२०८३ बैशाख १३

नेपालमा जापानिज पर्यटक, वर्तमान अवस्था र कोरोना काल पछिको तयारी !

विष्णु खनाल
पीएचडी
टोकियो मेट्रोपोलिटन युनिभर्सिटी, जापान

तीन वर्ष लामो कोरोनाको विकराल महामारी पछि विश्व पर्यटन बजार सिथिल अवस्था बाट केही मात्रामा पुनर्स्थापना हुँदै छ।कोरोना खोप को प्रमाणपत्रको आधारमा धेरै देशहरूले पर्यटक लाई आफ्नो देशमा प्रवेश दिन सुरु गरिसकेका छन् भने सार्वजनिक स्थलमा मास्कको प्रयोग लाई पनि कम गर्दै लागिएको छ।

विगत तीन वर्षमा हवाई उद्योग, होटल उद्धोग, रेस्टुरेन्ट उद्धोग र पर्यटन सँग सिधै समन्ध हुने धेरै उद्योगहरू विश्व व्यापी रूप मै आर्थिक मार मा पर्न गए। नेपालको पर्यटन उद्योग र यस सँग सम्बन्धित उद्योग पनि यो महामारी बाट अछूतो रहने कुरै रहेन। नेपालमा पनि भ्रमण वर्ष २०२० रोकिन गयो, र भ्रमण वर्ष लाई आधार बनाएर गरिएको सरकारी लगानी, निजी क्षेत्र बाट होटल उद्योग मा गरिएको लगानी तथा पर्यटन का अन्य क्षेत्रमा गरिएको लगानी संकटमा पर्न गयो।

साना तथा मझौला उद्योग हरू जो पर्यटन सँग सीधा जोडिएका थिए, धेरै त बन्द हुन पुगे पदयात्रा र हिमाल आरोहण बन्द हुँदा धेरैको रोजगारी नै गुम्न पुग्यो भने लगानी कर्ता हरुपनि अन्य क्षेत्रमा पलायन हुन पुगे।

महामारीको असर वर्तमानको पर्यटनको जनशक्तिमा मात्र नभएर भविष्यको लागि तयार हुँदै गरेको जनशक्तिमा पनि पर्न गयो। पर्यटन सम्बन्धित विषयमा तालिम लिने मान्छेहरू घटे भने विश्वविद्यलय मा पर्यटन सँग समन्धित विषय हरू अध्ययन गर्ने विद्यार्थीहरू पनि घटन पुगे। जसको सीधा असर अव पुनस्थापित हुँदै गरेको पर्यटन बजारमा पर्ने देखिन्छ।

जापानमा  हामी नेपालीहरुको संख्या एक लाखको हाराहारीमा पुगिसकेको छ। अझ जापानमै व्यवसाय गरेर बस्ने नेपाली हरुको संख्या उल्लेख्य छ। यस लेख मार्फत नेपालमा जापानिज पर्यटक को अवस्था र भविष्यमा नेपाल मा जापानिज पर्यटक को संख्या बढाउन के गर्न सकिन्छ भन्ने विषय मा चर्चा गरिएको छ।

जापानिज पर्यटक को नेपालमा आगमनको सुरुवात

विशेषतः सन् १८८८ तिर बौद्ध धर्म अध्ययनका लागि तिब्बत जाने क्रममा जापानबाट नेपाल आएका भिक्षु इकाइ कावागुची नेपाल भ्रमणमा आउने पहिलो र उच्च तहका व्यक्तित्व मानिन्छन् । यद्यपि सन् १९५६ मा मात्र नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जसको लगत्तै १९६८ मा टोकियोमा नेपालको राजदूतावास स्थापना गरिएको थियो । त्यसपछि मात्रै सामान्य जापानी नागरिक पनि पर्यटनका लागि नेपाल आउन सुरु गरेको मानिन्छ ।

केही वर्ष यता जापानको पर्यटन बजार नेपाल पर्यटन बोर्डको खासै प्राथमिकतामा पर्दैन । १९९७ मा ४० हजारको हाराहारीमा जापानी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए भने त्यसयता नेपालमा जापानी पर्यटकहरूको संख्या २५-३० हजारभन्दा माथि जान सकेको छैन ।

नेपाल पर्यटन बोर्डले जापानमा पर्यटन प्रवर्द्धनको लागि वर्षमा एकपटक जापानमा हुने पर्यटन मेलामा सहभागिता जनाउने कार्य बाहेक प्रवर्द्धनका अन्य कार्यहरू नगन्य नै छन् । कतिसम्म भने जापानमा पर्यटन प्रर्वद्धनका लागि निर्माण गरिएका लगभग सबै सामग्रीहरू जापानी भाषामा नभएर युरोप र अमेरिकाका लागि तयार गरिएका अंग्र्रेजी भाषाका सामग्री छन् । यसबाट पनि जापानी पर्यटक नेपालको प्राथमिकतामा नरहेको प्रस्ट हुन्छ ।

वर्तमान स्थिति

नेपाल र जापानको कूटनीतिक सम्बन्धको ६० वर्ष पूरा भइसकेको छ, तर पनि नेपाल भ्रमण गर्न आउने जापानी पर्यटकको संख्या आशातीत रूपमा बढ्न सकेको छैन । नेपालमा अहिले पनि २५-३० हजारको संख्यामा मात्र जापानी पर्यटकहरू आउने गर्दछन्, जब कि प्रत्येक वर्ष १ करोड ७०-८० लाख को हाराहारीको संख्यामा जापानीहरू विदेश घुम्न जाने गर्दछन् ।

यहाँ २०११ सालदेखि २०२१ सालसम्मको जापानी पर्यटकको नेपाल तथा संसारका विभिन्न देशमा गरेको भ्रमणको तथ्याङ्क प्रस्तुत गरिएको छ । हालका वर्षहरूमा जापान भित्रिने विदेशी पर्यटकहरूको संख्या बढेसँगै, जापानबाट विदेश घुम्न जाने जापानी पर्यटकको संख्या पनि बढ्दै गइरहेको छ । तर विडम्बना नेपाल घुम्न जाने जापानी पर्यटकको संख्यामा भने उल्लेख्य वृद्धि हुन सकिरहेको छैन ।

वर्षजापान बाट विदेश भ्रमण मा जाने पर्यटकजापान बाट नेपाल भ्रमण मा जाने पर्यटकनेपाल जाने पर्यटक को (वर्तमान). (संभावना)
201116,994,20026,2830.154684,971
201218,490,65728,6420.154992,453
201317,472,74826,6940.152787,364
201416,903,38825,8290.152884,517
201516,213,76317,6130.108681,069
201617,116,42022,9790.134285,582
201717,889,29227,3260.152789,446
201818,954,03129,8170.157394,770
201920,080,66930,5340.1520100,403
2020317429155990.1764कोरोना को कारण अन्तराष्ट्रिय बजार  प्रवद्र्धन का कार्यहरू ठप्प।
20215122447840.1530
2022379200तथ्याङ्क प्राप्त नभएको

Source: Ministry of Justic “Statistics on Immigration” Japan & Nepal Tourism Board

अहिले जापानबाट विदेश घुम्न जाने पर्यटक संख्याको ०.१५% मात्र नेपाल घुम्न जाने गरेको प्राप्त तथ्याङ्कले देखाउँछ । जापानमा राम्रोसँग नेपालको पर्यटन प्रवर्द्धन गरेर यसलाई ०.५% मात्र बनाउन सक्ने हो भने पनि वर्षेनी ८०-८५ हजारको संख्यामा जापानी पर्यटकहरू नेपालमा भित्र्याउन सकिने सम्भावना छ ।

के गर्न सकिन्छ ?

जापानमा अहिले एक लाख हाराहारीमा नेपालीहरू अध्ययन तथा अन्य विभिन्न पेसामा संलग्न छन् । जसले गर्दा अहिले जापानीहरूको बीचमा पनि नेपाल र नेपालीहरूको बारेमा चासो बढ्दै गइरहेको छ ।

जापानमा नेपालीहरू विभिन्न व्यवसायमा संलग्न छन्, जसमा रेस्टुरेन्ट व्यवसाय प्रमुख छ । अहिले जापानमा २००० देखि २ हजार ५०० सानाठूला रेष्टुरेन्टहरू नेपालीद्वारा सञ्चालित रहेको अनुमान गर्न सकिन्छ । यसरी संचालित रेष्टुरेन्टहरू प्रत्यक्ष रूपमा जापानीहरूसँग जोडिएका छन्, किनभने सबै रेस्टुरेन्टका प्रमुख ग्राहक उनीहरू नै हुन् । यसरी संचालित रेस्टुरेन्टहरूलाई नेपालको पर्यटन प्रवर्द्धनमा प्रयोग गर्न सकियो भने नेपालमा जापानी पर्यटकको आवागमनमा वृद्धि गर्न सकिन्छ । जसको लागि एनआरएन जापान लगायत जापानमा खुलेका अन्य नेपाली समाजहरूले राम्रो भूमिका निर्वाह गर्न सक्छन् । केवल आवश्यकता छ- दृढ इच्छाशक्ति र देशको लागि केही गरौं भन्ने भावना ।

जापानी पर्यटक वृद्धिको लागि सबैभन्दा पहिला उनीहरूको व्यवहार र रुचिको बारेमा विश्लेषण गर्नु जरुरी हुन्छ । यहाँ जापानी पर्यटकहरूले विदेश भ्रमण गर्नुभन्दा पहिले विशेष ध्यान दिने कुराहरूको बारेमा चर्चा गरिएको छः

सूचनाको पहुँचः जापानीहरू कुनै पनि ठाउँमा जानुभन्दा पहिले त्यो ठाउँको बारेमा गाइड बुक तथा इन्टरनेटबाट जानकारी लिने गर्दछन् । अरूले त्यो ठाउँको बारेमा के अनुभव गरेको छ त्यस्ता कमेन्टहरू उनीहरूले खोजी खोजी हेर्ने गर्दछन् । त्यसैले नेपालको बारेमा जतिसक्यो धेरै जानकारीहरू जापानी भाषामै आधिकारिक वेबसाइटहरूमा राख्नु राम्रो हुन्छ । जसले गर्दा उनीहरूले खोजेको जानकारी विश्वासिलो स्रोतबाट पाउन सकून् । जसले उनीहरूको गन्तव्य छनोटमा सहयोग पुगोस् ।

सुरक्षा चासोः जापानीहरू भ्रमणको लागि गन्तव्य छनोट गर्दा त्यो ठाउँमा आˆनो सुरक्षाका बारेमा निकै नै चनाखो हुने गर्दछन् । त्यसैले नेपाल उनीहरूको लागि सुरक्षित गन्तव्य स्थल हो भनेर जानकारी गराउनु उचित कदम हुने छ ।

स्थानीय खानाः जापानीहरू कुनै पनि ठाउँमा भ्रमणमा जाँदा त्यो ठाउँको स्थानीय खानामा निकै नै रुचि राख्दछन् । जसले गर्दा जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्दा पर्यटकीय स्थानको साथसाथै नेपालको खानाहरूको बारेमा पनि राम्रो जानकारी दिन सकियो भने यसले पनि नेपाललाई गन्तव्यको रूपमा छनोट गर्न उनीहरूलाई सजिलो हुनेछ ।

स्थानीय भाषामा पर्यटन प्रवर्द्धन सामग्रीः जापानमा गरिने पर्यटन प्रवर्द्धन सामग्रीमा नेपाल पर्यटन बोर्डले अंग्र्रेजी भाषाको मात्र प्रयोग गर्ने गरेको छ । जसले गर्दा जापानीहरूले आफूले चाहेको सूचना पाउन सकेका छैनन् किनभने अंग्र्रेजी बुझ्ने जापानीहरूको संख्या निकै कम छ । त्यसैले जापानी पर्यटकको संख्या बढाउने हो भने नेपालको पर्यटन प्रवर्द्धन सामग्री जापानी भाषामै उल्लेख हुनु जरुरी छ ।

सीधा हवाई सम्पर्कः

जापानमा भएका अनुसन्धानहरूलाई मान्ने हो भने जापानी पर्यटकहरू विदेश भ्रमणमा जाँदा सीधा हवाई उडान मन पराउँछन् ।कोरोना अवधि लाई छाड्ने हो भने नेपाल वायुसेवा निगम ले अहिले जापानको नारिता बाट हप्ताको ३ वटा उडान हरु गरिरहेको छ।विशेष गरी नेपाल लाई मायागर्ने जापानिज नागरिक को उल्लेख्य संख्या रहेको अर्को सहर ओसाका पनि हो। निकट भविष्यमा नरिता लगायत ओसाका विमानस्थल बाट पनि नेपालमा सिधा हवाई उडान हुन सक्यो भने नेपाल जाने जापानिज पर्यटक को संख्या उल्लेख्य बढ्ने देखिन्छ।

आफ्नो देशमा गर्न नसकिने नयाँ अनुभवःजापानी पर्यटकहरू जहिले पनि नयाँ ठाउँमा नयाँ अनुभव प्राप्त गर्न चाहन्छन् । त्यसैले नेपालमा जापानी पर्यटकलाई आकषिर्त गर्ने हो भने उनीहरूको रुचि विश्लेषण गरेर त्यसै अनुसारको प्रवर्द्धन कार्यक्रम गर्नु उपयुक्त हुन्छ ।

अतिथि देवो भवः जापान अतिथि सत्कार (ओमोतेनासि) को लागि संसारमै प्रसिद्ध छ । जापानमा पर्यटकलाई प्रदान गरिने सेवा सुविधा निकै नै राम्रो हुने गर्दछ भने उनीहरूले विदेश घुम्न जाँदा पनि त्यस्तै अतिथि सत्कारको अपेक्षा गरेका हुन्छन् ।

सामाजिक सञ्जालको प्रयोगः जापानी पर्यटकहरू आफूलाई मन नपरेका कुराहरू सिधै भन्दैनन् । उनीहरू आफूलाई मन नपरेको कुरा इन्टरनेटको माध्यमबाट वेबसाइट, ब्लग र सामाजिक सञ्जालहरूमा कमेन्टको रूपमा राख्ने गर्दछन् । जुन कमेन्टहरूले जापानी पर्यटकको गन्तव्य छनोटमा असर गर्दछ किनभने उनीहरू गन्तव्य छनोट गर्नुअघि उक्त ठाउँको बारेमा राम्रोसँग जानकारी लिनुका साथै त्यो ठाउँ घुमेका जापानीहरूले इन्टरनेटमा त्यो ठाउँको बारेमा कस्तो अनुभव लेखेका छन् भनेर खोज्ने गर्दछन् ।

हिमालमा आधारित योग पर्यटन: विशेष गरी गएको केही वर्षमा जापानमा योग को चेतना फस्टाउँदो छ। जापानका विभिन्न सहर हरुमा योग केन्द्र हरु खोल्ने क्रम पनि दिन प्रतिदिन बढिरहेको छ।कोरोना को कारण अहिले मानिसहरू तनावमा छन्, जसको कारण पर्यटन सुचारु हुनासाथ सबै भन्दा बुम गर्ने क्षेत्र भनेको योगमा आधारित स्वास्थ्य पर्यटन हुन सक्दछ। यो बारेमा पनि अध्ययन गरी जापानिज हरुको रुचि अनुसारको नयाँ प्रोडक्ट को रूपमा योग पर्यटनको पनि विकास गर्न सकियो भने नेपाल ले प्रचुर फाइदा लिन सक्ने छ।

अन्तमा …

नेपाल बुद्धको जन्मभूमि तथा हिमालयको देश मात्र नभएर यहाँ अन्य धार्मिक पर्यटन, ग्रामीण पर्यटन, साहसिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, अध्ययन अनुसन्धानको लागि पर्यटन, बिजनेस पर्यटन -जसमा सभा सम्मेलन, व्यापारिक मेला, अन्तर्राष्ट्रिय गोष्ठीहरू) लगायत अन्य प्रकारका पर्यटनको पनि प्रचार प्रसार गर्न सकियो भने पर्यटकहरूलाई आˆनो रुचि अनुसारको गन्तव्य र प्याकेज छनोट गर्न सजिलो हुनेछ ।

कुनै पनि देशमा पर्यटन प्रवर्द्धन गर्दा त्यो देशबाट आउने पर्यटकको रुचि विश्लेषण गरी पर्यटन प्रवर्द्धन रणनीति बनाउनु उपयुक्त हुन्छ । जसका लागि नेपाल पर्यटन बोर्डले बजार अनुसन्धानमा ध्यान दिँदा राम्रो हुन्छ । लुम्बिनी र सगरमाथाको मात्रै फोटो प्रर्दशनी गरेर यसले गुणस्तरीय पर्यटक बढाउन मद्दत गर्नेछैन ।

अहिले नेपालको आन्तरिक तथा बाह्य पर्यटन ठप्प प्राय छ, जसको कारण ले पर्यटन उद्योग मा आश्रित जनशक्ति बेरोजगार हुन पुगेका छन् भने साना पर्यटन उद्धमी हरु पर्यटन उद्धोग बाट नै पलाएन हुने अवस्था छ।त्यसैले सबैभन्दा पहिला सरकार वा पर्यटन मन्त्रालय ले यो समस्या मा चासो दिनुजारुरी छ।