२०८३ बैशाख १३

जबरजस्ती करणी गरेको अभियोगमा बाँके र झापाबाट पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले बाँके र झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

बाँकेमा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-५ रझेना बस्ने २१ वर्षीय आशिष थारू, सोही नगरपालिका-६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

त्यस्तै झापामा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा बिर्तामोड नगरपालिका-८ बस्ने २८ वर्षीय प्रविण सुन्दासलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रविणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।