएको निवेदनमा सुनुवाइ गर्दै  न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ३ सयले बढेर  तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ५७४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७१० मा कारोबार भएको थियो । 

Read More

प्रधानमन्त्री बालेन आजपनि प्रतिनिधि सभामा नजाने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि प्रतिनिधिसभाको बैठकमा नजाने भएका छन् । आज ११ बजेदेखि शुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयले कार्यसूची संशोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने तालिका सार्बजनिक गरेको छ ।

बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डिपी अर्यालसँग रुलिङको माग गर्दै बैठकमा विरोध गरेका थिए ।

नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री नआएपछि विपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका कारण बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

Read More

महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ। व। २०८१/०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ ।

बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको नतिजा प्रस्तुतीकरण गर्ने क्रममा चालु आर्थिक वर्षमा प्रवाह गरिसकेको सेवाका विषयमा जानकारी गराएकी हुन् ।

अहिलेसम्मको सेवा प्रवाहका विषयमा जानकारी लिइसकेपछि कार्यवाहक प्रमुख डंगोलले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाको सन्तुलन कायम गर्न विभागलाई निर्देशन दिइन् ।

‘स्वस्थ्य समाज निर्माणका लागि सबै प्रकारका सेवालाई समान प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ । एउटा कार्यक्रम प्रभावकारी भएर अर्को कार्यक्रम कमजोर भयो भने यसले समग्र प्रणालीमा नकारात्मक असर गर्छ भन्ने कुरामा हेक्का राख्नुपर्छ ।’ उनको भनाइ थियो ।

स्वास्थ्य विभागले ९ करोड ५४ लाख रुपियाँ संघ सरकारको बजेटबाट ३० वटा, २ करोड १९ लाख रुपियाँ प्रदेश सरकारको बजेटबाट ३ वटा र ८६ करोड २६ लाख ४२ हजार रुपियाँ महानगरपालिकाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. भने, ‘महानगरपालिकाको कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ रुपियाँ स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।’

छलफलमा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले न्यूनतम सेवा मापदण्डका विषयमा प्रस्तुतीकरण गर्दै, ३ वटा क्षेत्र, २४ वटा उपक्षेत्र, ३०८ वटा सूचकमा प्रदान गरिएको ३७९ अङ्क भारमा नतिजा निकालिएको बताए । कार्यविधि अनुसार ८५ देखि १ सयसम्म अङ्क पाउनेलाई हरियो रंग संकेत गरिएको छ ।

वडा नं. ७, १२, १९, २७ का स्वास्थ्य प्रवर्धन केन्द्र र राम घाट प्राथमिक स्वास्थ्य केन्द्रले यो रङग संकेत प्राप्त गरेका छन् । ७० देखि ८४ सम्मको अङ्क पाउनेलाई निलो, ५० देखि ६९ अङ्क पाउनेलाई पहेँलो र ५० भन्दा कम अङ्क पाउनेलाई सेतो रंग संकेत प्रदान गरिएको छ ।

महानगरपालिकाका ७ वटा वडा निलो र २० वटा केन्द्रले पहेँलो रङग संकेत प्राप्त गरेका छन् । सेतो रंग प्राप्त गर्ने कुनै पनि केन्द्र छैनन् । यो मूल्याङ्कन २०८२ चैत महिनामा गरिएको हो ।

Read More

चिनी निर्यातमा भारतले लगायो प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट रोक लगाएको छ । यो प्रतिबन्ध कम्तिमा आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्म लागू रहनेछ ।

देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले यससम्बन्धी सूचना जारी गरेको हो । सूचनाअनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यातमा रोक लगाइएको छ । सरकारले चिनीलाई अब ‘निषेधित श्रेणी’मा राखेको छ ।

यद्यपि हाल कायम रहेको शुल्क दर कोटा तथा व्यवस्थाअनुसार युरोपेली सङ्घ र अमेरिकातर्फ हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ ।

भारतको यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा सेतो चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । साथै ब्राजिल र थाइल्यान्डजस्ता प्रतिस्पर्धी उत्पादक देशलाई एशिया र अफ्रिकाका खरिदकर्तातर्फ थप चिनी निर्यात गर्ने अवसर मिल्ने देखिएको छ ।

भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ता देश हो । यसअघि भारत सरकारले चिनी मिलहरूलाई १५ लाख ९० हजार टन चिनी निर्यातको अनुमति दिएको थियो । तर लगातार दोस्रो वर्ष पनि उत्पादन खपतभन्दा कम हुने अनुमान गरिएपछि सरकारले नयाँ निर्णय लिएको हो ।

मुख्य उखु उत्पादन क्षेत्रमा उत्पादन कमजोर भएको तथा एल निनो मौसम प्रणालीका कारण यस वर्षको मनसुन प्रभावित हुन सक्ने जोखिमले आगामी सिजनको उत्पादन प्रारम्भिक अनुमानभन्दा कम हुन सक्ने चिन्ता बढेको छ ।

निर्यातका लागि स्वीकृत १५ लाख ९० हजार टनमध्ये व्यापारीहरूले करिब आठ लाख टन चिनीको सम्झौता गरिसकेका थिए । तीमध्ये छ लाख टनभन्दा बढी चिनी निर्यात भइसकेको बताइएको छ ।

सरकारले भने केही अवस्थामा पहिले नै प्रक्रियामा रहेका निर्यातलाई अनुमति दिने जनाएको छ । सरकारी राजपत्रमा सूचना प्रकाशित हुनुअघि नै मालसामान जहाजमा चढाउन सुरु गरिएको भए, सिपिङ बिल दर्ता भइसकेको भए वा जहाज भारतीय बन्दरगाहमा पुगिसकेको भए निर्यात गर्न पाइनेछ । त्यस्तै सूचना जारी हुनुअघि नै चिनी भन्सार वा संरक्षक निकायलाई बुझाइसकिएको अवस्थामा पनि निर्यातलाई अनुमति दिइनेछ ।

प्रतिबन्ध घोषणा भएपछि न्युयोर्कमा कच्चा चिनीको वायदा मूल्य दुई प्रतिशतभन्दा बढीले बढेको छ भने लन्डनमा सेतो चिनीको वायदा मूल्य तीन प्रतिशतले उकालो लागेको छ ।

Read More