२०८३ बैशाख १३

एआईको अति प्रयोगले तपाईँको दिमाग बोधो हुँदै छ कि ?

एक्काइसौँ शताब्दीको एउटा बौद्धिक कर्मचारीको सामान्य दिनचर्यालाई हेरौँ । कार्यालय पुग्ने बित्तिकै इमेलको चाङ देखिन्छ । हामी त्यसलाई छोटकरीमा बुझ्न एआईको सहायता लिन्छौँ र जवाफ लेख्न पनि उसैलाई लगाउँछौँ । कुनै रिपोर्ट तयार पार्नुपर्‍यो भने खाली पाना देख्दा हुने तनावबाट मुक्त हुन एआईलाई नै ड्राफ्ट तयार पार्न भन्छौँ । र उसले तयार पारेको कुरामा चित्त बुझाउँछौँ । 

हिजोआज ‘राइटर्स ब्लक’ भनेको खाली पानालाई एकोहोरिएर हेर्नु मात्र नभई एआईले भरिदिएको पानालाई हेरेर ‘के म यसमा सहमत छु ?’ भनेर सोच्नु मात्र भएको छ । हामी बिस्तारै एउटा रोबोटको विचारलाई सदर गर्ने ‘प्रमाणक’ मात्र बनिरहेका छौँ । हामी आफ्नै काममा एउटा यस्तो ‘पर्यटक’ जस्ता भएका छौँ जहाँ विचारहरू हाम्रा आफ्नै हुँदैनन् ।

हाम्रो काम र हामीबीचको सम्बन्धमा एआई एउटा अनिवार्य मध्यस्थकर्ता बनेको छ जसले हामीलाई हाम्रै मौलिक सिर्जनाबाट टाढा पुर्‍याउँदैछ ।

यो अवस्था सुन्दा सहज लागे पनि यसले मानव सोचमा यसले गम्भीर असर पुर्‍याइरहेको विभिन्न अध्ययनले देखाएका छन् । सिर्जनात्मकताकै कुरा गर्ने हो भने, व्यक्तिगत रूपमा एआईले नयाँ विचार दिए जस्तो लागे पनि सामूहिक स्तरमा यसले विचारको विविधतालाई घटाउँदै लगेको छ ।सबै कर्मचारीले एआई चलाउँदा एउटै खालका सीमित विचार मात्र निस्कने खतरा बढेको छ । त्यस्तै एआईको प्रयोगसँगै मानिसको आलोचनात्मक चेत र स्मरणशक्तिमा ह्रास आउन थालेको विभिन्न अध्ययनले देखाएका छन् । 

हामीले एआईलाई केही कुरा लेख्न लगायौं भने हामीले के लेख्यौँ भन्ने कुरा हामी आफैँलाई याद हुँदैन । समरी पढ्दा त्यति कुरा बुझिंदैन जति पुरै डकुमेन्ट पढ्दा बुझिन्छ । संक्षेपमा भन्नुपर्दा हामी आफ्नै विचारका लागि ‘मिडल म्यानेजर’ जस्ता भएका छौँ । 

साना-तिना काममा पनि आफ्नै दिमाग खर्च नगर्दा हाम्रा मस्तिष्कका ‘मांसपेशी’ कमजोर हुँदै जान्छन् । यसले गर्दा भविष्यमा आइपर्ने जटिल समस्या समाधान गर्न हामी असमर्थ हुन सक्छौँ । यो त व्यायामको सट्टा औषधी पत्ता लगाएर पछि ‘मलाई किन सास फेर्न गाह्रो भयो ?’ भनेर अचम्म मान्नु जस्तै हो ।तर परिस्थिति यस्तै मात्र रहनुपर्छ भन्ने छैन । एआई केवल हाम्रो काम गरिदिने सहायक मात्र होइन, हाम्रो सोचाइलाई तिखार्ने औजार बन्नुपर्छ । यसले हामीलाई आज्ञाकारी दासले जस्तो सहयोग गर्ने मात्र नभई हाम्रा विचारलाई चुनौती दिनुपर्छ । काम छिटो फत्ते गर्नु मात्र ठुलो कुरा होइन, कामलाई अझ राम्ररी बुझ्नु र सही प्रश्न सोध्न सक्नु असल सोचको पहिचान हो । माइक्रोसफ्ट रिसर्चमा मेरो टिमले यस्तै एउटा प्रोटोटाइप विकास गरेको छ, जसले मानिसलाई एआईको भर पर्नुको साटो आफैँ सोच्न प्रेरित गर्छ ।

उदाहरणका लागि क्लारा नामकी एक कर्मचारीले बजारको एउटा नयाँ रिपोर्ट अध्ययन गरेर प्रस्ताव तयार पार्नुपर्नेछ । उनले एआईलाई ‘मलाई यो रिपोर्ट लेखिदेऊ’ भनेर जिम्मा दिनुको साटो त्यसलाई विभिन्न ‘लेन्स’बाट आफैँ अध्ययन गर्छिन् । उनी आफैँ पढ्छिन्, नोट बनाउँछिन् र त्यही क्रममा एआईले उनलाई विभिन्न प्रश्न सोधेर वा नयाँ तर्कहरू दिएर घच्घच्याउँछ ।

यसलाई हामी ‘प्रोभोकेसन’ भन्छौँ । यहाँ एआईले क्लाराको ठाउँमा काम गरिदिँदैन, बरु उनको निर्णय क्षमता र विशेषज्ञतालाई अझ प्रखर बनाउन मद्दत गर्छ । यो प्रक्रियामा क्लाराको आफ्नै मेहनत जोडिएको हुन्छ, त्यसैले अन्तिम ड्राफ्टमा उनकै मौलिक सिर्जना हुन्छ । यसमा कुनै ‘च्याट बक्स’ हुँदैन, यो केवल मानिसको आफ्नै विवेकलाई सक्रिय राख्ने एउटा माध्यम मात्र हो ।यस्ता टुलले एआईको गति र लचकतालाई प्रयोग गरेर मानिसको सोच्ने क्षमतालाई जोगाउने र अझ बढाउने काम गर्छन् । यसका केही सरल सिद्धान्त छन्, टुलले मानिसलाई काममा प्रत्यक्ष संलग्न गराउनुपर्छ, सोच्नका लागि केही चुनौतीपूर्ण अवरोध खडा गर्नुपर्छ र आफ्नो सोचाइको प्रक्रियालाई आफैँले नियाल्न सघाउनुपर्छ । 

हाम्रो उद्देश्य केवल काम गर्ने क्षमता बढाउनु मात्र नभई अझ उत्कृष्ट सोचको विकास गर्नु हो ।

अन्तमा हामीले एउटा के कुरा मनन गर्नैपर्छ भने यदि मसिनले हाम्रा लागि सोच्ने, बोल्ने वा महसुस गरिदिने हो भने हाम्रो मानवीय अस्तित्वको के महत्त्व रहला र ? राम्ररी सोच्न सक्ने क्षमता नै मानव स्वतन्त्रता र प्रगतिको आधार हो । हिजोका दिनमा पुस्तक वा इन्टरनेटले हाम्रो स्मरणशक्तिको ठाउँ लिन्छ कि भन्ने डर थियो । आज मसिनले नै हाम्रो सोचाइको ठाउँ लिन्छ कि भन्ने डर छ । त्यसैले प्रविधिको विकास गर्दा हामीले यस्ता मूल्यलाई ध्यान दिनुपर्छ जसले मानिसलाई विस्थापित गर्ने नभई अझ सशक्त बनाओस् । (माइक्रोसफ्टका अनुसन्धानकर्ता रहेका अद्वैत सरकार क्याम्ब्रिज विश्वविद्यालयका एफिलियट प्रोफेसर हुन् । अद्वैत सरकारले टीईडी टक्समा दिएको प्रेजेन्टेसनबाट भावानुवाद गरिएको अंश ।)