काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित नतिजा व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।
पार्टीको कमजोर प्रदर्शन र आफ्नै हारलाई नैतिक रूपमा स्वीकार गर्दै उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
कांग्रेसले ‘अबकि बार, सय पार’ भन्ने महत्वाकांक्षी नारा अघि सारे पनि प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित हुनुपरेको छ। यससँगै, सर्लाही–४ बाट उम्मेदवार बनेका थापा पनि ठूलो मतान्तरले पराजित भएका छन्। उनका प्रतिस्पर्धी रास्वपाका अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै जित हासिल गर्दा थापाले २२ हजार ८३१ मत मात्र ल्याउन सके।
पार्टी र व्यक्तिगत दुवै तहमा आएको हारको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन्। उनको राजीनामाबारे निर्णय भने चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ।
यसअघि पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा १३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। तर, सो कार्यसमितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन अवस्थामा रहेको छ।




