काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले प्रदेशसभा सदस्यहरूलाई संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्।
बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित संसदीय दलको कार्यालयमा आयोजित बैठकमा उनले आगामी अधिवेशनहरूमा जनताको सरोकारका विषयहरू मजबुत रूपमा उठाउन आग्रह गरे।
मुख्यमन्त्री आचार्यले प्रदेशसभालाई जनजीविकासँग प्रत्यक्ष जोडिएका मुद्दाहरूको मञ्च बनाउनुपर्नेमा जोड दिँदै विकासका प्राथमिकता र नीतिगत विषयहरूलाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने बताए।
उनले योजना छनोटदेखि कार्यान्वयनसम्म जनप्रतिनिधिहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रभावकारी अनुगमन र मूल्यांकनमा विशेष ध्यान दिन निर्देशन दिए। साथै, पार्टी संगठनलाई थप सुदृढ बनाउन पनि उनले जोड दिएका थिए।
विगतका अधिवेशनबाट सिकाइ लिँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
बैठकले संसदीय बोर्डका यसअघिका निर्णयहरू अनुमोदन गर्नुका साथै बोर्डको आमन्त्रित सदस्यमा बसन्ती न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा सदस्य राजमजीप्रसाद घिमिरे, इन्द्रा गहतराज लगायतले आफ्ना धारणा राखेका थिए। बैठकको सञ्चालन प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले गरेका थिए।




